कृष्ण प्रसाद शर्मा
गठबन्धनको चर्चा चलेदेखी आजसम्म बजारमा दुई वटा समाचारका हेडलाईन मात्रै देखिन्छ । एउटा हामीले चुनाव जितेपछि अर्को उनीहरूले चुनाव जिते भने । यि दुई भनाई लोकतान्त्रिक गठबन्धन र बाम गठबन्धनका अहिलेका भाषणको सारांश हो । बामगठबन्धनले गर्दा अहिले आज सम्म घरदैलो नगरेका पनि गर्न बाध्य छन् । काठमाण्डौ क्षेत्र नं १ मा प्रकाशमानले यो भन्दा पहिला दुई पटक जितिसके तर उनी पहिलो पटक अहिले घरघरमा जुससहित पुगेका छन् । यसको कारण एउटा विवेकशील साझाको आक्रमक प्रचार र अर्को बामगठबन्धन । यो सकस गोर्खामा पनि देखियो । बितेका यति बर्षमा पटक–पटक सरकारमा गए पनि खासै उपलब्धी गर्न नसकेकै कारण अहिले साह्रै सकस छ । माधव नेपालदेखी प्रचण्डलाई, सिटौलादेखी रामशरण सम्मलाई अहिले निकै चुनौती छ । हिजो मात्रै शेर बहादुर देउवा घोटा चढेर खोलो पार गर्दै गरेको तस्वीर देखिएको थियो अनि वरिपरि केही मान्छेहरू खास गरी कार्यकर्ताले घोडा डोहोराईरहेका थिए । यसबाट देखिन्छ की बिकास कति भयो भन्ने । अहिले चुनावमा पुष्प कमल दाहाल अलि नरम देखिन्छन् ।
एक पुत्र शोकले पनि हुन सक्छ अर्को चुनावमा पार्टि र आफ्नो अस्तित्व के हुने भनेर होला । तर केपी ओली भने निकै आक्रामक र छेडछाडमा पनि छन् । छोटो समय प्रमको कार्यकालमा राम्रै गरेका केपी ओलीप्रति जनताको आशा र भरोसा पक्कै होला त्यसबाहेक उनले अबको दिनमा खेल्ने भूमिकाबारे पनि जनता हेर्न उत्सुक छन् । शेर बहादुर देउवाले आजसम्म जहाँ–जहाँ भाषण गरे सबै ठाउँमा एकै लबज छ त्यो हो कम्युनिष्ट शासन आए पछि…। उनले हिड्न, डुल्न, रुन, खान बस्नसम्म नपाईने भनेर एक किसिमको डर त्रास देखाएका छन् नकी आजसम्म गरेका कामको । काँग्रेस पुराना पार्टि हो । लामो समय शासन गर्यो तर देखाउने खासै केही भएन मात्र तर्साईरहेको छ । सुशिल कोईरालाको प्रधानमन्त्रित्वमा संविधान बनेको थियो । धेरै पैसा खर्च गरेर लामो समयपछि बनेको संविधानमा आँफुहरूले ठुलो योगदान गरेको र त्यसबाट यो गर्न सकिन्छ भनेर आफ्नो कुरा राख्नु पर्नेमा फजुल कुरामा हिडिरहेको छ । शेर बहादुर देउवा मात्र होईनन् यसपटक प्रदिप गिरी र गगन थापाले पनि बामबन्थीको सरकार आए नराम्रो हुने भनेर भाषण गरेका छन् । यस पटक यी दुबै जना समेत यसरी आत्तिएको देखिन्छ तर उनिहरू त्यो हद सम्मका पक्कै नहुनु पर्ने हो । अहिले देशैभरी काँग्रेसले कम्युनिष्ट सरकार आए यस्तो हुन्छ भन्ने काल्पनिक संसारको डर बाँडेको छ । कुनै बेला कम्युनिष्टले ६० बर्ष पुगेपछि गोली हानेर मार्छ भन्ने सुन्दा डरै लाग्थ्यो तर जब मनमोहनले वृद्ध भत्ताको व्यवस्था गरे सारा प्रचार पानीका फोका भए । अहिले फेरी त्यही स्तरको प्रचार छ । तर कांग्रेसलाई यो थाहा पक्कै छ की यो संविधानमा रहेर अधिनायकबाद आउँदैन ।
