बागलुङ, १९ मंसिर– जिल्लाको बरेङ गाउँ पालिका ३ (साविकको बटाकाचौर गाविसमा) रहेको सत्यावती मन्दिरमा यसबर्ष दश हजार बढी भक्तालुहरुले चिच्चाएर बर मागेका छन् । बागलुङ, पर्वत, गल्मी, स्याङ्जा, म्याग्दी लगायतका जिल्लाबाट सत्यावती पुगेका भक्तालुहरुले रातीको समयमा चिच्चाएर बर मागेका हुन् । परापुर्वकालमा महाशक्ति सत्यावती बराजुले चिच्चाएर बर माग्दा दिनको उज्यालोमा मागेको बर अरु कसैले सुन्ने र बराजुले बर दिन नसक्ने मान्यता अनुसार हरेक बर्षको दिवाली पुर्णीमाको दिन भक्तालुहरु त्यहाँ पुगेर बर माग्ने गरेको बरेङ गाउँपालिका–३ का वडा अध्यक्ष पुर्णबहादुर खनालले बताए । सत्यावतीमा पुगेर रातीमा मागेको बर पुरा हुने बिश्वारले भक्तालुहरु त्यहाँ पुग्ने गरेका छन् ।
सत्यावती बराजु बहिरा रहेकाले चिच्चाएर बर माग्नु पर्ने र बर मागेको अरु कसैले देख्न नहुने मान्यता रहिआएको खनालले बताए । पहिले पहिले हप्तौं लामो बाटो हिँडर सत्यावती पुग्ने गरेका भक्तालुहरु यसबर्ष भने सवारी साधनको प्रयोग गरेर त्यहाँ पुगेका थिए । रातीमा बर माग्नु पर्ने भएकाले अघिल्लो दिन त्यहाँ पुग्नु पर्ने र पुर्णिमाको राती बर माग्नको लागि रातमा लाईन बस्नु पर्ने भएकाले भक्तालुहरुलाइ समस्या हुने गरेको खनालको भनाई थियो । पहिले जस्तो यातायातको समस्या नभएपनि खाना बस्नको लागि समस्या हुने गरेको त्यहाँ पुगेका भक्तालुहरुले बताउने गरेका छन् । हाल सत्यावती जानको लागि बागलुङ बजार हुँदै बाटाकाचौर, बागलवुङ दुदिलाभाटी हुँदै बाटाकाचौर, बागलुङ–कुश्मीशेरा–बरेङहुँदै बाटाकाचौरसम्मको कच्ची सडक सञ्चालनमा रहेकाले समस्या नरहेको उनले बताए । यस बर्ष अन्य बर्षहरुको तुलनामा सत्यावती दर्शनका लागि पुग्नेहरुको संखया बढेको खनालको भनाई छ ।
‘दश हजारभन्दा धेरैले दर्शन गरेर बर मागेका छन्’ खनालले भने ‘मन्दिरमा आउनेहरुको लागी सुबिधा दिन हामीले थप पुर्वाधार निर्माण गर्ने सोच बनाएका छौं ।’ हाल मन्दिर आसपासमा निर्माण गरिएका दुई वटा सामुदायिक भवन बाहेक बस्नका लागी अन्य पुर्वाधार नभएको स्थानिय ज्वालामुखी युवा समुहका सोम शिरीषले बताए । हरेक बर्ष मंसिर पुर्णिमा अर्थात दिवाली पुर्णीमाको दिन मात्रै सत्यावतीमा पुगेर बर माग्ने चलन छ । आदिकालमा सत्यावती बराजुका सात बहिनीमध्ये एक बहिनी बागलुङमा बसेको र उनले रातको समय मागेर भक्तजनहरुलाई बर दिने गरेकाको किंवदन्तीको आधारमा यहि समयमा भक्तालुहरु त्यहाँ जाने गरेको खनालले बताए । पाल्पामा रहेको सत्यावती बराजु, गुल्मीमा रहेको मालिका माईको भने कार्तिक सुक्ल पुर्णिमामा पनि दर्शन गर्न सकिने उनले बताए ।
हरेक बर्ष पुर्णिमाकै दिन पुजा हुने यस मन्दिरमा यसबर्ष पनि नौमति बाजागाजा सहित पञ्चवलीको साथमा मन्दिरमा सत्यवती पुजा गरिएको छ । पुजाको अघिल्लो दिन साविक बाटाकाचौर–८ र ९ वडाका स्थानीय आमा समूह र साग्दी प्राथामिक विद्यालयले बाजागाजा, भजन सहित तोरन तथा फूलपाति भित्राएका थिए । पूर्णिमाको दिनमा अत्यधिक भीड हुने र टाढाका भक्तजनलाई समयमा पुजा गर्ने व्यवस्था मिलाईएको थियो ।