तारानाथ आचार्य
बागलुङ, १७ मंसिर – दुई हप्ता भन्दा लामो अन्तराष्ट्रिय लैंगिक हिंसा दिवस मनाईरहँदा जिल्लामा महिला हिंसाको आँकडाले भने दिनदिनै उकालो चढ्दै गएको छ । गत आर्थिक बर्षको तुलनामा जिल्ला अदालत तथा सरोकार राख्ने निकायहरुमा परेका महिला हिंसाका घटनाको उजुरी बढ्दै गएका छन् । गत आर्थिक बर्षको अन्त सम्ममा यो वा त्यो ढंगबाट महिला हिंसाको सिकार बनेका १ सय ७७ मुद्धा दर्ता भएको जिल्ला अदालतमा यसबर्षको पहिलो चौमासिकमा मात्रै ४० मुद्धा दर्ता भएका छन् ।
सम्वन्ध बिच्छेद, बहुबिबाह, जर्बजस्ती करणी, करकाप, घरेलु हिंसा, मानव बेचबिखन र माना चामल लगायतमा मुद्धा बढ्दै गएका हुन् । जिल्ला अदालतको तथ्याङ्कलाई हेर्ने होभने यस आर्थिक बर्षको पहिलो चौमासिकमा सम्बन्ध बिच्छेदका सबैभन्दा धेरै मुद्धा दर्ता भएका छन् । अदालतको आँकडा अनुसार, गत श्रावण १ गतेदेखी मंसिर १३ गते सम्ममा २९ वटा सम्वन्ध बिच्छेदका मुद्धा दर्ता भएको अदालतका सुब्बा दानप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार, पहिलो चौमासिकमा मात्रै ६ वटा जर्बजस्ती करणीका मुद्धा दर्ता भएका छन्भने त्योमध्ये एउटा मुद्धाको फैसला समेत भैसकेको छ । अदालतको तथ्यांक अनुसार, पहिलो चौमासिकमा घरेलु हिंसा १, मानव बेचबिखन १, बहुबिबाह १ र करकाप मुद्धा १ दर्ता भएर फछ्यौटको चरणमा रहेका छन् ।
गत बर्ष अदालतमा दर्ता भएका अधिकांश मुद्धाको फैसला भैसकेको र बाँकी केही फैसलाको चरणमा रहेको शर्माले बताए । गतबर्ष अदलतमा दर्ता भएका जम्मा ४ सय १ मुद्धामध्ये १ सय ७७ मुद्धा यो वा त्यो ढंगबाट महिला हिंसासँग जोडीएको भेटिएका छन् । यता अल्पकालीन महिला सेवा केन्द्रमा समस्या लिएर आउनेको पनि ठुलै लर्को देखीएको छ । गत आर्थिक बर्षको अन्त सम्ममा १ सय १० जना महिलाको समस्यामा समन्वय गरेको केन्द्रमा यस बर्षको पहिलो चौमासिकमा ५१ जना महिलाहरु समस्या लिएर समाधानको खोजीमा आएको केन्द्र प्रमुख शर्मिला थापाले बताईन् । कुटपिट, मानसिक यातना, बहुबिबाह, आर्थिक हिंसा, यौन दुव्र्यवहार तथा जर्बजस्ती करणी, बेबारिसे अवस्थामा फेला, घरनिकाला र नागरिकता नदिएको लगायतका समस्या केन्द्रमा आएको थापाको भनाई छ ।
बिभिन्न बहानामा हिंसाको सिकार बनेका महिलाहरुलाई मिलापत्र, निशुल्क मुद्धा तर्दा लगायतका काम गर्दै आएको केन्द्रले जनाएको छ । केन्द्रमा आएका महिलामध्ये अधिकांशको मिला पत्र हुने र बाँकीको कानुनी उपचार खोज्ने गरिएको थापाले बताईन् । महिलाहरुमा चेतनाको बिकास हुँदै गएकाले पहिले पहिले लुकाएर राख्ने गरेका हिंसाका घटना पनि बाहिर आउन थालेको थापाको भनाई छ ।
कानुनले कडा कार्वाहीको व्यवस्था गर्न नसक्दा बालिकाहरु माथी हुने जर्बजस्ती करणी र बहुबिबाहका घटनामा कमि आउन नसकेको उनले गुनासो गरिन् । महिला हिंसाका घटना बाहिर आउन थालेपछि हिंसा सम्बन्धि घटनाको उकालो लागेको सारोकारवालाहरुको भनाई छ । ग्रामिण तहसम्म चेतनाको बिकासहुँदै जाँदा यस्ता घटनाहरुले न्याय खोज्न थालेको अधिबक्ता राम शर्माले बताए । ‘पहिला जस्तो लुकाएर बस्नु जमाना छैन्’ शर्माले भने ‘संख्यात्मक रुपमा बढेको देखीए पनि घटनाहरुमा भने कमी आएको उनको भनाई छ ।’