बागलुङ, २९ मंसिर– सञ्चारका उद्यमहरु प्रभावकारी रुपमा सञ्चालनका लागि सहकारी उपयूक्त माध्यम भएको बागलुङमा बिहिबार आयोजीत कार्यक्रमका बक्ताहरुले बताएका छन् । जिल्लास्थित बागलुङ सुचना तथा सञ्चार सहकारी संस्था लि. बागलुङको ११ औं वार्षिक साधारणसभामा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् । साधारणसभाको उद्घाटन गर्दै नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि.का सञ्चालक चण्डिप्रसाद शर्मापौडेलले नयाँ युग र प्रबिधिको प्रयोग गर्दै सहकारी मार्फत हरेक काम गर्न सकिने बताए ।
बागलुङ सुचना तथा सञ्चार सहकारी संस्था लि.का सञ्चालक समेत रहेका पौडेलले अहिलेको यो युग प्रविधिको युग भएकाले सुचना र सञ्चार मानव जीवनको अनिवार्य आधारभुत आवश्यकताका रुपमा विकास भैरहेकाले संस्थाले धौलागिरी अञ्चललाई सञ्चारको मुल प्रवाहमा ल्याउनका लागि विविध योजनाहरु तर्जुमा गरेको बताए ।
कार्यक्रममा बागलुङ सुचना तथा सञ्चार सहकारी संस्थाका पूर्व अध्यक्ष किरणराज शर्मा, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बागलुङका उपसभापती राजेन्द्र आचार्य, उद्योग वाणिज्य संघ बागलुङका कार्यवाहक अध्यक्ष युवराज राजभण्डारी, पत्रकार महासंघ जिल्ला शाखा बागलुङका अध्यक्ष दिल श्रीस, तरकारी तथा फलफुल उत्पादक सहकारी संघका अध्यक्ष पार्वती आचार्य लगाएतले साधारणसभाको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
सहकारीले आफ्नो साधारणसभाका अवसरमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा बागलुङको निर्माणधिन भवनका लागि रु. ५ हजार र संस्थाका अध्यक्ष बसन्तकुमार श्रेष्ठले व्यक्तिगत रुपमा दिनको ५० रुपैयाका दरले १ वर्षको रु. १८ हजार २ सय ५० महासंघका अध्यक्ष दिल श्रीसलाई हस्तान्तरण गरेका थिए । साधारण सभाको उद्घाटन सत्र समापन गर्दै संस्थाका अध्यक्ष श्रेष्ठले सहकारीले हाल सामुदायीक रेडियो बागलुङ एफ. एम. सञ्चालनमा ल्याईराखेको र आगामी दिनमा डिजिटल केवल प्रविधि, स्थानीय टेलीभिजन, पत्रपत्रीका, अनलाईन, छापाखाना लगाएतका सञ्चारका उद्यमहरु सञ्चालनमा ल्याउने योजना रहेको बताए । साधारणसभामा संस्थाको प्रगति प्रतिवेदन सचिव ज्ञानेन्द्र गौतम र आर्थिक प्रगती प्रतिवेदन कोषाध्यक्ष निर्माणकुमार श्रेष्ठले प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदन वन्दसत्रमा व्यापक छलफल भई सर्वसम्मतीवाट पारीत गरिएको छ । कार्यक्रम संस्थाका अध्यक्ष श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष मुकेशचन्द्र राजभण्डारीको स्वागत र सचिव गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।
Previous Articleनयाँ सरकारसँग समृद्धिका लागि सहकार्य – भारत
Next Article रिलायबल इन्स्योरेन्स बागलुङ बजारमा