बागलुङ, १९ मंसिर– मंसिर १० गते भएको पहिलो चरणको निर्वाचनमा तुलनात्मक कम प्रतिशत मत खसेको अनुमान छ । स्थानीय तह निर्वाचनमा ७० प्रतिशत मत खसेकोमा यसपटक ६५ प्रतिशत मात्र खसेको हो । कम मत खस्नुमा विद्यार्थीहरुले बिदा नपाएकोले भोट हाल्न नपाएको प्रमुख कारण भएको अनुमान छ । त्यस्तै निर्वाचनमा खटिएका बाहेकका अन्य कर्मचारीलाई पनि बिदा नहुनुले मतदाता कम भएको आंकलन गरिएको छ । दोश्रो चरणको निर्वाचन आगामी बिहिवार सम्पन्न हुँदैछ । त्यो निर्वाचनमा पनि चाहेजति मतदाताले मतदान गर्ने अवसर नपाउने निश्चित छ । बिषेशगरी पहिलो चरणको निर्वाचन हिमाली र उच्च पहाडी जिल्लामा भएको थियो । ती स्थानबाट अध्ययनकालागि गएका अधिकांस विद्यार्थी काठमाण्डौ, पोखरा, चितवन लगायतका शहरी क्षेत्रमा बस्छन् । मंसिर २१ गते ती स्थानमा चुनाव छ तर अघि पछिका दिन बिदा छैन ।
तसर्थ चुनावमा नखटेका कर्मचारीले बिदा नपाएपछि दोश्रो चरणमा पनि मत कम खस्ने निश्चित भएको हो । देशभरबाट राजधानी लगायतका ठूला शहरमा रोजगारीका लागि गएकाहरुको संख्या ठूलो छ । बैदेशिक रोजगारीका लागि गएका झण्डै ४० लाख युवा त यो प्रकृयाबाट वञ्चित भएकै छन् । सरकारले आवस्यकता देखेमा तत्काल बिदा दिने चलन बढेपनि तोकिएका निर्वाचनको समयलाई भने वेवास्ता गरेको गुनासो बढेको छ । ‘अघिल्लो निर्वाचनको दिन मात्र बिदा थियो, त्यसैले बिदा लिनु पर्दा घर जान पाईएन’ स्याङजा घर भई बागलुङको वित्तिय संस्थामा कार्यरत निर्मल नेपालले भने, ‘दोश्रो चरणको निर्वाचनमा यता बिदा छैन, भोट हाल्न जानै नपाईने भयो ।’ आँफू जस्ता सयौंले यसपटक मतदानको अवसर गुमाउने उनले गुनासो गरे ।
कम्तिमा निर्वाचन भएको दिन सबै जिल्लामा बिदा भएको भएपनि धेरैले मतदान गर्ने अवसर पाउने उनले बताए । लोकतन्तमा सबैलाई आफ्नो मत दिने अधिकार रहने कानूनी व्यवस्था छ । प्रदेशसभाका लागि पनि सँगै निर्वाचन भएको र खटिएका कर्मचारी फरक फरक प्रदेशका भएकोले समानुपातिक मत समेत खसाल्न नमिल्ने व्यवस्था आयोगले गरेको छ । समानुपातिकमा एउटै मतपत्रमा प्रतिनिधिसभा र प्रदेशसभाका लागि मतदान गर्ने व्यवस्था छ । सम्बन्धित प्रदेशका कर्मचारीलाई मात्र मतदान गर्ने अवसर दिंदा फरक प्रदेशकालाई विभेद हुने भन्दै आयोगले निर्वाचनमा खटिएका कर्मचारीलाई समेत मतदान गर्ने अवसर नदिएको बताएको छ । अझै मतदान भएका जिल्लामा कार्यरत भएकाहरुलाई निर्वाचन अवधिभरका सार्वजनिक बिदाको दिन पनि काम गर्न भनिएकोले दिक्क भएका छन् । उनीहरुले घर जान नपाएको गुनसो गरेका छन् । ‘निर्वाचन आयोगले राष्ट्रिय पर्वको रुपमा लिएर मतदान गर्नु भनेर भनेको छ, बाहिरका कर्मचारीलाई भोट हाल्न नजाने वातावरण बनाएको छ’ काठमाण्डौ घर भई बागलुङमा काम गर्ने श्यामकृष्ण श्रेष्ठले भने, ‘घर पुगेपनि चुनावको दिन सम्म बस्न नपाएपछि फर्कन बाध्य भएँ ।’
Previous Article१९ मंसिर २०७४, धौलागिरी स्टार साप्ताहिक
Next Article सत्यावती मन्दिरमा भक्तजनहरुको भिड