पर्वत, १७ मंसिर – ‘पहिलो चुनाव सम्झँदा धेरैवटा गाउँ हिँडेरै पुगिन्थ्यो, अब त प्राय: सबै ठाउँ गाडी पुग्छन्,’ प्रतिनिधिसभाका लागि जिल्लाबाट कांग्रेस उम्मेदवार अर्जुनप्रसाद जोशी भन्छन्, ‘मतदाताको मानसिकता, चुनावी प्रचारको शैली, कार्यकर्ताको भेला हुने तरिका सबैमा परिवर्तन आएको छ ।’
प्रतिनिधिसभाको एउटा सिट रहेको पर्वतमा निर्वाचन क्षेत्र पुन:संरचनाअघि दुई क्षेत्र थिए । जोशीले साबिक क्षेत्र नम्बर १ बाट २०५६ यताका तीनवटै चुनाव जितेका छन् । ६१ वर्षीय यी नेताले प्रत्येकपटक जिते पनि मन्त्री भने हुन पाएनन् । चुनावी भेटघाटमा व्यस्त उनलाई मतदाताले यही प्रश्न सोध्छन्, ‘तपाईं मन्त्री किन हुनुभएन ? बन्न नसक्नुभएको कि पार्टीले नबनाएको ?’ उनको उत्तर सरल छ, ‘एउटा सांसदको हैसियतले जति काम गर्न सकिन्छ, गरेकै छु । मन्त्री बन्दैमा जिल्लाको कायापलट हुने होइन होला ।’
तीनपटक जितिसके पनि उनी पहिलोचोटि उठेका उम्मेदवारझैं प्रचार र मतदाता भेटघाटमा सक्रिय छन् । ‘हाम्रो जिल्ला पहाडैपहाड भएकाले वर्षैभरि यातायात चल्ने सडक, खानेपानी, बिजुली र स्वास्थ्योपचार सुविधा होस् भन्ने सबैको माग छ,’ उनले भने, ‘राज्यले दिन सक्ने र ल्याउन सकिने योजनामा अबका दिनमा अझ बढी काम गर्नुपर्ने अवस्था छ ।’
जोशीलाई यसपटक वाम गठबन्धन उम्मेदवार एमाले जिल्ला अध्यक्ष पदम गिरीको चुनौती छ । स्थानीय चुनावको मतपरिणामलाई आधार मान्दा वाम गठबन्धन निकै बलियो देखिन्छ । जोशी भन्छन्, ‘दलगत आस्था एक ठाउँमा छ, हुनुपर्छ तर जनचाहना विकास हो । जनताले जिल्लामा कसले काम गर्न सक्छ र अगुवाइ कसरी गर्छ भनेर हेरिसकेका छन् ।’
निर्वाचनमा ‘ह्याट्रिक’ गरिसकेका जोशीले अब प्रतिस्पर्धा छाडेर आराम गर्नुपर्ने सुझाव दिन्छन् पदम गिरी । उनी तर्क गर्छन्, ‘तीनपटक जितेर गएका नेताले जिल्लामा ल्याएको विकास बजेट नियमितबाहेक त्यस्तो थप चामत्कारिक केही छैन ।’ २०५४ देखि राजनीतिमा सक्रिय उनी तीन वर्षयता एमालेको जिल्ला अध्यक्ष छन् ।
अनुभवी जोशीका अगाडि ४१ वर्षे गिरीको यो पहिलो चुनावी अनुभव हो । माओवादी–एमाले गठबन्धनसँगै जिल्लाका दुई क्षेत्र एउटैमा रूपान्तर हुँदाको अवस्था आफ्ना लागि अनुकूल बनेको उनको दाबी छ । साबिक क्षेत्र नम्बर १ मा २०४८ यताका सबै चुनाव कांग्रेस र क्षेत्र २ मा ०५६ मा कांग्रेस, ०६४ मा माओवादी र ०७० मा एमालेले जितेका छन् । एउटा मात्रै क्षेत्र भएपछि जहाँ साबिक २ का मतदाता रिझाउन जोशीलाई दौडधुप परेको छ, त्यहीँ माओवादीको पनि साथ पाएर गिरी ढुक्क छन् । क्षेत्र १ मा एमाले र २ मा कांग्रेस बलियो मानिँदै आएका थिए । युवाका मुद्दालाई जोड दिने र स्पष्टवक्ताका रूपमा पार्टीभित्र चर्चित गिरी उत्साही पनि छन् । ‘अहिलेको चुनाव पहिलेजस्तो होइन, वाम गठबन्धन भएकाले हामी सांगठनिक रूपमा बलियो भएका छौं,’ उनले भने, ‘कांग्रेस नेतृत्वसँग असन्तुष्टका मत पनि हाम्रो पक्षमा ल्याउन प्रयासरत छौं ।’
०४७ पछिका सबैजसो निर्वाचनमा यिनै दुई दल आमनेसामने भए पनि एमाले जिल्लाको नतिजामा ढुक्क भएको गत वैशाखको स्थानीय निर्वाचनमा मात्रै हो । जसमा अधिकांश स्थान एमालेले जितेको छ । दुई नगर र पाँच गाउँपालिकाका ६१ वडामध्ये एक नगरसहित चार तह र ३७ वडा एमालेले जितेको छ । एक नगर र दुई गापासहित २० वडामा कांग्रेस र ४ वडामा माओवादी उम्मेदवार चुनिएका छन् । ०५६ को संसदीय चुनावमा कांग्रेस उम्मेदवार हाबी भएका थिए । क्षेत्र नम्बर १ मा जोशी र २ मा कांग्रेसकै डिल्लीराज शर्माले जितेका थिए । ०६४ को संविधानसभामा कांग्रेसले १ र माओवादीले २ नम्बर क्षेत्र जितेका थिए । ०७० मा १ कांग्रेस र २ एमालेले जितेका थिए ।
यसपटक प्रदेशसभातर्फ ‘क’ मा कांग्रेसबाट नवराज गुरुङ र माओवादीबाट नेत्र अधिकारी मुख्य प्रतिस्पर्धी छन् । यस्तै ‘ख’ मा कांग्रेसका राजेन्द्र तिवारी र एमालेका विकास लम्सालबीच कडा टक्कर छ । दोस्रो संविधानसभामा नवराज गुरुङ क्षेत्र २ मा लम्सालसँग १ हजार २८ मतान्तरले पराजित भएका थिए भने जोशीले जितेको क्षेत्र १ मा अधिकारी मत संख्याका आधारमा तेस्रो स्थानमा थिए ।
पर्वतमा अनुभवी जोशीलाई युवा नेता गिरीको टक्कर
Previous Articleनेपालद्धारा केन्या छ विकेटले पराजित
Next Article खुल्यो निर्माण व्यवसायी गौचन हत्याकाण्डको रहस्य