बसन्त वस्नेत
धेरै बदलाव आइसकेछ एमाले अध्यक्ष केपी ओलीमा। एउटा समय थियो- उनलाई धेरै दौडधुप नगर्ने, हँसिमजाक र छेडखानीहरूमा आफूलाई अभ्यस्त राख्ने नेताका रूपमा पार्टीवृत्तमा चर्चा गरिन्थ्यो। यसै पनि क्यारेमबोर्ड उनलाई मन पर्ने खेल हुँदै हो। घरैमा कलाकार बोलाएर गीतसंगीत गराउँथे। मदन भण्डारीलाई उद्धृत गर्दै एमालेवृत्तमा एउटा कथ्य प्रवाहित थियो, ‘ओली यस्ता घोडा हुन्, जो तगडा सवारी चलाउने क्षमता राख्छन्। तर चाबुक लगाइरहनुपर्छ।’
भण्डारीको सेखसँगै एमालेको रचनात्मक समय बितेर गयो। माधव नेपालले १२ वर्षजति पार्टीसत्ताको बागडोर सम्हाल्दै गर्दा ओली उनका सफलता/असफलताका सारथि थिए। यो कसैले नसम्झोस्, ओली त्यस बेला दृश्यभन्दा बिलकुलै बाहिर थिए। झलनाथ खनालले नेतृत्व गरेको एमालेकालमा ओली बढ्तै प्रतिक्रियात्मक थिए, उनको भिन्न छवि अझै बनिसकेको थिएन। आज सिंगो नेपाली राजनीतिको सर्वाधिक अग्लो हैसियतमा जसरी आफूलाई उभ्याउन ओली सफल भए, त्यो उनका पछिल्ला तीन वर्षका शृंखलाबद्ध अग्रसरताको उपज हो। १० वर्षअघि चुनाव हराउने तिनै झापाली मतदाताले ओलीलाई उनका पछिल्ला साहस र अडानहरूका लागि दोब्बरभन्दा बढी मतमार्फत एकमुष्ठ स्याबासी दिइसकेका छन्।
कायाकल्प
ओलीले केही महिनाअघि एउटा कुराकानीका क्रममा भने, ‘यदि माओवादी कम्युनिस्ट हो भने म कम्युनिस्ट होइन।’ उनले ‘उग्रपन्थको आयु १० वर्षको हुने’ पटकपटक बताइरहे। शान्ति प्रक्रियाको उत्तरार्धमा आइसक्दासम्म पनि ओलीले माओवादीलाई आतंकवादीको दर्जाभन्दा माथि कहिल्यै सोचेनन्। दोस्रो जनआन्दोलन सफल हुँदैगर्दाको समय उनी निरन्तर कांग्रेससँग सहकार्य गर्नुपर्ने अडान राख्थे, जसलाई तत्कालीन संस्थापन झलनाथ खनाल पक्षले कांग्रेसपरस्त आरोप लगाउँथ्यो। उनी खनाल पक्षलाई माओवादीपरस्त आरोपित गर्थे। उनलाई महाकाली सन्धियता भारतसँग नरम भएको आक्षेप वर्षौं लागिरह्यो। त्यसलाई उनले खासै खण्डन गर्नुपर्ने आवश्यकता महसुस पनि गरेनन्।
राजनीति गर्ने मानिसहरूको जीवनलाई एउटा अध्यायमा मात्रै पढ्न खोजियो भने त्यो गल्ती हुनेछ। सायद ओली यही सन्देश प्रवाह गर्न चाहन्थे। विगतका उठबस, खानपिनहरूका आधारमा निर्मित उनको विम्बलाई समाजको एउटा तप्काले खिसिट्युरी गर्दै रह्यो। वास्तवमा ओली बदलिइसकेका थिए। चरम प्रतिकूल स्वास्थ्यबाट पुनर्जीवन पाएका ओलीले विगतको गुटबन्दीभन्दा माथि उठ्ने संकल्प गरे। भारतसँग जोरी खोजे, तर सनकका आधारमा होइन। उनले राष्ट्रिय स्वार्थको मान्यतालाई पछिल्लोपल्ट नेपाली राजनीतिमा स्थापित गरिछाडे। अब त्यो अडानले नीतिको रूप लिन्छ कि आवेगमा गएर सकिन्छ, हेर्न बाँकी छ ।