उनीहरूलाई भित्री रुपमा बामपन्थीले यो संविधान संशोधन गरेर यसो गर्छन भन्ने शंका भएपनि अपरिर्वतनीय कुरा कसरी फेर्न सकिन्छ र ? यसरी जनता डर देखाउनु झन् घातक हो । भोट फरक पार्टिलाई नहाले पनि मिलेर बस्न सक्ने समाज बनाउनेकी भडाँउने ? केपी ओलीले हालै अन्नपुर्ण पोष्टमा पत्रकार विजय कुमारसँग अन्तरवार्ता दिएर आफ्नो भनाई स्पष्ट राखेका छन् । उनले लोकतन्त्र बाहेकको अरु कुरा गरेका छैनन् । यसकारण पनि नेपालमा बामपन्थीले आकाश खसाल्ने कुरा अर्थहीन हुन । यो संविधानले न त त्रासको परिकल्पना गरेको छ न त गर्न कुनै बाटो नै छ । कांग्रेसले अहिलेसम्म आन्दोलनको नेतृत्व आँफुले गरेको दाबीलाई चुनावमा थप पुष्टी गर्नुपर्नेमा फरक अफवाहका पछि लागेर कार्यकर्तालाई निराश बनाईरहेको छ । अब चुनावको अर्को पाटो जुन बामगठबन्धनको । देशका अधिकांश ठाउँमा जहाँ माओबादी र एमालेसंगै जान्छन् त्यहाँ केपी ओलीलाई नै प्राय बोल्न लगाईन्छ । उनको भनाई पनि यस चुनावमा शालिन छैन । जुन ठाउँमा गए पनि उनको भनाई भनी त्यही छ कम्युनिष्ट शासन आएपछि ..। कतै उनले अब ५० बर्ष कम्युनिष्टले शासन गर्छ भन्दैछन् भने कतै अब कांग्रेसको अन्तिम सरकार हो यो भनेर । उनी अरु नेताको तुलनामा फरक र उच्च सम्मान पाएका नेता हुन कुनै बेला जुन बेला देश नाकाबन्दीले ठप्प थियो । उनले पनि शेर बहादुरकै शैलीमा तर्साईरहेका मात्र छन् । कम्युनिष्ट शासन आयो आयो अब कांग्रेसका दिन गए भनेर ।
माओबादीले पनि केपी ओलीलाई बोल्न छाड्िदने भन्ने नीति नै छ होला जस्तो छ । किन कि एपी वानले गरेको एउटा कार्यक्रममा आर्थिक बिषयमा बहस भईरहँदा त्यहाँ कृष्ण महरालाई प्रश्न गर्दा उनले आँफुले केही मात्र भन्ने र थप केपी ओलीले भन्नुहुनेछ भनेर उनीतर्फ देखाएका थिए । यो भावभङगीले समेत एमाओबादीले केपीलाई अघी सारेको देखिन्छ । केपी ओलीले आफ्नो अन्तरबार्तामा एउटा बिचार दिई सकेपछि पनि फेरी यसो गर्न ठीक पनि थिएन । उनले जुनसुकै कार्यक्रममा गएपनि प्रतिद्वन्दीले व्यङग नै गरेका छन् । बानेश्वरमा विवेकेशील साझालाई समेत मेसी खेलेको ठाउँमा छेउछाउमा खेल्न आएको भनेर ब्यङग गर्न छोडेनन् तर आँफु प्रम हुँदा सुर्यराज आचार्य जो अहिले विवेकशील साझाबाट काठमाण्डौ क्षेत्र नं २ बाट उठेका छन् उनले केही उल्लेखनीय प्रस्ताब गरेर उनको बजेट र बिकासको सपनामा ईटा थपेका थिए तर त्यो भुली सके केपी ओलीले । अन्ततः खासमा यतिका बर्ष सत्तामा रहंदा समेत जनतालाई ढुक्कसँग भन्न सक्ने खालका कुनै उल्लेखनीय काम गर्न नसकेको काँग्रेस र बन्दै गरेको भनिएको बामपन्थी पार्टिले भविष्यमा गर्ने भनि प्रस्तुत दम्भले कसैलाई फाईदा गर्दैन । यी दुबैले मुखिया तवरले जसरी भाषण गर्दै हिडेका छन् यसले दुबै पक्षलाई घाटा छ किन कि बामपन्थीको सरकार आएपनि आखिर जनता यिनै हुन जसलाई सहयोग गर्नैपर्छ अनि शेर बहादुरले पनि अहिले तर्साएर मात्रै पनि भोट दिन्छन् भन्ने नसोच्दा राम्रो होला । यि दुबैका भनाई अति तर्फ उन्मुख छ ।
Previous Articleसत्यावती मन्दिरमा भक्तजनहरुको भिड
Next Article १९ मंसिर २०७४ ढोरपाटन दैनिक