बिनिता बराल
सानैदेखि कथा पढ्न मन पर्थ्यो । बहिनीहरुलाई कथा सुनाउनु मेरो सबैभन्दा प्रिय काम थियो । कहिलेकाहीँ सिनेमासम्बन्धी लेख लेखेको थिएँ । कहिलेकाहीँ गीत पनि लेख्छु । तर आख्यान लेखेको थिइनँ । पढ्नेसँगै स्कुल छँदैदेखि डायरी लेख्ने बानी बस्यो । यही डायरी लेख्ने बानीले उपन्यास लेख्न सजिलो बनायो । तर उपन्यास डायरीजस्तो सजिलो नहुँदोरैछ । कोर्दै मेट्दै गर्दा मलाई डेढ वर्ष लाग्यो ।
यसबीच म कहिले कथामा डुबेँ त कहिले पात्रमा । यसकी मूल पात्र कथा मेरो आत्मीय साथी बनेर मसँगसँगै हिँडिरही । पुरुष पात्र अशोक घरीघरी मेरो वैरी बन्यो । अशोकसँग मेरो ठूलो चित्त दुखाइ छ भने कथासँग अथाह प्यार । आख्यान लेख्दा पात्रमा यति डुबिँदोरैछ कि ती पात्रले हसाउने र रुवाउने सामथ्र्य राख्दारैछन् । रिस उठाउने र उक्साउनेसम्मको शक्ति तिनमा हुँदोरैछ ।
तीन वर्षअघि मैले गाई भैसी पाल्ने र खेती गर्न थालेँ । टोखामा दश रोपनी जग्गामा तरकारी उत्पादन गर्दाका अनुभव डायरीमा उतारेकी थिएँ । लेख्दै जाँदा किताब बन्छ जस्तो लागेपछि यसैमा घोत्लिन थालेँ ।
कृषिप्रधान देशमा केही उदाहरणीय काम गर्न सक्छु कि भनेर यो पेशामा लागेकी हुँ । त्यही कामको अनुभवमा आधारित भई किताब लेख्ने निर्णय गरेँ । सुरुमा उपन्यास लेख्ने विचार थिएन, संस्मरण लेख्ने सोच थियो । एक चरण लेखेर साथीभाइलाई देखाउँदा ‘कस्तो निरस !’ भने । उनीहरुले आख्यान रुचिकर हुने प्रतिक्रिया दिए । रोचक बनाउन प्रेमकथा जोड्ने सुझाव दिए । त्यही सल्लाहअनुसार प्रेम जोडेर आख्यान बनाएँ । प्रेम सबैको रुचिको विषय हो । मलाई पनि प्रेम कथा मन पर्छ ।
मैले नजिकबाट देखेका मदानपुर, नुवाकोटका मानिसहरु यसका पात्र छन् । कृषि क्रान्तिको आदर्श सपना नै यसको केन्द्रीय विषय हो । यसका मुख्य पात्रहरु युवा छन् । पात्र खोज्न मैलै आप्mनै वरपरका युवाका आनीबानी, भावना र सपनाको अवलोकन र मूल्यांकन गरेकी छु । मेरो स्वअनुभव र अनुभूतिले पनि मलाई सघाएको छ । उपन्यासको पहिलो ड्राप्mट कवि विप्लव ढकाललाई बुझाएँ । वहाँको प्रतिक्रिया पाएपछि लाग्यो, केही समय ब्रेक लिँदै लेख्नु पर्नेरहेछ ।
नाच्ने र नाटक खेल्ने रहरले मलाई सिनेमामा पुर्यायो । डायरी लेख्ने बानीले उपन्यास लेखनमा हाम्फालेकी छु । केहीले सिनेमा नपाएर किताब निकालेको आरोप लगाएका छन् तर मैले सिने क्षेत्र पूरै छोडेको छुइनँ । म जत्तिको सेलिब्रेटीको किताब सहजै छापिएला भन्ने लाग्थ्यो । मेरो अपेक्षा विपरीत फाइन प्रिन्टका अजित बरालले उपन्यास सम्पादनमा जोड दिए । सम्पादन गर्दा धेरै कुरा सिकियो। जुन आगामी किताब लेख्दा काम लाग्छन् ।
मैले अभियन गरेको ‘चपली हाइट’ सिनेमाको मूल विषय यौन सेरोफेरोमा मात्रै भएको टिप्पणी भयो । मैले कृषि व्यवसायमा काम गर्दा धेरैले प्रोपोगान्डा ठाने । उपन्यास लेख्न खोज्दा पनि धेरैले सस्तो प्रचार खोजेको आरोप लगाइरहेछन् । तर नयाँ नयाँ काम गर्नु मेरो रुचि हो । यसलाई चर्चाको मोह भन्नेहरुसँग मलाई मतलब छैन ।
‘जुइनो’ शब्दको अर्थ बन्धन हो । यो नाम कृष्ण अविरलले सुझाएका हुन् । युवा पुस्ताले मेरो उपन्यास पढेर कृषि क्रान्ति गरिहाल्लान् भन्ने त लाग्दैन तर यो व्यवसायभित्र रहेको प्रचुर सम्भावनाप्रति पक्कै आकर्षित हुनेछन् भन्ने आशा गरेकी छु ।
Previous Articleसांसद् तिलक महतको चुनाव खर्च २० लाख
Next Article नेपालमा गरिबको संख्या ७ प्रतिशतले बढ्यो