भैरहवा, १७ मंसिर – रुपन्देहीको क्षेत्र नम्बर तीनमा वाम गठबन्धनबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका नेता घनश्याम भुसालले आफ्ना प्रतिस्पर्धीले चुनाव जित्न पैसा बाँडिरहेको आरोप लगाएका छन् । भुसालले आफूसँग प्रतिस्पर्धा गरिरहेका राप्रपाका नेता दिपक बोहोराले मतदाता प्रभावित गर्न पैसा बाँडिरहेको आरोप लगाएका हुन् ।
‘पोल बाँड्ने काम समेत भएको थियो, त्यो त अहिले रोकिएको छ,’ भुसालले भने, ‘तर अहिले पैसा बाँड्ने काम भइरहेको छ भनेर मैलै सूचना पाएको छु ।’ उनले आफूले चुनाव जित्ने बलियो आधार रहेपनि बोहोराले गैह्र राजनीतिक गतिविधि सञ्चालन गरिरहेको आरोप लगाए ।
‘कांग्रेसले मैदान छोडेको अवस्थामा अहिले हामीले सजिलै चुनाव जित्ने अवस्था रहेको छ,’ भुसालले भने, ‘मेरा प्रतिस्पर्धी मण्डले समूहका हुन् । उहाँले लोकतन्त्रको विउ मास्नका लागि हिँजो विहान हरेक प्रकारका गतिविधि गर्नुभएको हो ।’ तर २१ औं शताब्दिका मतदाताले ४२ सालको मानसिकतामा पैसा बाँड्ने नेता भोट दिँदैनन् भन्ने विश्वास आफूमा रहेको भुसालले बताए ।
उनले आजको दिनमा पैसाले मतदाता किन्न सक्ने अवस्था नरहेकोले आफूले सहजै चुनाव जित्ने बताए । स्थानीय चुनावमा पाएको मतका आधारमा एमाले एक्लै पनि अरु भन्दा अघि रहेको र अहिले माओवादीसँग पनि सहकार्य भएकोले आफूले चुनाव जित्ने उनले दाबी गरे ।
भुसालले चुनाव जितेसँगै आफूले राष्ट्रिय एकताको सुदृढिकरण, सम्बृद्ध मुलक र स्थानीय स्तरमा भौतिक विकास तथा मानविय विकासका लागि काम गर्ने बताए । लुम्बिनीलाई अवसरको रुपमा लिएर सोही अनुरुप विकास गर्ने समेत उनले बताए ।
लोकान्तर