बागलुङ, २७ साउन – पोखरा पुगेर तिर्न बाध्य आयकर घर छेउमा तिर्न पाएपछि बागलुङमा एक बर्षमा १३ करोड २५ लाख कर संकलन भएको छ । करदाता सेवा कार्यालयले आव २०७२/७३ मा ४ हजार करदाता मार्फत उक्त परिणामको राजश्व संकलन गरेको कर अधिकृत डिल्लीराम आचार्यले बताए ।
अघिल्ला बर्षमा ८ करोडको हाराहारीमा उठ्ने कर क्रमश बढीरहेको हो । केही बर्ष अघि सम्म धौलागिरीका करदाताहरुले पोखरा पुगेर तिर्नुपर्ने कर स्थानीय तहमा अवसर पाएका हुन् ।
कार्यालयका अनुसार आय कर ८ करोड १७ लाख १६ हजार १ सय ५५, बहाल कर ६१ लााख ९७ हजार ३ सय ८४ र व्याज कर तर्फ १ करोड ४८ लाख ३५ हजार ३ सय २६ गरी १० करोड २७ लाख ४८ हजार कर संकलन गरेको हो । त्यस्तै अन्तशुल्क२८ लाख ४८ हजार, स्वास्थ्य सेवा शुल्क ७ लाख ९३ हजार र शिक्षा सेवा शुल्क ११ लाख ९४ हजार रुपैयाँ संकलन भएको हो ।
‘आयकर, अन्तशुल्क, घरबहाल करका लागि सेवाग्राही धाउनुपर्ने बाध्यता हटेपछि स्वतस्फूर्त कर संकलन भएको छ’ आचार्यले भने,‘पोखरा जाने भन्दा यहाँ तिर्ने करदाता बढेका छन् ।’ स्थानीय रुपमा सेवा पाएपछि करको दायरा पनि फराकिलो भएको उनले बताए । नगरपालिकाले उठाउने स्थानीय करबाट उठ्ने राजश्व भने यो सेवामा जोडिदैन ।
कार्यालयले हरेक बर्ष मूल्य अभिवृद्धि कर बारे जानकारी दिने, करको दायरामा गएमा पाउने सेवा सुविधाक बारे व्यवसायीलाइ करदाता शिक्षा दिएपछि दायरा फराकिलो भएको हो । जिल्ला उद्योग बाणिज्य संघको सहकार्यमा कर संकलन गरिन्छ । व्यवसायीले दुइ लाख पचास हजार सम्मको आम्दानीमा एकप्रतिशत, तीनलाख पचास हजार रुपैयाँ सम्मको आम्दानीमा १५ र चारलाखबढी आम्दानीमा २५ प्रतिशत कर तिर्नुपर्छ ।
नगरपालिकाले संचालन गर्ने एकीकृत सम्पत्ति कर संकलन र प्रावधानका बारेमा पनि कार्यालयले सहजीकरण गर्दै आएको छ । जिल्लाका शहर उन्मुख क्षेत्रमा पनि कार्यालयले करदाता सेवा शिविर तथा सचेतना अभियान संचालन गरिरहेको हो । अहिले पनि पर्वत र म्याग्दीमा भने करदाता सेवा कार्यालय स्थापना भएको छैन । ती जिल्लाका करदाता अहिले पनि पोखरा गइरहेका छन् ।
धौलागिरीका सबै करदातालाइ अञ्चलबाटै तिर्ने व्यवस्था मिलाउन सकेमा अझै यो संख्या बढ्ने संभावना छ । अन्य सरकारी कार्यालयले सेवा ग्राहीबाट संकलन गर्ने राजश्व भने यो संख्यामा जोडिदैन । उनीहरुले संकलन गरेको राजश्व सोझै राज्यको खातामा जाने गर्छ ।
Previous Articleअधिकांश ग्रामिण सडक अवरुद्ध
Next Article ब्राजिल ओलम्पिक फुटबलको क्वाटरफाइनलमा