बागलुङ, २६ मंसिर – प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना जारी छ । जारी मतगणनाले कुन दलको कति सिट निर्धारण हुन्छ, सबैको चासो छ । नयाँ पार्टीहरूले तोकिएको ‘थ्रेसहोल्ड’ कटाएर समानुपातिकतर्फ सिट पाउँछन् वा पाउँदैनन् धेरैले नजिकबाट हेरिरहेका छन् ।
समानुपातिक निर्वाचन प्रणालीमा प्रतिनिधिसभातर्फ देशलाई एकै क्षेत्र मानेर दलहरूले प्रतिस्पर्धा गर्छन् । त्यस्तै प्रदेशगत रूपमा भने सिङ्गो प्रदेश एक निर्वाचन क्षेत्र कायम हुन्छ । दुवैतर्फ निर्वाचन क्षेत्रबाट प्राप्त गरेको सदर मतका आधारमा सिट बाँडफाँट हुन्छ ।
कुल सदर मतको तीन प्रतिशत नकटाउने दलको मत हिसाब हुनेछैन । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनको दफा ६० को व्यवस्थाअनुसार सबै निर्वाचन क्षेत्रबाट आयोगले विवरण प्राप्त गरिसकेपछि आयोगले दलले प्राप्त गरेको कुल सदर मत सङ्ख्याको अनुपातमा मतपरिणाम विभाजक सूत्रका आधारमा निर्वाचित हुने सांसद सङ्ख्या तय गर्नेछ । दलहरूले प्राप्त गरेको कुल सदर मतलाई भाग गरी प्राप्त गर्ने सिट सङ्ख्या बाँडफाँट गर्दा कुनै सिटमा भागफल बराबर भएमा गोला हाली सिट बाँडफाँट छिनोफानो हुनेछ ।
मतपरिणाम विभाजक सूत्रअनुसार प्रत्येक दलका लागि खसेको मतलाई भाग गर्ने पद्धतिले निरन्तर भाग लगाइनेछ । यसअनुसार दलले प्राप्त गरेको मतपरिणामलाई धेरै भाजक अङ्कले भाग गरिन्छ । उल्टो क्रमबाट १, ३, ५, ७, ९ जस्ता बिजोर अङ्कले भाग गरी सिट निर्धारण गरिन्छ । सिट सङ्ख्या ठूलो भागफलबाट सानोलाई बाँडफाँट गर्दै तोकिएको सिट नसकिँदासम्म बाँडफाँट गरिनेछ । सिट बाँडफाँट गर्दा कुनै पनि दलले जतिसुकै मत प्राप्त गरेको भए पनि त्यस्तो दलले सूचीमा सूचीकृत गरेको उम्मेदवार सङ्ख्यामा सीमित रही सिटको बाँडफाँट हुन्छ ।
एक सिटका लागि थ्रेसहोल्ड कति कायम हुन्छ भन्ने अङ्क गणित नमिल्न सक्छ । मत विभाजक सूत्रका आधारमा अन्तिम सिटसम्म भाग गर्दै जाँदा आउने अन्तिम सानो एकाइ एक सिट प्राप्तका लागि हुने औसत मत कायम हुन्छ ।
Previous Articleप्रत्यक्षतर्फ वाम गठबन्धनलाई दुई तिहाइ
Next Article केपी ओली २.० (वामलहर: अभियन्ता ओली-प्रचण्ड अवसर)