काठमाडौं, ५ पूस– आफ्ना शिशुलाई खोप लगाउन खोप केन्द्रमा आउने आमालाई सरसफाइका महत्वका बारेमा जानकारी दिँदा सकारात्मक प्रभाव देखिएको छ । शिशुलाई खोप दिइएपछि खोपकेन्द्रमा कम्तीमा पनि त्यस्ता आमा कम्तीमा आधा घण्टादेखि एक घण्टासम्ममा रहन्छन् । सो समयमा स्तनपानको महत्व, बच्चाको दिशापिसाब विसर्जन गर्दा ध्यान दिनुपर्ने कुरा, पानी उमालेर खाँदा हुने फाइदा, शिशुलाई पौष्टिक तत्वको आवश्यकता, हात धुने तरिकालगायत विषयमा जानकारी दिँदा आमा र शिशु दुवैको स्वास्थ्यमा सकारात्मक परिवर्तन आएको सोमबार जानकारी दिइएको छ ।
स्वास्थ्य मन्त्रालय, बालस्वास्थ्य महाशाखा र वाटर एड नामक अन्तरराष्ट्रिय गैरसरकारी संस्थाको आर्थिक एवं प्राविधिक सहयोगमा बर्दिया, जाजरकोट, नवलपरासी र म्याग्दीमा सञ्चालित सरसफाइ प्रवद्र्धनमार्फत नियमित खोप कार्यक्रमले ती जिल्लामा बाल मृत्युदर तथा पानीका कारणले हुने रोगमा उल्लेख्य कमी आएको भेटिएको छ । ती जिल्लामा २१ महिनादेखि सो कार्यक्रम कार्यान्वयनमा रहेका छ । नेपालमा वर्षेनी खोप सेवा लिने बालबालिका करीब ६ लाख ३० हजार छ ।
यस्ता बालबालिकालाई मन्त्रालय अन्तर्गतका १६ हजार खोपकेन्द्रमार्फत खोप सेवा दिइन्छ । खोपको पहुँचदर भने ७८ प्रतिशतभन्दा माथि उक्लन सकेको छैन । मन्त्रालयका प्रमुख विशेषज्ञ चिकित्सक सुशीलनाथ प्याकुरेलले आफ्ना शिशुलाई खोप लगाउन खोप केन्द्रमा जाने आमालाई सरसफाइका बारेमा ज्ञान दिँदा स्वास्थ्य शिक्षामा सकारात्मक प्रभाव परेको हुँदा यस्ता कार्यक्रमलाई सबै तहमा विस्तार गर्न मन्त्रालयले ध्यान दिएको बताए ।
अर्का विशेषज्ञ चिकित्सक विनोदमान श्रेष्ठले फुर्सदका समयमा रहेका आमालाई सरसफाइका बारेमा ज्ञान दिँदा जलजन्य रोगमा कमी तथा बालमृत्युदरमा सुधार भएको कार्यक्रम कार्यान्वयनमा रहेका जिल्लाबाट पुष्टि भएको उल्लेख गरे । स्वास्थ्य सेवा विभागका महानिर्देशक चिकित्सक रोजेन्द्र पन्त र स्वास्थ्य महाशाखाका प्रमुख चिकित्सक विकास लामिछानेले खोपको पहुँचदरमा वृद्धि ल्याउन र खोप सेवा लिन आउने शिशुका आमालाई सरसफाइका बारेमा ज्ञान दिने कार्यलाई प्राथमिकता दिइएको जानकारी दिए । वाटर एडका चिकित्सक ओमप्रसाद गौतमले सरसफाइ प्रवद्र्धनमार्फत नियमित खोप कार्यक्रमले समुदायमा बालस्वास्थ्यका क्षेत्रमा उल्लेखनीय सुधार आएको हुँदा आगामी दिनमा कार्यक्रमलाई विस्तार गर्नुपर्छ भने ।
Previous Articleमनोज र सिद्धार्थको ‘अय्यारी’ को ट्रेलर सार्वजनिक
Next Article कुश्मा नगरपालिकाका गुणस्तरमा प्रतिवद्व