म्याग्दी, १९ मंसिर – नयाँ संघिय संरचना अनुसार स्थापना भएका म्याग्दीका स्थानीय तहमा बैंकीङ पहुँच विस्तार हुन थालेको छ ।म्याग्दीमा स्थापना भएका स्थानीय तहका केन्द्रहरुमा विभिन्न बैङ्क तथा वित्तिय संस्थाले शाखा विस्तार गर्न थालेका हुन् । स्थानीय तह मार्फत सञ्चालन हुने विकास आयोजनाका उपभोक्ता समिति, व्यापारी, शिक्षक कर्मचारी र सर्वसाधारणलाई बैंकीङ सुविधाका लागि सदरमुकामसम्म धाउनुपर्ने समस्या हटेको छ ।
नयाँ संरचना अनुसार आर्थिक गतिविधि, व्यापार बढ्न र बजारीकरण हुन थालेपछि बैङ्क तथा वित्तिय संस्थाले ग्रामिण क्षेत्रमा शाखा विस्तार गर्न थालेका हुन् । यसै क्रममा अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा खुलेको गरिमा विकास बैंकको शाखा कार्यालयको मंगलबार उद्घाटन गरिएको छ ।
यसअघि सोही गाउँपालिकाको २ नम्बर वडामा पर्ने भुरुङ तातोपानीबाट सञ्चालन हुदै आएको शाखा पोखरेबगरमा स्थानान्तरण गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बताए । गरिमा बैंकले म्याग्दीको सदरमुकाम बेनीसंगै मालीका गाउँपालिकाको केन्द्र दरवाङ र मंगलाको केन्द्र बाबियाचौर बजारबाट सेवा प्रवाह गर्दै आएको छ ।
म्याग्दीका छ मध्य ४ वटा स्थानीय तहमा बैंकको पहुँच पुगेको छ । प्रभु बैंकले रघुगंगा गाउँपालिकाको केन्द्र पोखरेबगर र धौलागिरी गाउँपालिकाको ताकममा शाखा विस्तारको तयारी गरेको जनाएको छ । राष्ट्रिय वाणिज्य बैंकले द्धन्द्धकालमा दरबाङ बजारबाट विस्थापित भएको शाखा पुर्नस्थापनाको तयारी गरेको छ ।
स्थानीय तहमा बैंकको शाखा स्थापना भएपछि उपभोक्ता समिति, शिक्षक, कर्मचारीलाई तलब बुझ्नका लागि सदरमुकाम पुग्नुपर्ने बाध्यता हटेको र सेवा प्रवाहमा समेत सहजता भएको अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष केशमाया मगरले बताईन । अन्नपूर्ण गाउँपालिका ६ का वडा अध्यक्ष कृष्णप्रसाद बरुवाल र पोखरे प्राविका प्रअ लोकबहादुर बरुवालले बैंकीङीक पहुँच विस्तारसंगै ग्रामीण क्षेत्रमा छरिएर रहेको पुँजी निक्षेपको रुपमा संकलन हुने र उद्यम व्यवसाय गर्नेहरुलाई सहयोग पुग्ने बताए ।
म्याग्दी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष सुबिन श्रेष्ठले स्थानीय तहसम्म बैङ्कको पहुँच पुगेपछि व्यापारीहरुलाई रकम बोकेर जोखिम मोल्दै हिड्नुपर्ने समस्या हटेको बताए । आर्थिक कारोबारका साथै व्यापार व्यवसायमा समेत सहयोग पुगेको उपाध्यक्ष श्रेष्ठको भनाई छ ।
गरिमा विकास बैंकका सञ्चालक चन्द्रकान्त बरालको अध्यक्षता र नायव महाप्रबन्धक माधवप्रसाद उपाध्यायको सञ्चालनमा सम्पन्न शाखा उद्घाटन कार्यक्रममा सञ्चालक कुञ्जराज थापाले हाल ५० वटा शाखा रहेको बैंकले चालु आर्थिक वर्षको अत्यसम्म थप दश वटा शाखा विस्तारको तयारी गरेको बताए ।