बागलुङ, २८ मंसिर– आदर्श संचार सहकारी संस्थाले मानव सेवा आश्रमका लागि खाद्यान्न सहयोग गरेको छ । सहकारीको १२ औं स्थापना दिवसको अवसरमा आश्रममा चामल, नुन, तेल र अन्य उपभोग्य बस्तु सहयोग गरेको हो । बुधवार आयोजित एक कार्यक्रममा आश्रम संचालक मनिष रायमाझीलाई सहकारीका पदाधिकारीले सामाग्री हस्तान्तरण गरेका हुन् । पछिल्लो समय विभिन्न संस्थाले आफ्नो बिशेष कार्यक्रमको अवसर पारेर आश्रमलाई सहयोग गर्ने क्रम बढाएका छन् । यो क्रमले आश्रममा रहेका पिडित, असहायहरुलाई खाने बस्ने व्यवस्थापन भएको छ । अहिले आश्रममा २४ जनालाई खाने बस्ने सहितको अवसर दिएर राखिएको छ ।
उनीहरुलाई मन्दिर, सडक र अन्य स्थानबाट उठाएर यहा ल्याएपछि सरसफाई गराएर खानेबस्ने व्यवस्था गरिएको थियो । एक बर्ष अघि विशेष कार्यक्रमका साथ सडक बालबालिका हटाउने लक्षले थालिएको आश्रम संचालन अभियानले बालबालिका मात्र नभएर आर्थिक अवस्था कमजोर भएकोले सडक, मन्दिर छेउमा मागेर बस्नेलाई पनि उद्धार गरेर राख्ने व्यवस्था गरिएको छ । ‘असहायलाई सेवा गर्नुलाईनै धर्म मानेर यो काम थालिएको हो’ आश्रम संचालक रायमाझीले भने, ‘बेला बेलामा भेटिने असहायलाई यहाँ ल्याएर छाड्ने गर्नुभएको छ ।’ आएका मध्ये बालबालिकालाई भने पढ्ने लेख्ने अवसर पनि दिइएको उनले बताए ।
बुधवार भएको सामाग्री हस्तान्तरण कार्यक्रममा सहकारीकी संस्थापक मनकुमारी केसीले मानबियता हराउँदै गएको समयमा युवाले देखाएको सक्रियतालाई सबैले साथ दिनुपर्ने बताइन् । कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष दिपक गौतम, सहकारीका डिलबहादुर कार्की र संचालक मनिष रायमाझी तथा व्यवस्थापन तर्फकी सुमिरा लामाले बोलेका थिए । उपाध्यक्ष हुमकुमारी जिसीको अध्यक्षता, सचिव प्रेम लामिछानेको संचालन र सदस्य शान्ति श्रेष्ठको स्वागतमा कार्यक्रम सम्पन्न भएको सहकारीले
जानकारी दिएको छ ।