हरिकृष्ण गौतम
म्याग्दी, २८ साउन – म्याग्दी झिँ–८ की धनमायाँ विक दृष्टिविहिन विद्यार्थी हुन् । दुईबर्षको उमेरमै आमा गुमाएकी विकले बाल्यकालमा धेरै समस्या झेल्नुप¥यो । जन्मदिने आमा गुमाएपछि बुवाले दोस्रो विवाह, अर्की आमाको ब्यवहार र परिवारका अन्य सदस्यको साहरामा कष्टकर जिवन विताएकी विकले पिप्ले गाविसमा अवस्थित ज्ञानोदय माविबाट एसएलसी दिएपनि परिवारको असहयोगले उच्च शिक्षाका लागि बावियाचौर स्थित प्रेम किसानको घरमा बसेर मंगला शिक्षा क्याम्पसमा अध्ययरत छिन् ।
घरबाट निकाला गरेपछि विकको विचल्ली भएको छ । जन्मदिने बुवा र कान्छी आमाले मानसिक तनाव दिएपछि बाध्य भएर मामा घरमा पुगेकी विकले साङ्ग विद्यार्थीसंगै बसेर आफ्नो भविष्य बनाउने प्रयास गरिरहेकी छन् । ‘परिवारले असहयोग गरेपनि अर्काको घरमा बसेकी छन् । उनलाई सहयोगी हातको आवश्यकता छ’मंगला शिक्षा क्याम्पसका प्राचार्य गम बहादु्र खत्रीले भने ।
पढाईमा अब्वल रहेकी विकलाई सहज वातावरण नहुदाँ पठनपाठनमा समेत समस्या भइरहेको छ । ‘बे्रललिपीको सहयोगमा पढ्नुपर्ने भएपनि आर्थिक अभावमा कितावै लगेर जानुपर्छ । धेरै समस्या छ तर पनि प्रयास गरिरहेको छु’ विकले भनिन् । उनले बे्रललिपीमा लिपिबद्ध भएका पुस्तकहरू, ब्रेल पेन सहित पाठ्यक्रम सहयोग गर्न समेत अनुरोध गरिन् ।
आँखा नजिक लगेर पढ्नुपर्छ, अस्पष्ट हुदाँ विद्यार्थीले अपक्षा गरेअनुसारको नतिजा ल्याउन सकेका छैनन्’ विकले भनिन् । ‘परिवार र आँखाले साथ दिएन । मेरो जस्तो दुख कसैको छैन होला’ उनले भनिन् । केही समय मामाको घरमा बसेपनि उनलाई त्यहाँ समेत असहयोग भएपछि अलपत्र परेकी थिईन् ।
विकलाई झिँ गाविसले दलित र अपाङ भत्ता दिएपनि विकका बुवा डम्बर बहादुर विकले आफै राख्ने गरेको गाविस सचिव तेजकुमारी थापाको भनाई छ । ‘गाविसले दिएको पैसा समेत परिवारले लुकाउन थालेपछि मैले अहिले उनकै हातमा हालिदिएको छु । परिवारबाट पुर्ण असहयोग छ’ उनले भनिन् ।
विकलाई सहयोग जुटाउन अपाङ संघ म्याग्दीले समेत पहल गरेको छ । संघका सचिव सुरेन्द्र केसीले संघमार्फत ५ हजार सहयोग गरिएपनि अझै सहयोगको आवश्यकता रहेको बताए । ‘घर निकाला गरिएपछि विचल्लीमा परेकी छन् । सानो–सानो सहयोगले उनको जीवनमा परिवर्तन आउनेछ’ उनले भने । परिवार र आफन्तले असहयोग गरेपछि विक विचल्लीमा परेकी छन् ।
Previous Articleब्राजिल ओलम्पिक फुटबलको क्वाटरफाइनलमा
Next Article बाढी पहिरोले १ सय ४० हेक्टर खेत बगायो