बागलुङ, ४ पूस– गुणस्तर सुधार र विद्यार्थी टिकाउ जस्ता कार्यक्रम समावेश गरिने विद्यालय सुधार योजनामा भौतिक जोखिम न्युनिकरणका योजना पनि समावेश गर्न थालिएको छ । विद्यालय सुधार योजनामा शैक्षिक गुणस्तर वृद्धि, भौतिक पूर्वाधार निर्माण र व्यवस्थापकीय सुधार समावेश हुन्छ । तीनवटै शिर्षकमा आन्तरिक र बाहिरी जोखिम न्युनिकरणलाई समेत प्राथमिकता दिएर अधिकांस विद्यालयले योजना बनाउन शुरु गरेका छन् । दुइ बर्ष अघिको भूकम्पपछि अधिकांस भवन जोखिमयुक्त भएको भन्दै अब बन्ने हरेक भवन भूकम्पीय जोखिमबाट बच्ने बनाउने, बाढी, पहिरो, आगोलागि र चट्याङबाट जोगाउने लगायतका बिषयलाई सुधार योजनामा समावेश गर्न थालिएको हो ।
पहिलो चरणमा बागलुङका २० वटा विद्यालयमा नमूनाको रुपमा नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसन र केही विशेषज्ञहरुको सहयोग लिएर सुधारका योजना बनाइएको सहायक जिल्ला शिक्षा अधिकारी कुश्मराज उपाध्यायले बताए । त्यो नमूनाको आधारमा अन्य सबै विद्यालयमा अनिवार्य योजना बनाउन लगाइएको छ । ‘भवन जोखिम भएमा भूकम्पले मानवीय जोखिम बढ्न नदिन सुरक्षित स्थान, आन्तरिक रुपमा भवन सुरक्षित बनाउने काम पनि थालिएका छन्’ उपाध्यायले भने, ‘विद्यालयमा बाढीपहिरो पस्ने खतरा भएको देएिमा तत्काल तटबन्ध र अन्य सुरक्षाका काम थाल्ने योजना पनि बनेका छन् ।’ हावाहुरीले छाना उडाउने खतरामा समेत धेरै विद्यालय रहेका थिए ।
ठूला रुखको फेदमा विद्यालय राख्दा ढलेर लाग्ने जोखिम, आगोलागिले भेट्ने स्थान भएमा सुरक्षा उपाया समेत समावेश गरेर योजना बन्न थालेका हुन् । अभिभावक, विद्यार्थी, शिक्षक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारी बसेर संभावित जोखिम बारे छलफल गर्दै योजना बनाएको सिगाना मावि तित्याङका प्रअ गोपालकुमार शर्माले बताए । ‘विद्यालय सुधार योजना धेरै पटक बनाएका थियौं, आफ्नै वरपरमा भएका जोखिम बारे पनि वास्ता गरेका थिएनौं’ शर्माले भने, ‘अहिले आएर धेरै जोखिम देख्न थालेपछि योजनामा राखेर काम गरेका छौं ।’ योजना निर्माण र कार्यान्वयनका लागि थप बजेट समेत माग्ने काम शुरु भएको उनले बताए । ‘घर जोखिम हुँदा केही मानिसको ज्यान जोखिममा पर्छ, विद्यालय जोखिम हुँदा सयौं बालबालिका खतरामा पर्छन्’ शर्माले भने, ‘अब हामीले यस्ता बिषय बुझ्ने मौका पाएका छौं ।’ चुस्त प्रशासन, दक्ष शिक्षक र पक्की भवन भएपछि हामी समृद्ध छौं भन्ने भावना फेरिएको उनले बताए । योजना निर्माण पछि बन्न थालेका भवनका हरेक कोठामा दुईदुईवटा ढोका निर्माण हुन थालेका छन् ।
त्यस्तै भित्र धकेलेर खोल्ने गरिएकोमा बाहिर धकेलेर खोल्न मिल्ने ढोका बन्न थालेको जिल्ला शिक्षा अधिकारी गुरुप्रसाद पौडेलले बताए । भूकम्प गएमा कसरी बच्ने भन्ने बिषयमा हरेक विद्यालयमा शिक्षक र विद्यार्थीलाई तालिम दिन थालिएको छ । ‘महिनाको एक दिन विद्यार्थीले जोखिम न्युनिकरण अभ्यास पनि गर्न थालेका छन्’ पौडेलले भने, ‘यस्ता अभ्यासले जोखिम बाट पार लगाउने तरिका बारे सिकाई बढेको पाईयो ।’ जिल्लाका ५ सय २८ वटै विद्यालयमा यस्ता योजना बनाउन निर्देशन दिएको उनले बताए । कतिपय विद्यालयले त्यस्ता योजना बनाएर जानकारी समेत पठाइसकेका छन् ।
Previous Article२०७४ पुस ४ गते मंगलबारको राशिफल
Next Article अझै एक हप्ता धन्यबादमा बित्ने