बागलुङ, २९ मंसिर– जीवन बिमाको क्षेत्रमा काम गरेको रिलायबल नेपालले आफ्नो बाह्रौ शाखा बागलुङमा खोलेको छ । जिल्ला समन्वय समितिका संयोजक राजेन्द्र ढुंगानाले बिहिवार शाखाको उद्घाटन गरे । कार्यक्रममा ढुंगानाले जीवन बीमाप्रति समाजमा रहेको भ्रमहरु चिर्नुपर्ने र सबै नेपाली बिमित हुनुपर्ने बताए । जीवन बीमा भन्ने बित्तिकै नरारात्मक धारणाहरु आउने गरेकोले सबै बीमा कंपनी मिलेर जनचेतना अभियान संचालन गर्नुपर्नेमा जोड दिए । जीवन बीमा भनेको अप्ठ्यारो पर्दा जीवनको सहारा भएको पनि उनले बताए । बीमाकर्ताले बुझाएको प्रिमियमले कम्पनीलाई र कम्पनीले अप्ठ्यारो पर्दा बिमितलाई तिर्ने बीमा रकमले एक अर्कालाई साझेदारीमा सहयोग गरिरहेको उनको धारणा थियो । धौलागिरी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख रामप्रसाद उपाध्यायले सेवाहरुलाई छिटो छरितो र विश्वसनीय बनाउन सुझाव दिए । बीमीतले पाउने रकम भुक्तानीको प्रक्रियाहरु सहज बनाउन सकेमा बिमा प्रति धेरैको विश्वास बढ्ने उनले बताए । पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरीषले आम नागरिकमा बीमा कम्पनी र नेटवर्किङ व्यवसाय एउटै हो कि भन्ने भ्रम रहेको भन्दै त्यस्ता भ्रम चिर्न आग्रह गरेका थिए । कम्पनीका बारेमा संस्थाका पोखरा मार्केटिङ प्रमुख सूर्य सुमन थापाले जानकारी गराएका थिए । बागलुङका नागरिकलाई भविष्यको लागि बचत गर्ने बानी बसाल्न संस्थाको शाखा खोलिएको शाखा प्रमुख नारायण पौडेलले बताए ।
Previous Articleबागलुङ सञ्चार सहकारीको बार्षिक साधारण सभा
Next Article २०७४ मंसिर २९ गते शुक्रबारको राशिफल