बागलुङ, ४ पूस– प्रत्यक्षतर्फको निर्वाचनको नतिजा आएलगत्तै मतदातालाई धन्यवाद दिन गाउँ पसेका बागलुङका सांसदहरु पूसको पहिलो साता पनि धन्यवाद ज्ञापनमा नै ब्यस्त हुने भएका छन् । निर्वाचन क्षेत्र भित्रका सबै वडामा पुगेर धन्यवाद ज्ञापन गर्दै हिँडेका सांसदलाई पूसको पहिलो साता पनि भ्याई–नभ्याई हुने भएको हो । जिल्लाको क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य डा. सुर्य पाठकले जैमिनी नगर पालिका र बरेङ गाउँपालिको सबै वडामा पुगेर धन्यवाद ज्ञापन गरिसकेको बताएका छन् । मंगलबारदेखी बागलुङ नगरपालिकामा धन्यवाद दिन घरदैलोमा जाने योजना रहेको पाठकले बताए । शनिबार मात्रै ब्यत्तिगत कामको शिलशिलामा काठमाण्डौ पुगेका पाठकले सोमार फर्केलगत्तै बागलुङ नगरपालिकाको पैञ्युपाटा बाट धन्यवाद अभियान थालिने बताए ।
यस्तै जिल्लाको क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य देबेन्द्र पौडेल पनि नेकपा माओबादी केन्द्रको बैठकमा भाग लिन सोमबार काठमाणडौ गएका छन् । धन्यवाद ज्ञापन तथा बिजयी सभालाई थाँती राखेर पार्टिको बैठकमा भाग लिन काठमाण्डौ गएको पौडेलले बताए । जिल्लाको दुबै क्षेत्रका प्रतिनिधिसभा सदस्यहरु काठमाण्डौतिर लागेका भएपनि प्रदेश सभा सदस्यहरुले भने घरदैलो गरेर धन्यावाद ज्ञापन गरिरहेका छन् ।
क्षेत्र नं १ प्रदेश सभा १ का सदस्य इनद्रलाल सापकोटाले बागलुङ नगरपालिकाका केही वडा र काठेखोला गाउँपालिकाका केही वडामा धन्यवाद ज्ञापन गरेको भएपनि बाँकी वडाका हरेक टोलमा पुगेर धन्यवाद ज्ञापन गरिने बताएका छन् । ‘जनतामा एक खालको उत्साह छ’ प्रदेश सभा सदस्य सापकोटाले भने ‘सबैको घरदैलोमा पुगेर उहाँहरुको हामीप्रतिको आकांक्षा बुझ्ने प्रयास गरिरहेको छु ।’ सापकोटाले सोमबार पालाको तितौरेमा घरदैलो नै गरेर धन्यवाद ज्ञापन गरेका थिए । त्यस्तै जिल्लाको क्षेत्र नं १ को प्रदेशसभा २ का सांसद कृष्ण थापाले आफ्नो निर्वाचन क्षेत्र भित्र पर्ने जैमिनी नगरपालिका र बरेङ गाउँपालिकामा घरदैलो तथा बिजयी सभा सम्पन्न गरेर सोमबार बागलुङ नगरपालिकाको १२ नम्बर वडामा प्रबेश गरेका छन् ।
टोल–टोलमा पुगेर कोणसभा गर्दै धन्यवाद दिईरहेका थापाले आफ्नो धन्यवाद ज्ञापन कार्यक्रम अन्तिम चरणमा पुगेको बताए । बानपाका तीन वडामा धन्यवाद ज्ञापनपछि आफ्नो पहिलो चरणको कार्यक्रम सकिने उनको भनाई थियो । जिल्लाको क्षेत्र नं २ का प्रदेशसभा सदस्यहरुले पनि घरदैलो नै गरेर धन्यवाद ज्ञापन गरिरहेका छन् । प्रदेशसभा २ को २ का सांसद टेकबहादुर घर्तिले ढोरपाटन नगरपालिकाका बिभिन्न वडामा घरदैलो गरिरहेका छन्भने क्षेत्र नं २ को प्रदेश सभा २ का सांसद चन्द्रबहादुर बुढाले ताराखोला गाउँपालिकाका बिभिन्न वडामा घरदैलो गरिरहेको बताएका छन् । निर्वाचनको नतिजा आएपछि बिजयी सांसदहरु घरदैलोमा पुगदा आम सर्बसाधारणले निर्वाचन अघि गरेका बाचा पुरा गर्न आग्रह गर्ने गरेको सांसदहरुले बताएका छन् । ‘घरदैलोमा पुग्दा उहाँहरुमा उत्साह छ ’ क्षेत्र नं १ को प्रदेशसभा २ का सांसद कृष्ण थापाले भने– ‘चुनावअघि गरेका बाचा पुरा गर्नु भन्दै सम्झाईरहनु भएको छ ।’ सर्वसाधारणले स्थिर सरकार र बिकास चाहेको पाएको थापाले बताए ।
Previous Articleबिद्यालय प्रतिको सुरक्षा चासो बढ्दै
Next Article मुक्ति समाजको स्थापना दिवस