बागलुङ, १९ मंसिर – पहिलो चरणको निर्वाचन सकिए पनि मत पेटिकाहरु अझै खोलिएको छैन । निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचन सकिएपछि बल्ल मत पेटिका खोल्ने तयारी गरेको छ । दोस्रो चरणको निर्वाचन सकिएपछि देशभर मतगणना त शुरु हुने छ, तर कसरी ?
निर्वाचन आयुक्त इश्वरीप्रसाद पौडेलले निर्वाचन आयोगमा गरिएको पत्रकार सम्मेलनमा २१ गतेको निर्वाचन सम्पन्न भएसँगै मतगणना शुरु हुने बताए । उनले २१ गते पाँच बजेपछि पहिलो चरणमा निर्वाचन भएका जिल्लाहरुमा मतगणना शुरु गर्न सकिने बताए ।
सोही बमोजिम मुख्य निवाृचन अधिकृत र निर्वाचन अधिकृतहरुलाई परिपत्र भइसकेको उनले बताए । पहिलो चरणमा भएको चुनावको मतगणना २१ गते साँझ पाँच बजेपछि गर्न सकिने छ । दोस्रो चरणको निर्वाचनको मतगणना पनि सोही दिनदेखि सुरु हुने छ । केही प्रक्रियाहरु पूरा गर्नुपर्ने भएकोले दोस्रो चरणको मतगणना सुरु गर्न केही घण्टा ढिलो गरी शुरु हुनेछ ।
आयोगले प्रत्यक्ष तर्फको अन्तिम मत परिणाम ७ दिन भित्रमा र समानुपातिक तर्फको ८ दिन भित्रमा आइसक्ने जनाएको छ । आयोगले सम्भव भएसम्म प्रत्यक्ष र समानुपातिक मतगणना एकै पटक गर्ने जनाएको छ । तर ठाउँ र कर्मचारीको अपुग हुँदै गर्दा प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष तर्फको मतगणना एकै पटक गरिने आयोगले जनाएको छ ।
प्रदेश र प्रतिनिधिको मतगणना पनि एकै पटक शुरु गर्न नसकिएमा पहिले प्रतिनिधिसभा तर्फ प्रत्यक्षको मतगणना गरिने आयोगले जनाएको छ । त्यसपछि प्रदेशको प्रत्यक्षको मतगणना हुने छ । त्यसपछि बल्ल समानुपातिकको मतगणना शुरु हुने छ । पौडेलले मतगणना गर्नको लागि ठाउँ र कर्मचारीको अभाव नभएमा प्रत्यक्ष र समानुपातिकको मतगणना एकै पटक शुरु गरिने बताए ।
यदि ठाउँ र कर्मचारीको अभाव भएमा चाहिँ पहिले प्रत्यक्ष र त्यसपछि समानुपातिकको मतगणना गरिने जनाएको छ । मतगणनामा सबैभन्दा पहिले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको बाक्सा खुल्ने छ । त्यसपछि प्रदेशसभा तर्फको प्रत्यक्षको बाक्सा खुल्ने छ । त्यसपछि प्रतिनिधि सभा समानुपातिक र प्रदेशसभा समानुपातिक तर्फको बाक्सा खुल्ने छ ।
मतगणनामा कुन मतपत्र पहिले गनिन्छ ?
Previous Articleक्लीन स्वीपदेखि विरासत जोगाउने चर्चा
Next Article म्याग्दीका छ मध्य ४ वटा स्थानीय तहमा बैंकको पहुँच