बागलुङ, १७ मंसिर – निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्याका मुख्य योजनाकार समीरमानसिंह बस्नेतलाई प्रहरीले प्रकाउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले बस्नेतलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो।
बस्नेतलाई यही मंसिर १५ गते चितवनको नारायणगढबाट पक्राउ गरिएको सीआईबीद्वारा महाराजगञ्जमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। विदेशमा बसेर नेपाली व्यवसायीहरुलाई डर धम्की देखाई रकम असुल्दै आएका बस्नेत नेपाल प्रवेश गरेको भन्ने विशेष सुराकीका आधारमा नारायणगढबाट पक्राउ गरिएको सीआईबीका निर्देशक डीआईजी पुष्कर कार्कीले जानकारी दिए।
गौचनका अलावा एमालेनिकट युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या र दावा लामालाई गोली प्रहार घटनाको मुख्य योजनाकारसमेत बस्नेत नै रहेको अनुसन्धानमा खुलेको कार्कीले जानकारी दिए। तिवारी हत्याको जिम्मा मनोज पुनले लिए पनि उनलाई गोली प्रहार गर्ने लोप्साङ लामा बस्नेतकै मुख्य सहयोगी रहेको र सो हत्यामा बस्नेतकै संलग्नता रहेको अनुसन्धानमा खुल्न आएको छ।
हत्या किन ?
गौचन हत्याकाण्ड प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइके कुमार श्रेष्ठ उर्फ घैंटेसँग जोडिएको सीआईबीले दाबी गरेको छ। गौचनको डाँफे कन्स्ट्रक्सनमा शेयर पाउने गरी गजुरमुखी कन्स्ट्रक्सनका मुख्य लगानीकर्ता घैंटेले गौचनलाई २ करोड ५० लाख दिएका रहेछन्। घैंटेको मृत्युपश्चात समीरमानसिंह बस्नेतले घैंटेले गौचनलाई दिएको साढे २ करोडमध्ये १ करोड आफ्नो भएको दाबी गर्दै कुल रकम (२ करोड ५० लाख) बराबरकै शेयर दिन वा पैसा फिर्ता गर्न दबाब दिन थालेछन्। गौचनले दुवै विकल्पमा आनाकानी गरेपछि विवाद बढेको सीआईबीको अनुसन्धानमा खुल्न आएको छ।
यस्तै गौचनले वीरगञ्जदेखि विराटनगर जोड्ने हुलाकी मार्गको ठेक्काबापतको २ प्रतिशत रकमसमेत दिन आनाकानी गरेपछि बस्नेतले हत्याको योजना बनाएको खुलेको डीआईजी कार्कीले जानकारी दिए। बस्नेतसँगै गौचन हत्यामा संलग्न १५ मध्ये ८ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा उनका अलावा वसन्त थेवे, धनराज योङहाङ, राजीव स्याङ्तान, प्रकाश बुढाथोकी, शिवजी महतो, मुकेशकुमार पाण्डे र सन्तोष गुरुङ छन्। मनोज पुन, लोप्साङ लामा, गंगाप्रकाश लिङदेन, श्याम गोम्बे गुरुङ, अमरबहादुर राना मगर, रोशन बुढाथोकी र अजय थापा फरार रहेको प्रहरीले जनाएको छ।
२ थान हतियार बरामद् सीआईबीले बस्नेतसँगै २ थान हतियार बरामद गरेको छ। वसन्त थेरे र धनराज योङहाङ बस्ने घरमा फूलको गमलाभित्र लुकाइ राखिएको अवस्थामा ८ राउण्ड गोलीसहित ९ एमएमको पेस्तोल र २ राउण्ड गोलीसहित अर्को कटुवा पेस्तोल बरामद गरिएको डीआईजी कार्कीले जानकारी दिए।
बस्नेत पक्राउ परेपछि लोप्साङ नाइके !
बस्नेत पक्राउ परेपछि उक्त समूहको नेतृत्व लोप्साङ लामाले सम्हालेको सीआईबीले दाबी गरेको छ। आन्तरिक विवादपछि मनोज पुन उक्त समूहबाट बाहिरिएको बताइएको छ।