बागलुङ, २४ मंसिर–गत मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान गर्ने र निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने सबैलाई कांग्रेसले धन्यवाद दिएको छ । कांग्रेस जिल्ला कार्यसमिति बागलुङ र पराजित सबै उमेदवारले विज्ञप्ती प्रकाशित गरेर धन्यवाद दिएका हुन् । कांग्रेसले लोकतान्त्रिक आन्दोलनको अभियानमा सधै क्रियाशिल रहने प्रतिवद्धता जनाउदै लोकतान्त्रिक व्यवस्थालाई स्थायीत्व दिन सधै सबै दलहरु प्रतिवद्ध रहने विश्वास पनि व्यक्त गरेको छ । निर्वाचनको प्रचार प्रसारमा खटिएका नेता कार्यकर्ता, यो अभियानमा सहयोग गर्ने सबै मतदाता, पत्रकार, बुद्धिजिवि र सुरक्षाकर्मी समेतलाई धन्यवाद दिइएको हो । कांग्रेसले प्रतिनिधिसभा र प्रदेश सभामा निर्वाचित भएका सबै उमेदवारलाई बधाई र सफल कार्यकालको शुभकामना पनि दिएको हो । विज्ञप्तीमा कांग्रेस सभापति दिपेन्द्र बहादुर थापा, प्रतिनिधिसभाका उमेदवारहरु चम्पादेवी खड्का र निरज पुन, प्रदेशसभाका उमेदवार प्रकाश शर्मा पौडेल, दिपेन्द्रबहादुर थापा, मञ्जेसबम मल्ल र जित शेरचनले हस्ताक्षर गरेका छन् । यसैबीच, मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोजना गरेको बिजयीलाई शुभकामना दिने तथा प्रमाणपत्र प्रदान गर्ने कार्यक्रममा पुगेर कांग्रेस सभापति दिपेन्द्रबहादुर थापाले लोकतन्त्रमा आवधिक रुपमा हुने निर्वाचनमा हारजित भन्दा पनि लोकतन्त्र संस्थागत गर्ने काममा सबै लाग्नुपर्नेमा जोड दिए । उनले निर्वाचनमा आर्थिक चलखेल गरेर जित्ने प्रवृत्तिको अन्त्यका लागि सबै दल मिलेर लड्नुपर्ने समेत बताएका थिए । यो पटकको चुनावमा सबै दलले सौर्हादता देखाएको भन्दै बिस्तारै राजनीतिक संस्कार बढ्दै गएको पनि उनले बताए । उक्त अवसरमा कांग्रेसका तर्फबाट पराजित उमेदवारहरु पुगेर बिजयी उमेदवारलाई खादा र अविर लगाएर सम्मान गरेका थिए ।
Previous Articleकम्युनिष्ट केन्द्रको आवश्यकतामा जोड
Next Article जनमोर्चालाई ‘डिस्टिङसन’