राजनीतिको व्याकरण, गति र लहर अनुमान गरिएभन्दा बिलकुलै भिन्न हुन्छ। ओलीले १० वर्षअघिको पृष्ठभूमिमा दिएका अन्तर्वार्तालाई फेसबुकमा भाइरल गराउनुको अब अर्थ हुने छैन। ओलीले आज जुन माओवादी अँगालो हालेका छन्, त्यसलाई आज विप्लव समूहले मच्चाएको आतंकप्रति कुनै अनुराग छैन। आज प्रचण्ड छोरीलाई मेयर जिताउन जुनसुकै मूल्य चुकाउन तयार छन्। हजारौं नेपाली छोराछोरीको ज्यान गयो, तर उनलाई प्रकाश दाहालको मृत्यु विशेष लाग्नु अनौठो होइन। मोहनविक्रम सिंह ‘प्रतिक्रियावादी संसद्’ को भण्डाफोर गर्दैरहे, जीवनसंगिनी चुनावमा नउठ्दासम्म। यो अनौठो होइन, बिलकुल मानवीय कुरा हो।
त्यसैले यसबीचमा एमाले-माओवादीबीच सैद्धान्तिक भिन्नता देखाएर लेखिएका पुस्तकहरूको एक्स्पायरी डेट सुरु भइसक्यो। तिनका कथ्यहरूको मजबुन थियो- एकअर्कासँग ‘एकता, संघर्ष, एकता’ कि ‘एकता, संघर्ष र रुपान्तरण’ ? पुस्तक लेख्ने अवसर त झलनाथ खनालदेखि सीपी मैनालीसम्मलाई थियो, तर इतिहास लेख्ने अवसर ओली र प्रचण्डले पाउँदैछन्। हामीले मत परिणाममा देख्यौं, एमाले र माओवादी आआफ्ना ब्यानरमा ६ महिनाअघि मात्रै हो, स्थानीय चुनावमा लडेको। त्यस बेला उनीहरूले पाएको मत र अहिलेको मतलाई तुलना गर्दा अंकगणितीय होइन, ज्यामितीय अन्तर देखिन आउँछ।
वाम राजनीतिको पानीढलो
ओलीलाई केही वर्षअघि सोधियो, ‘एमाले-माओवादी समीकरण भत्काएर कांग्रेस सरकारमा फेरि उपप्रधानमन्त्री बन्न लाग्नुभएको हो ? ‘ उनले तु. जवाफ फर्काए, ‘केपी ओलीले एउटै कक्षा कहिल्यै दोहोर्याएर पढेको छैन।’ यसो भन्ने उनी दोस्रोपल्ट प्रधानमन्त्री दोहोर्याउने चक्करमा छन्, तर दुई वर्षअघिजस्तो स्थितिमा होइन। अन्य कुरा यथावत् रहेमा नेपालमा पहिलोपल्ट स्पष्ट बहुमतको ‘स्थिर वामपन्थी सरकार’ एक महिनाभित्र बन्दैछ, जसको नेतृत्व उनैले गर्नेछन्। र, ६० वर्षको नेपाली कम्युनिस्ट इतिहासमा ओली एउटा यस्तो नेता बन्दैछन्, जसको अग्रसरतामा एकीकृत वामपन्थी पार्टी बन्नेछ।
त्यो नै नेपालको सबैभन्दा ठूलो राजनीतिक शक्ति बन्नेछ। षड्यन्त्र सिद्धान्त किनबेच हुने काठमाडौं खाल्डोमा एमाले-माओवादी एकता हुन नसक्ने कारणहरू बुँदाबुँदामा तयार छन्, तर यसपल्ट एकतामा सशंकितभन्दा आश्वस्त हुनुपर्ने आधार धेरै छन्। वाम विजयपछि ओलीले एकता अभियानमा कत्ति पनि विचलित नहुने, बरु अझै दृढतापूर्वक लाग्ने बताइसकेका छन्। माओवादी अध्यक्ष प्रचण्डको भनाइमा माघदेखि फागुनसम्म पार्टी एकतासम्बन्धी तयारी पूरा भइसक्ने छ।
यसरी आफ्ना नियोजित मिसनहरू केही महिनाभित्र कार्यान्वयन भए अबको नेपाली वाम राजनीतिमा ओली र प्रचण्ड यस्ता पानीढलो बन्न सक्छन्, जसको अग्रसरताका कारण नेपाली वाम राजनीति ओली-प्रचण्ड अगाडि र ओली-प्रचण्ड पछाडि भनी दुई भागमा बाँड्न सकिने छ। नेकपाको चौथो महाधिवेशनबाट फुटेर गएको शक्तिलाई समेट्ने यस्तो दुर्लभ अवसर मदन भण्डारीलाई पनि प्राप्त थिएन। मनमोहन अधिकारी अध्यक्ष रहेका बेला उल्टै एमाले फुट्यो। हाल एकता अभियानमा मोहन वैद्य, विप्लव, बिजुक्छेहरू नपर्नु बेग्लै कुरा। असफल र भावुक नै सही, आदर्शको बीउ जोगाउनेहरूप्रति सहानुभूतिशील नेपाली समाजमा वैद्य आजीवन ‘क्याथोलिक कम्युनिस्ट’ बनेर नाउँ राख्न चाहन्छन्।
