प्रतिविम्ब
हरिनारायण गौतम
पहिलो चरणको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको मतदान आज विहान ७ बजेबाट सुरु हुदेछ । यो निर्वाचनबाट नै संघिय लोकतान्त्रिक गणतन्त्रको औपचारिक रुपमा कार्यान्वयन हुदैछ । यो विचमा राजनैतिक पार्टी र तिनका नेता जनताको घरदैलोमा आफ्ना प्रतिवद्धतालाई जनताको सपनाको रुपमा बाँडेका छन । दोस्रो चरणका निर्वाचनमा सहभागी हुनेहरुले जनतालाई सपना बाँड्दैछन । पहिलो चरणको निर्वाचनको मौन अवधि पनि सकिएको र मतदान गर्न हरेक नागरिक तयार भएको अवस्थामा मतदान कसलाई र किन गर्ने भन्ने महत्वपूर्ण विषय हो । मौन अवधिपूर्व जेजस्ता आश्वासन, प्रतिवद्धता र घोषणा गरेको भएपनि पनि अव नागरिकले मतदान गर्ने वेला भएकोले गम्भिर रुपमा सोच्नु पर्दछ । घोषणापत्रलाई अध्यन गर्दा अव हाम्रो मुलुक समृद्ध भइहाल्ने भयो भन्ने त सवैलाई लागिरहकै छ । तर सफल कार्यान्यवनका लागि उसका विगतका ब्यवहारलाई पनि निर्भतापूर्वक गम्भिर समिक्षा गरिनुपर्दछ । राजनीति नितान्त सेवा भावले प्रेरित पेशा हो र हुनु पर्दछ । यसलाई ब्यापार, जागिर र स्वार्थमा लैजानेहरुले स्थान पाउनु हुदैन ।
मतदान गर्नुपूर्व नै यी र यस्ता विषयका छिनाफानो गर्नुपर्दछ । त्यही विषयलाई सोच्न नै मौन अवधि छुट्टाईएको हो । हरेक मतदाताले मतदान गर्नुपूर्व आफ्नो चेतना र विवेक प्रयोग गर्नु पर्दछ । त्यसैले मतपत्रमा छाप लगाउनु अघि गम्भीर भएर सोचौँ, आफैलाई प्रश्न गरौंँ म केको लागि मत हाल्दैछु ? किन ? कसको लागि ? राष्ट्र र आफ्नो सन्तानको अनुहार अनि भविष्य एकपट आफै सम्झौँ । हाम्रोे अमूल्य मत राष्ट्र हार्ने, हामी सबै हार्ने र हाम्रो आउँदो पुस्ताको भविष्य हार्ने छाप नबनोस् भन्ने कुरामा ख्याल गरौं । हाम्रो मतले देश नै विश्वको नक्शाबाट हटाउने साधन नबनोस् भन्ने कुरामा ध्यान दिऔं । मतदान गर्ने वेलामा सवैले राजनीतिक पार्टीको भरिया र कार्यकर्ताभन्दा माथि उठेर सोचौँे । नयाँ राजनीतिक संस्कारको थालनी आफैबाट सुरु गरौँ । हाम्रो मत राजनितिक स्थिरताको लागि सक्कली अस्त्र बनोस् भन्ने कुरामा गम्भिर बनौं ।
वास्तवमा यतिवेला आमनागरिक राजनीतिक अस्थिरता, हिंसा अनि सामाजिक बेथिति र अन्यायबाट पीडित छन । हरेक नागरिक यी सबैबाट मुक्ति चाहन्छन् । स्वतन्त्रता र स्वाधीनताको लडाइँ जित्न चाहन्छन । राष्ट्रिय स्वाभिमान चाहन्छन । देशलाई फिजी र सिक्किमकरणको बाटोमा जानबाट जोगाउन चाहन्छन भने हाम्रो अमुल्य मत यसका लागि किन नहुने भनेर मतदान गर्नुपूर्व नै सोच्नु परेन र ? नेता र नेतृत्व सत्ता एवं शक्तिको उन्मादपछि लाग्यो भन्दैमा हामी पनि त्यही बाटोमा त हिड्न भएन नि ? अनि हामीले गर्ने अमुल्य मतदानले त्यसैलाई लाईसेन्स पनि दिनु भएन नि । अहिले हामी सवैको चाहना यो निर्वाचन मार्फत नयाँ राजनीतिक युगको सूत्रपात गर्नु नै हो । यो दिशामा मतदान गर्नुपुर्व नै सोच्नु पर्दछ ।
देशको स्वाधीनता, सम्प्रभुता र भौगोलिक अखण्डताको संरक्षण चुनावको माध्यमबाट गराउन सक्नु पर्दछ । यो चुनाव कसैको जित हारभन्दा पनि आम नागरिक, हाम्रो वर्तमान र अर्को पुस्ताको भविष्य सुनिश्चित गर्ने हुनुपर्दछ र सवै यसै चाहन्छन् । तर, पार्टीको विगत, स्वार्थी, सत्तामोहको चरित्र, यिनको ब्यवहार र झन्डै तीन दशकदेखि जनतालाई भोट बैंकभन्दा माथिको हैसियत दिन नसकिएको अवस्थामा हुन गइरहेको निर्वाचनमा हामीले नै सोच्ने हो । सत्ता केन्द्रित अवसरवादी तालमेललाई परास्त गर्ने हो । तर विगतले हामीलाई झस्काइरहेको छ, आगत पनि त्यस्तै हुने त होइन भनेर । तर निर्मम समिक्षा गर्दै एक पटक आशा र विश्वास गर्नुको विकल्प फेरी हामीसंग छैन । नराम्रोमा पनि कम नराम्रो त छान्नै पर्ने अवस्था आएमा हामीले निर्णय त गर्नै पर्दछ भनेर सोच्नु पर्दछ । सक्षम, इमानदार र दशकौंदेखि पार्टीमा खट्नेहरूलाई पाखा लगाइएको छ भनेर चिन्ता गरेर मात्रै पुग्दैन, त्यो त पार्टी र उसको नेतृत्वको निर्ममता हो, संवेदनहीनता हो । त्यसलाई सच्याउन पनि निर्वाचन मार्फत मतदान गर्ने र खवरदारी गर्ने नै हो । एकपटक विश्वासलाई हेर्नैपर्ने अवस्थामा हामी सवै छौ ।
