म्याग्दी, १४ मंसिर– जिल्लाको अन्नपूर्ण गाउँपालिका–८ मा पर्ने धार्मिक पर्यटकीयस्थल करबाकेलीमा सामुदायिक होटल सञ्चालन गरिएको छ । करबाकेली बाबा संरक्षण समितिले भ्रमणमा आउने पर्यटक तथा भक्तजनका लागि सुविधासम्पन्न होटल सञ्चालनमा ल्याइएको होटल सञ्चालक समितिका सचिव रवी गर्बुजा पुनले बताए । नौवटा कोठा रहेको उक्त होटलमा एक दिनमा २० पाहुना बास बस्न सक्ने क्षमता छ । होटल निर्माणका लागि करिब रु. ४५ लाख लगानी भएको उनले जानकारी दिए ।
उक्त होटलमा आवास, विभिन्न खानाका परिकार, निःशुल्क इन्टरनेट र नुहाउनका लागि तातोपानीको समेत व्यवस्था छ । यसअघि करबाकेलीको दर्शन र अवलोकनका लागि आउने पर्यटक स्थानीयबासिन्दाका घरमा बास बस्ने गरेका थिए । होटल सञ्चालन भएपछि पर्यटक र भक्तजनको आगमन बढ्ने अपेक्षा गरिएको छ । होटलको आम्दानी करबाकेलीको संरक्षण र प्रवद्र्धनमा लगानी गर्ने योजना छ । पुन थरका मगर समुदायको कूलदेवता करबाकेली बाबाको अवसान भएको स्थान मानिने करबाकेलीमा स्थानीय बासिन्दाले करोडाँै रकम लगानी गरेर पूर्वाधार तयार पारेका हुन् ।
स्थानीय प्रविधि र सीपको प्रयोगबाट निर्माण गरिएको मौलिक शैलीको करबाकेलीमा बहुमूल्य धातुका जलप लगाइएको करबाकेली, बिमला, फिमला, रामचन र कुलचनका मूर्ति राखिएका छन् । समुद्री सहतदेखि दुई हजार २०० मिटरको उचाइमा अवस्थित करबाकेलीबाट धौलागिरि, नीलगिरि, माछापुच्छ्रे, अन्नपूर्ण, टुकुचे लगायत १० वटा हिमशृङ्खलाका साथै म्याग्दी र पर्वतका ग्रामीण बस्ती र गुराँसको जंगल अवलोकन गर्न सकिन्छ । करबाकेलीमा पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । त्यहाँ पुन समुदायको दैनिक जीवन, रीतिरिवाज, संस्कृति र रहनसहनमा आधारित सामग्री संकलन गरेर सङ्ग्रहालय स्थापना गरिने भएको छ । यसअघि करबाकेलीमा पूजास्थल, पदमार्ग, सडक र पाँच सयजना अटाउने क्षमताको सभाहल निर्माण गरिएको थियो ।
विसं २०६५ मा करबाकेली अनुसन्धान समिति गठन गरी २०६७ सालदेखि शुरु भएको पूर्वाधार निर्माण कार्यले निरन्तरता पाइरहेको छ । सदरमुकाम बेनीदेखि राहुपारे–महभिर, बैसरी, पर्वतको बाँसखर्क, लेकफाँट र म्याग्दी जिल्ला अन्नपूर्ण गाउँपालिकाको हिस्तान भएर धार्मिक पर्यटकीय स्थल करबाकेली पुग्न सकिन्छ ।
Previous Articleमौरीपालन गरेर वार्षिक लाखौं आम्दानी
Next Article २०७४ मंसिर १४ गते बिहिबारको राशिफल