विप्लवको कुरै भएन, उनी इतिहासमा बाँचिरहेका छन्। बिजुक्छे यस्ता त्यागी नेता हुन्- जो साम्यवाद ल्याउन चाहन्छन्, भक्तपुरमा मात्र। ओली र प्रचण्डले यति नबुझेका होइनन्। त्यसैले प्रचण्डले एउटा अन्तर्वार्तामा भने, ‘ओलीजी र मेरोबीचमा एउटा खुलेआम षड्यन्त्र छ।’ राज्यसत्ता र पार्टीसत्तामा आलोपालो गर्ने लोभको सेरोफेरोमा वाम गठजोड बनेको हो भने समयक्रममा गुह्य खुल्दै जाला। नत्र असोज १७ मा एक ठाउँ उभिएर राजनीतिक स्थिरता, आर्थिक समृद्धि र सुशासनका प्रति साझा प्रतिबद्धता, अनि समाजवाद उन्मुख संविधान कार्यान्वयनतिर लक्षित वाम निशाना सही ठाउँतर्फ सोझिएको मानिने छ। त्यसको आधारभूत जस उनै ओली र प्रचण्डलाई जाने छ।
दक्षिणपन्थको सहवरण
केही मानिसहरू अझै पनि कुनै बिन्दुमा राजतन्त्र फर्कला कि भन्ने नोस्टाल्जियामा बाँचिरहेका छन्। अढाई सय वर्षअघि जिलेटिनले टाउको काटेर राजा फालिएको फ्रान्समा अझै पनि राजावादीहरूको संख्या गन्न मिल्ने संख्यामा छ। धार्मिक राज्य बनाउने प्रयासहरू यहाँ पनि सानातिना स्वरमा जारी छन्। अतीतमा बाँच्नेहरूजति दुःखी संसारमा कोही हुँदैन। राजालाई नागरिकका रूपमा घुमफिर, तीर्थव्रत गर्ने स्वतन्त्रता संविधानमा प्रत्याभूत छँदै छ। छिमेकी भारतमा धार्मिक आस्थालाई राजनीतिक रंगमा जति गाले पनि नेपालको सहिष्णुता अतुलनीय छ। अनि राष्ट्रिय चेतनालाई कहिलेकाहीँ कम्युनिस्ट स्वयंले उग्रराष्ट्रवादी ज्वरोमा परिणत गर्न सकेकै छन्। त्यति गर्नलाई राजतन्त्र नै किन चाहियो। यसर्थ दक्षिणपन्थका केही मान्यतालाई आफूभित्र सफलतापूर्वक सहवरण गराएर नेपाली वामपन्थ आफ्नो यात्रामा शानका साथ सवार छ।
तर, नेपाली वामपन्थको चित्र यत्तिमा पूर्ण छैन, हुँदैन। हामीले पछिल्ला वर्षहरूमा देख्यौं- वामपन्थको नाममा ल्याटिन अमेरिकी देशहरूमा कम्युनिस्ट सरकारहरूको आत्मविश्वासले हद नाघ्यो। शासकहरू स्वेच्छाचारी बन्दै गए। एउटा सीमित वर्गले जनताका प्रतिनिधिलाई उठ् भन्दा उठ्ने, बस् भन्दा बस्ने वातावरण निर्माण हुन गयो। राष्ट्रियताको विषय छिमेकी देशहरूसँग सौहार्दता सिध्याउने हदसम्म ईखको विषय बन्न गयो। भ्रष्टाचार संस्थागत भयो। विपक्षी अभिमतहरूलाई यो वा त्यो बहानामा सिध्याउने खेल खेलियो। अनि राज्यका आर्थिक र परराष्ट्र नीतिहरू निश्चित नेता वा पोलिट्ब्युरोको लहड वा सनकको विषय बनाइयो। राष्ट्रियकरणका नाममा औद्योगिक संस्थानहरू डुबाउने खेल रचियो। बजेटलाई वितरणमुखी बनाउने नाममा सबै सीमा नाघेर चारा छरियो। के कमरेड ओली यी परिघटनाहरूबारे सचेत छन् ? के उनी विकास र समृद्धिका नाममा संसारैभरि भइरहेका पर्यावरणीय दोहनका बारे परिचित छन् ?
