बागलुङ, १ पुस– लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि राज्यका सबै संस्थाहरु पारदर्शी र जवाफदेहि हुनुपर्ने एक कार्यक्रमका सहभागिले बताएका छन् । पारदर्शीता र जवाफदेहिताको बिकास गर्न गणतन्त्रमा पनि गैससरकारी संस्थाहरुको उपस्थिति आवस्यक भएको उनीहरुले बताए । नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनको २४ औं वार्षिक साधारणसभा तथा आठौं अधिवेसनको अवसरमा बोल्ने वक्ताले गैससलाई राज्यको एकद्वार प्रणालीबाट आएको बजेट मार्फत काम गर्ने अवसरको रुपमा कानूनले व्यवस्था गरेको पनि बताए ।
कार्यक्रममा फाउण्डेसनका संरक्षक तथा सामाजिक अगुवा मणीभद्र शर्मा कंडेलले गैरसरकारी संस्थाले गरेको योगदानलाई राज्यले कदर गर्नुपर्ने धारणा राखे । ‘सशष्त्र द्वण्द्वको समयमा सरकारको उपस्थिति नभएको स्थानमा गैसस पुगेर आर्थिक र सामाजिक क्रान्ति गरेका छन्’ कंडेलले भने, ‘अव पनि गैससले राज्यको पहुँच नपुगेको स्थानमा काम गरेर समृद्ध नेपाल बनाउन पहल गर्नुपर्छ ।’ उनले शिक्षा, स्वास्थ्य, अपांगता र बालबालिकाको क्षेत्रमा गाजाले काम गरेको पनि बताए । सहायक प्रजिअ नारायण पाण्डेयले गैससलाई नियमनकारी बनाउने अभियान संविधानले थालेको बताए । उनले बैदेशिक सहायतालाई एकद्वार प्रणालीमा ल्याउनेगरी कानून बनेको बताए । ‘सोझै दाता खोजेर काम गर्न नपाउने व्यवस्था छ, सरकारी डालोबाट काम गर्न पाइन्छ’ पाण्डेयले भने ।
कार्यक्रममा गैसस महासंघ बागलुङका सचिव मणीभद्र शर्माले राज्य सधै बिभेदकारी भैरहने भएकोले लोकतान्त्रिक गणतन्त्रमा पनि गैससको आवस्यकता पर्ने बताए । ‘देशभरका हजारौं गैससले लाखौं युवालाई रोजगारी दिएर पलायन हुनबाट जोगाएका छन्’ उनले भने, ‘राज्यलाई जवाफदेही बनाउन पनि गैससको योगदान बिर्सन मिल्दैन ।’ कार्यक्रममा कांग्रेस सभापति दिपेन्द्रबहादुर थापा, बरिष्ठ अधिवक्ता कृष्णप्रसाद निउरे, योगदान कंडेल, पत्रकार महासंघका अध्यक्ष दिल शिरिष, सुआहारा कार्यक्रम संयोजक जगदिश लोहार, रुमटुरिडका कार्यक्रम अधिकृत मनोज सुवेदी, प्लान नेपालका कार्यक्रम अधिकृत संदिप बिक, रेडक्रस सोसाईटीका सभापति जब्बरबहादुर लामिछाने लगायतले बोलेका थिए । फाउण्डेसनका कावा अध्यक्ष यामप्रसाद कंडेलको अध्यक्षता, सचिव गीता श्रीषको संचालन र भवानी कंडेलको स्वागतमा सम्पन्न भएको थियो । बर्षभरी उत्कृष्ठ काम गर्ने बिष्णु क्षेत्री, जनक खत्री र बिमला दुरालाई पुरस्कृत गरिएको थियो ।
अधिवेसनले यामप्रसाद कंडेलको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । समितिको सदस्यहरुमा यामलाल कंडेल, नवराज पौडेल, नरेश कंडेल, दिपकप्रसाद कंडेल, मनबहादुर पृुन, पूर्णमाया सुनार, जमुना आचार्य र यामबहादुर श्रीष रहेका छन् ।
Previous Articleम्याग्दीमा अभिभावक शिक्षा प्रभावकारी
Next Article वनमा आगलागी नियन्त्रण हुन सकेन