नेपालमा विकास निर्माणको काममा ठेक्का दिने प्रबृत्ति हाबी छ । सरकारले टेण्डरको आव्हान गरेर निर्माण कम्पनीहरुको बीचमा मुल्यमा घटिघटाउका आधारमा विकास निर्माणको काम जिम्मा लगाउने गरेको छ । देशका उपल्लो तहदेखी तल्लो तहसम्मका निकायले कुनैपनि विकास निर्माणको काम गर्दा टेण्डर गरेर मात्र गर्ने प्रावधान छ । सानो आकारमा हुने बजेटमा स्थानिय उपभोक्ता समितीले डोरहाजिरीको आधारमा काम गर्ने प्रावधान रहेको भएपनि ठुलो परिणामको बजेटमा भने सार्वजनिक रुपमा नै टेण्डर आव्हान गरेर निर्माण कम्पनी तथा बितरण कम्पनीहरुको प्रतिष्पर्धा गराई महत्वपुर्ण जिम्मेबारी दिने गरिएको छ । घटिघटाउ पद्धतिमा दिईने यस्तो खालको व्यवस्थाले निर्माण कम्पनीहरुले काम त सस्तो मुल्यमा गर्न सक्लान् तर त्यसको गुणस्तरमा भने उनीहरुले चलखेल गर्ने कुरामा कुनै शंका छैन् ।
केही समय अगाडि मात्रै जिल्लामा एउटा घटना सार्वजनिक भयो । जिल्लाको सदरमुकामलाई दक्षिण केन्द्र कुश्मीशेरासँग जोड्ने सडक कालोपत्रे गरेको तीन महिना नबित्दै त्यो कालोपत्रे उप्केर सडक पुरानै अवस्थामा फर्कीएको । यो घटना सञ्चारमाध्याममा आएपछि निर्माण कम्पनीले पुनः निर्माण गर्ने भनेर जानकारी त गरायो तर त्यो काम भने अहिलेसम्म पनि सुरु भएको छैन् । घटिघटाउ प्रणालीबाट नै यो कामको जिम्मेबारी पाएको कम्पनीले सस्तो र गुणस्तरको मापन नै नगरिकन बनाएका कारण कालोपत्रे उप्केको कुरा आमसर्बसाधारणमा पनि सर्वबिधित कुरा हो । घटना सेलाएको केही महिना मात्रै भएको छ यता जिल्लाको सदरमुकाम कै एक सडक निर्माण मापदण्ड अनुसार नभएको भनेर बागलुङ नगरपालिकाले पुनःनिर्माण गर्न निर्देशन दिएको छ । नगरपालिकाका अनुसार, मापदण्ड पु¥याएर त्यो सडक कालोपत्रे बनाउन भनिएको छ । बागलुङ नगरपालिका–२ श्रीनगर टोलदेखि बानपा–४ एटिएम चोकसम्मको सडक कालोपत्रे गर्दा ठेकेदार कम्पनीले मापदण्ड विपरित निर्माण गरेको भेटिएको नगरपालिकाले जनाएको छ । टुदी कन्ट्रक्सनले निर्माणको जिम्मा पाएको उक्त सडकको नगरका प्रमुखले अनुगमन गर्दा प्रबिधिक टोलीले दिएको नक्सा र मापदण्ड अनुसारको काम नभएको भेटेपछि निर्देशन त दिए तर पुनः बनाउने वा नबनाउने भन्ने कुराको भने कम्पनीले निधो देला ।
यि जिल्लाका प्रतिनिधि घटना मात्रै हुन् । जिल्लामा भएका हरेक टेण्डर प्रक्रियाका कामहरुले आम सर्वसाधारणलाई सन्तुष्ट पार्न नसकेको कुरा सर्बबिधितै छ । यस्ता खालका कामहरुले सर्वसाधारणको विश्वास मात्रै गुमाएका छैनन् देशको ढुकुडीमा दोहन गर्दै चरम दुरुपयोग समेत भएको छ । टेण्डरका बेला हुने कमिसनका खेल र सस्तोमा पाएको टेण्डरको काममा प्रयोग हुने कमसल गुणस्तरका सामान तथा कमसल मापदण्डको कामका कारण आज देशको बिकासको गतिमा अवरोध गरिरहेको छ । सस्तो बेसाहाले पेट पोल्छ भन्ने नेपाली उखान जस्तै घटिघटाउ प्रक्रियामा दिईने कामको जिम्मेबारीका कारण विकास निर्माणका काम मापदण्ड पु¥याएर नहुने गरेका छन् । सहि तरिकाबाट मापदण्ड पु¥याएर विकास गर्नको लागि अब यो प्रणालीको खारेज गर्न आवस्यक छ । टेण्डर प्रक्रियामा मिश्रित प्रणाली अपनाउँदै निर्माण कम्पनीको कार्यदक्षता र उसले प्रयोग गर्ने स्रोत साधन र बस्तुृहरुको गुणस्तरको समेत मुल्याङ्न गरी कामको जिम्मेबारी दिने ब्यबस्था गर्नु अहिलेको आवस्यकता हो ।