हिउद लागेपछि मेला महोत्सव लाग्ने कुरा नौलो होइन । बागलुङमा पनि आगामी पुस १४ गते देखि पाँचौं महोत्सवको आयोजना गरिएको छ । यो महोत्सव उद्योग बाणिज्य संघले आयोजना गर्छ, तर त्यसले जिल्लाकै आर्थिक अवस्था सुधारमा महत्वपूर्ण भूमिका खेल्छ । हुन पनि महोत्सव स्थलमा टिकट काटेर छिर्ने कुृरा मात्र महत्वपूर्ण होइन, उक्त अवसरमा सदरमुकाममा आउने हरेक नागरिकले गर्ने खर्चलाई महोत्सवको उपलब्धीको रुपमा हेर्न सकियो भने यसले करोडौंको कारोवार गर्न सक्छ । महोत्सव भन्ने वित्तिकै हरेक होटलमा आएर बसेका पाहुनाले तिर्ने पैसा देखि किनमेल सम्मले बजारमा आर्थिक चलायमान बनाउँछ । उद्योग बाणिज्य संघले आयोजना गरेपनि यो महोत्सवले सबै व्यपारीक प्रतिष्ठानदेखि सर्वसाधारण समेतलाई उपलब्धीयुक्त बनाउँछ ।
यो महोत्सवलाई संघले अझै अंग्रेजी नयाँ बर्षलाई बागलुङ महोत्सवमा मनाउन आब्हान गर्ने भनेको छ । उक्त आब्हानले युवा जमातलाई आर्कषण गर्नेछ । किनकी अव रमाईलो गर्ने निहुँमा पोखरा, बन्दीपुर र लुम्ले जाने प्रवृत्ति त्यागेर बागलुङकै ऐतिहासिक, धार्मिक र पर्यटकीय गन्तव्यको भ्रमण गर्नुपर्ने बेला आएको छ । किनकी पञ्चकोट, बागलुङ कालिका सहित होम स्टे समेतको व्यवस्था भएको भकुण्डेको यात्राले पनि धेरैको मन लोभ्याउने देखिन्छ । प्रचार प्रसारको अभाव र केही पूर्वाधार निर्माणाधिन भएकोले पञ्चकोटको महत्व अझै बढीसकेको छैन । मेला महोत्सवमा आउने हरेक मानिसलाई त्यहाँ पुग्ने गरी यातायातको व्यवस्था गर्ने र आर्कषक फोटो तथा भिडियोको डकुमेन्ट्री सार्वजनिक गर्न सकेको खण्डमा महोत्सवले फरक महत्व राख्ने देखिन्छ ।
हुन त कृषि तथा घरेलु उत्पादनको गन्तव्यको रुपमा पनि महोत्सवलाई लिईएको छ । कृषि उत्पादनलाई व्यवसायिक बनाउने कुरासँगै किसानका हरेक उत्पादनले सहज बजार पाउने ग्यारेन्टी गर्न सक्नु पनि अहिलेको चुनौती हो । स्थानीय बजार र संघको अगुवाईमा धेरै उत्पादनलाई निकासीको व्यवस्थाप गर्न सकेमा बिदेश जान चाहने युवाले पनि यही बसेर कृषि पेशालाई व्यवसायिक बनाउने निश्चित छ । संघले गर्ने महोत्सव केवल लोकदोहोरी गाउँने स्थान मात्र नभएर हरेक कृषी फसलको बजारीकरण, जिल्ला भित्रका सांस्कृति महत्व झल्काउने गीत, नृत्यहरुलाई पनि उत्तिकै महत्व दिन आवश्यक छ । उद्घाटनको दिन बोलाइएका बिशिष्ट व्यक्तिहरुलाई देखाउनका लागि हतार गरेर केही झाँकी मात्र देखाउँदा सास्कृतिक महत्व झल्कने संभावना कम हुन्छ । तसर्थ १० दिन सम्म चल्ने महोत्सवका हरेक दिन एकएक वटा संस्कृतिलाई भरपुर समय दिएर प्रदर्शनी गराउन सकेमा पर्यटक पनि पढ्ने र महोत्सवको रौनक पनि बढ्ने देखिन्छ । जे होस् समग्रतामा महोत्सवको सफलतासँगै उद्योग बाणिज्य संघको सफलता मात्र नभएर आम जिल्लाबासीको सफलता पनि जोडिएको छ । त्यसका लागि जुनसुकै क्रियाकलाप जोडिएको भएपनि महोत्सवलाई उत्पादनमुलक, आम्दानीमुलक र सन्देशमुलक बनाउन जरुरी छ । त्यसका लागि सबै क्षेत्रको उत्तिकै पहल र सहयोग आवस्यक छ ।
Previous Articleधौलागीरिमा निर्वाचित एक्ली महिला म्याग्दीका नरदेवी
Next Article आश्रमलाई खाद्यान्न सामाग्री हस्तान्त्रण