बागलुङ, ७ असोज – नेकपा एमाले बैकल्पिक केन्द्रिय सदस्य मनकुमारी जिसी र जिल्ला सचिवालय सदस्य रामबहादुर जिसीका ज्येष्ठ सुपुत्र स्वर्गिय सुशिल जिसीको सम्झनामा ‘बाँकी छन् त केवल सम्झनाका घाउहरु’ पुस्तक विमोचन गरिएको छ ।
नेकपा एमाले जिल्ला कमिटि बागलुङले १३ औँ दिनको पुण्यतिथीका अवसरमा बिहिबार आयोजना गरेको श्रद्धाञ्जली सभाका अवसरमा परिवारका तर्फबाट प्रकाशन गरिएको पुस्तक विमोचन गरिएको हो । १९ बर्षको उमेरमा गुमाएका सन्तानका बारेमा आमा बुवा, परिवार र शिक्षकले सँगालेका अनुभुति उल्लेखित उक्त पुस्तकको जिसी दम्पतिले संयुक्त रुपमा विमोचन गर्नुभएको थियो ।
स्वर्गिय जिसीको गत भाद्र २५ गते १९ बर्षको उमेरमा काठमाण्डौमा उपचारका क्रममा निधन भएको थियो । निधनपछि सुशिलको आँखा दान गरिएको छ ।
श्रद्धाञ्जली सभामा नेकपा एमालेका बैकल्पीक केन्द्रिय सदस्य तथा स्वर्गिय सुशिल जिसीकी माता मनकुमारी केसीले समयले आफु र आफ्नो परिवारलाई असह्य पीडा दिए पनि समाज र राष्ट्रका आधारभूत तहका नागरिक प्रतिको दायित्व सम्झेर बिस्तारै सम्हालिने प्रयत्नमा रहेको बताइन् ।
कार्यक्रममा एमाले जिल्ला अध्यक्ष श्रीप्रसाद शर्मा, नेकपा एमालेका उर्जा तथा जलस्रोत विभाग सदस्य हिराबहादुर केसी, केन्द्रिय सहकारी विभाग सदस्य रामबहादुर जिसी, नेकपा एमाले अञ्चल कमिटि पुर्व सदस्य कृष्ण पाठक, पुर्व जिल्ला शिक्षा अधिकारी मानबहादुर केसी, नेपाली कांग्रेसका जिल्ला सदस्य लक्ष्मी शर्मा, अनेम संघका जिल्ला अध्यक्ष सावित्री राना लगायतले जिसी दम्पतिले अल्पायुमै सन्तान गुमाएको घटनाले स्तब्ध भएको उल्लेख गर्दै शोकलाई शक्तिमा बदल्न आग्रह गरेका थिए ।
कार्यक्रम नेकपा एमालेका जिल्ला अध्यक्ष श्रीप्रसाद शर्माको अध्यक्षता, सचिवालय सदस्य टंकप्रसाद पौडेलको स्वागत मन्तव्य र सचिवालय सदस्य डिल्लीराज गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।