पक्कै हो, एउटा स्वप्नजीवी नेतृत्व चाहिएको छ यो देशलाई। खासगरी सपना देख्नै प्रतिबन्ध लगाइएको राणा र पञ्चायतको बन्द समाज भोगेर आएका हामी नागरिकहरूलाई। कांग्रेस नेता गगन थापाले हामीसँग कुराकानीका क्रममा भनेजस्तै २००७ र २०४६ का उत्सर्गहरूको गाथा गाउने होइन, २०८० सालको नेपालका बारेमा सोच्ने नेतृत्व नै आजको आवश्यकता हो। ओलीले यसअघिदेखि सुनाउँदै आएका चुलाचुलामा ग्याँसका पाइप, नेपालसम्म आइपुग्ने चुच्चे रेल, प्रशान्त महासागरमा चन्द्रसूर्य ध्वजावाहक पानीजहाज कुनै असम्भव सपना त होइनन्; ती पनि देश बनाउने विम्बहरू नै हुन्। तर त्यसभन्दा पहिले आजै, अहिल्यै सल्ट्याउनुपर्ने निश्चित मुद्दाहरू छन्।
सार्वजनिक शिक्षा र सार्वजनिक स्वास्थ्यप्रति आसन्न वामपन्थी सरकारको दृष्टिकोण के हुन्छ ? कि आइतबार मेडिसिटी अस्पतालमा गएर ओलीले बोलेझैं ‘सक्नेले बाँच्नका लागि सक्दो उपाय लगाउने, त्यसका लागि पहुँचदार वर्गले विदेशमा उपचार गराउने’ विकल्प प्राथमिक बन्छ ? केही वर्षमा आउने भनिएको रेलमा निर्यात गर्ने सामग्रीहरूको पूर्वाधार बनाउन आसन्न ओली सरकार के सोच्छ ? वृद्धभत्ताको रकम बढाउनेलगायत दर्जनौं प्रस्तावित लोकप्रियतावादी कार्यक्रमहरूसँगै देशको ढुकुटी बढाउने नीति अबको सरकारसँग के हुनेछ ? ठूला सपनाका पुरियाहरू तयार छन्, साना सपनाहरूको हाल के हुन्छ ?
हामी बदलिएका ओलीका लागि विजयका माला पहिरन केही साताहरू पक्कै छुट्याउन सक्छौं। खराब शासन बेहोरेर निरीह भइसकेको देश अब अर्को परीक्षणमा असफल हुन भने तयार छैन। ओलीप्रति यो बेला अतिरिक्त आशंकित हुनुभन्दा चनाखो भएर बधाई र शुभकामना दिनु श्रेयस्कर हुन्छ। उनी र उनका सहयात्री प्रचण्डलाई अब कुनै पनि प्रकारको उन्माद देखाउने अवसर उपलब्ध छैन। उनीहरूले यस बेला ती मतदाताहरूलाई विनम्रतापूर्वक सम्झनु उपयुक्त हुन्छ; जसले २०६४ को चुनाव, अनि २०७० को चुनावमा क्रमशः उनीहरू स्वयंलाई हराएका थिए। अन्नपूर्णपोष्ट