बागलुङ, ७ असोज – नेपाल सरकार र नेपाल किड्नी फाउन्डेसन डाभिया भिलेज ट्रष्ट अमेरिकाको संयुक्त आयोजना र स्थानीय बागलुङ जेसीज र निलगिरी अस्पतालको संयोजनमा निशुल्क मृगौला शिविर सम्पन्न भएको छ ।
समस्या भएर पनि उपचार गर्न जान नसकेकाहरुलाइ जिल्ला तहमै सेवा उपलब्ध गराउने लक्षले शिविर संचालन गरिएको जेसीजका पूर्व अध्यक्ष सुदिप राजभण्डारीले बताए । विरामी भएका तथा शंका लागेकाहरुलाइ रगत र पिशाव निशुल्क परिक्षण गरिनुको साथै आवस्यक औषधि समेत शिविरमा वितरण गरिएको थियो ।
साथै अन्य विरामी पर्दा अनावस्यक तथा डाक्टरको सल्लाह विना औषधि सेवन नगर्न पनि सबैलाइ सुझाव दिइएको थियो । सल्लाह विना औषधि सेवन गर्दा सोझै मृगौला र कलेजोलाइ असर पर्ने समेत बुझाइएको थियो । शिविरमा अमेरिकाबाट आएका डाक्टर, बीर अस्पतालका डाक्टर तथा निलगिरी अस्पतालका डाक्टरले न्यु ओयसिस बोर्डिको भवनमा संयुक्त रुपमा सेवा दिएका थिए । बोर्डिङले निशुल्क भवन उपलब्ध गराएको थियो ।
शिविरमा ५ सय ७० बिरामीले उपचार पाएका थिए । बागलुङ जेसीजकी अध्यक्ष पार्वती अधिकारीको अध्यक्षता, पूर्व अध्यक्ष बसन्तकुमार श्रेष्ठको स्वागत र जोहन बज्राचार्यको संचालनमा सम्पन्न कार्यक्रममा पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ड उप्रेतीले हरेक नागरिक स्वच्छ नभए सम्म देश विकास हुन नसक्ने धारणा राखे । फरक क्षेत्रबाट आएर पनि मृगौला लगायतका शरिरका अंगको सुरक्षा गर्नुपर्छ भनेर सन्देश दिनका लागि यो अभियानमा हिडेको धारण राखे ।
उक्त अवसरमा अमेरिकादेखि आएकी डाक्टर ग्लोरिया सर्च, बीर अस्पतालका विशेषज्ञ डाक्टर तथा नेपाल किड्नी फाउन्ण्डेसनका संस्थापक डा. शक्ति बस्नेत, निलगिरी अस्पतालका डा. गोविन्द गौतम लगायतले बोलका थिए ।