वामको संयुक्त विजयसभा
बागलुङ, २४ मंसिर– बाम गठबन्धनका सबै उमेदवारले जितेपछि बागलुङमा एमाले, माओवादी र राष्ट्रिय जनमोर्चाका नेता तथा कार्यकर्ताले संयुक्त रुपमा बिजय उत्सव मनाएका छन् । बिजयी उमेदवारहरुले जनताको माझमा गएर गरेका प्रतिवद्धता पुरा गर्ने समेत बताएका छन् । कम्प्युनिष्टहरु एक नहुँदा सधै पछाडि परेको भन्दै अबदेखि निरन्तर मिलेर एउटै कम्युनिष्ट बनाएर जानुपर्नेमा पनि जोड दिएका थिए । कार्यक्रममा बोल्दै पूर्वमन्त्री तथा माओवादी नेता दिननाथ शर्माले सबै कम्प्युनिष्टहरु एउटै चिन्ह लिएर चुनाव लड्न पाउनुपर्ने वातावरण बनाउन सबैको पहल जरुरी भएको बताए । ‘म ५५ बर्षको राजनीतिक ईतिहासमा पहिलोपटक खुसी छु’ शर्माले भने, ‘यो खुसी अब परिणाममा आउनुपर्छ, त्यसका लागि नेपालका कम्युनिष्टहरु एक भएर अगाडि बढेको देख्न पाउने अवसर हो ।’
एउटै कम्युनिष्ट केन्द्र बनाएर लड्ने अवसरमा बागलुङको राष्ट्रिय जनमोर्चा पनि आउनुपर्ने बताए । ‘मेरा समकालिन चित्रबहादुर केसी पनि अव बाम गठबन्धनमा मात्र नभई पार्टी एकीकरणमा आउनुपर्छ’ उनले भने, ‘कम्युनिष्ट नेता पुष्पलालको सपना पुरा गर्ने जिम्मा अब सबैको साझा बन्नुपर्छ ।’ कार्यक्रममा माओवादी नेता तथा बिजयी उमेदवार देवेन्द्र पौडेलले जनताको आर्थिक समृद्धिका लागि अगाडि बढ्नुपर्ने बताए । एमालेका पोलिटव्युरो सदस्य गणेश तिमिल्सिनाले बाम गठबन्धनको अगाडि अन्य कुनैपनि शक्तिको दम्ब नचल्ने दाबी गरेका थिए । जिल्लामै फराकिलो मतअन्तरले बिजयी भएका प्रतिनिधिसभा क्षेत्र नं. १ का उमेदवार डा. सूर्य पाठकले जनतालाई कुनैपनि गुनासो गर्ने अवसर नराखी बिकास निर्माणमा लाग्ने बताए । ‘जनताका धेरै आशा र अपेक्षा छन्, तिनीहरुलाई सम्बोधन गर्ने पहिलो जिम्मेवारी हाम्रो काँधमा आएको छ’ पाठकले भने, ‘हामीले पनि आफ्नो आवस्यकता र काम गर्ने लगावलाई जनताको सामु देखाउन सक्नुपर्छ ।’ उनले अर्कोपटक पनि पार्टीलाई पत्याउने अवस्था बनाउन लाग्ने बताए । एमाले जिल्ला अध्यक्ष तथा प्रदेश सभा क का बिजयी उमेदवार इन्द्रलाल सापकोटाले अर्को पटक पालो दिनुपर्ने भएकोले तोकिएको ५ बर्षमै जनताका सबै अपेक्षा पुरा गर्नमा खटिनुपर्ने बताए । उनले जितको उन्माद भन्दा पराजित भएका उमेदवार र फरक आस्था राख्ने सबै मतदातालाई समेत समेटेर जाने बताए । माओवादीका चन्द्रबहादुर बुढाले ग्रामीण जनताको बिकास चाहनालाई समेटेर अगाडि बढ्ने बताए ।
पहिलोपटक राष्ट्रिय जनमोर्चाका नेताहरुले पनि बिकास निर्माणमा आफ्नो प्रयास रहने बताएका छन् । प्रदेशसभामा निर्वाचित भएका राजमोका कृष्ण थापा र टेकबहादुर घर्तीले पनि जिल्लाको बिकास निर्माणमा अग्रणी भूमिका निर्वाह गर्ने दाबी गरेका छन् । सडक, विद्युत र कृषिको विकास तथा पर्यटन प्रवद्र्धन गरेर आर्थिक समृद्धिको खोजी गरिने बताएका हुन् । एमाले सचिव लालबहादुर थापाको संचालन र माओवादीका कृष्ण केसीको स्वागतमा ¥यालीपछिको कोणसभा सम्पन्न भएको थियो । त्यसअघि मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिजयी उमेदवारलाई प्रमाणपत्र वितरण कार्यक्रम गरेर सम्मान समेत गरेको थियो । उक्त अवसरमा मुख्य निर्वाचन अधिृकत प्रकाशप्रसाद पंडितले लोकतन्त्रको मेरुदण्डको रुपमा रहेको निर्वाचनबाट सौहार्द रुपमा नेतृत्व चयन भएको बताए । उनले सबै दलले देखाएको सहज राजनीतिक संस्कारले लोकतन्त्रलाई अझै मजवुत बनाएको पनि बताएका थिए । प्रमुख जिल्ला अधिकारी बिष्णुबहादुर थापाले सुरक्षा चुनौतीलाई दलहरुको सुझबुझ निर्णयले सहज बनाएको बताए । उनले बिजयी सबैलाई बधाई पनि दिएका थिए । पंडितको अध्यक्षता, सहायक निर्वाचन अधिकृत पुरन शर्माको संचालन र जिल्ला निर्वाचन अधिकारी बिकासचन्द्र पौडेलको स्वागतमा सम्पन्न कार्यक्रममा कांग्रेस सभापति दिपेन्द्रबहादुर थापा र बिजयी उमेदवारको तर्फबाट माओवादीका देवेन्द्र पौडेलले बोलेका थिए ।
Previous Article२०७४ मंसिर २४ गते आईतबारको राशिफल
Next Article मतदातालाई कांग्रेसको धन्यवाद