यतिवेला निर्वाचनको तयारीमा लागेको अवस्थालाई मुल्यांकन गर्दा आम नागरिक विकल्पविहीन बन्नु हुदैन । हाम्रो सामु समसामयिक राजनीतिक परिवेशमा मूलधारका पार्टीको विकल्प तत्कालै देखिदैन । कुनै साना समूह वा गुटले राजतन्त्रको पुनः स्थापनाको वकालत पनि गर्दैछन् तर लोकतन्त्र र गणतन्त्रको अब विकल्प छैन । धर्म निरपेक्षता र संघीयताको बारेमा तत्कालै सोच्न सकिने अवस्था छैन । तर विकल्प नै छैन भन्नु पनि हुदैन । भोली देशले संघियतालाई धान्न सकेन भने विकल्प आउलान भन्नु नै पर्दछ । जसले जे भने पनि नेपालमा राजतन्त्रको स्थान अब संग्राहलय नै हो । सकिन्छ भने अव हामीले राष्ट्रपतीय प्रणालीलाई कार्यकारी बनाउदै अझ सुदृढ र सम्मानित हुने गरी अघि बढ्नु पर्छ । केहीले भरखरै गठन भएको पार्टीले पनि आफुलाई विकल्पका रूपमा प्रस्तुत गर्दैछ भन्छन तर तत्कालको लागि यसले राष्ट्रिय राजनीतिमा विकल्प दिन सक्तैनन् । वहकिएर त्यता पनि लाग्नु हुदैन ।
मतदान हरेक व्यक्तिको राज्य र समाजप्रतिको महान दायित्व हो, अभिभारा हो । राजनीतिक पार्टीहरू र यिनका नेतृत्वमा विचलन आए पनि हरेक पार्टीमा असल नेता, योग्य कार्यकर्ता अझै छन् । हरेक समजमा असल मानीस अझै छन् । समाज त जीवितै छ नि त । हामी चेतनशील समाजले चेतनाले काम गर्नुपर्छ । भोट हाल्नुअघि हजारपटक सोचौँ । अरू विकल्प नै नभएपछि हामीले प्रत्याशी छान्ने मूलधारका पार्टीहरू भित्रबाटै हो । तर, कस्तो छान्ने ? कुन आधारमा छान्ने ? यो ठूलो प्रश्न हो । पार्टीगतभन्दा पनि व्यक्तिको ओज र योग्यता, राजनीतिक संस्कार र अडान, नैतिकवान, खुला समाजमा विश्वास गर्ने र कानुनको शासनको हिमायती प्रत्याशीलाई चुनौ । हरेक पार्टीबाट फिल्टर गरेर असल मान्छेहरूको समूह सदनमा पुराउन सके केही थोरै भए पनि राम्रो काम हुन्थ्यो कि भन्ने सोचौं । असल नपाएमा कम असललाई छानौ । खराब प्रत्याशीलाई त्यागौं । अब हरेक व्यक्ति सामाजिक अभियन्ता र परिवर्तनको संवाहक बन्नुपर्छ । असल व्यक्तिलाई नेतृत्वमा र सदनमा पुराउने गहन दायित्व मतदानको माध्यमबाट हामीलाई नै छ, यो कुरा विर्सनु हुदैन ।
खराब चरित्रका, घोर अवसरवादी, स्वार्थवश आएका नयाँ अनुहार, जागिर छोडेर आएकाहरू, पैसा तिरेर आएकाहरू, व्यापारी, दलाल, भ्रष्टचारी, पार्टी अदलबदल गरिरहनेहरू, मानव अधिकार उलंघनमा मुछिएकालाई सशक्त बहिष्कार गर्नुपर्छ । यिनीहरू कसैका थिएनन्, भोली पनि हुने छैनन् । यीसँग देश र जनताको लागि दिने केही छैन । हामीले यो गर्न सकेनौ भने अर्को पुस्ताले हामीलाई सराप्नेछ । हाम्रो आजको मतदानले, निर्णयले आउँदो पिँढीको भविष्यको निर्धारण गर्दछ । आज हामीले राम्रो स्थिति सुरु गर्यौ भने आउँदो पुस्ताले हामीले जस्तै पटकपटक सामाजिक न्यायको लागि लड्नुपर्ने छैन । हाम्रो अग्रजहरूले गरेको गलत निर्णयहरूको नकारात्मक परिणाम आज हामी भोग्दैछौँ । जातीय र क्षेत्रीय नारा बोकेर आएका प्रत्याशीहरू र विखण्डनवादीलाई सशक्त बहिष्कार गर्नु पर्दछ । नेपाल अखण्ड हो । यो सबैको साझा तपोभूमि हो । विखण्डनवादी, लम्पसारवादी र जातिवादीलाई परास्त गर्नु हामी सवैको दायित्व हो । त्यसैले मतदान गर्नुपूर्व गम्भिरतापूर्वक सोचौं, सम्झौं अनि सक्षम र असल उम्मेदवार र राजनैतिक पार्टीलाई मतदान गरौं ।