महाअभियान मानिएको संघीयता कार्यान्वयनमा लैजाने गरी मुलुकमा पहिलोपटक हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि आज ३२ जिल्लामा मतदान हुदैछ । यही चुनावको सन्दर्भमा दुई दिन बाँकी रहँदा गत बिहीबार राति १२ बजेबाट ‘मौन अविध’ सुरु भएको थियो । तर दुई ठूला गठवन्धनका उम्मेदवारले यो अवधीमा चुनावी प्रचारलाई रोकेनन् र मौन अवधिलाई मानेनन् । यसले गर्दा यही अवधिमा मतदाताहरुसंग बढि नै घुसपैठ भएको चर्चा ब्यापक भयोे । मौन अवधिको महत्व नवुझ्दा मतदातालाई खरिदविक्री गर्नेसम्मका विषयले चर्चा पाईरह्यो । पार्टी र उम्मेदवारका सवारी साधान गुडीनै रहे । आचारसंहिताले प्रतिनिधिसभाका प्रत्यक्षतर्फका उम्मेदवारले चारवटा चारपांग्रे हलुका सवारी, चारवटा मोटरसाइकल र प्रदेशका प्रत्यक्ष उम्मेदवारले दुईवटा चारपांग्रे हलुका सवारी, चारवटा मोटरसाइकल प्रयोगको मात्रै अनुमति छ, तर उम्मेदवारले दर्जनौंको संख्यामा चारपांग्रे र सैयौंको संख्यामा मोटरसाइकल दुरुपयोग गरेबाटै आचारसंहिताको धज्जी उड्यो । निर्वाचनलाई प्रभावित गर्ने गरी भएका क्याविनेट निर्णय र मन्त्रीले सरकारी गाडी दुरुपयोग गरेर प्रचारमा हिँडेकोले पनि मौन अवधि मयार्दित रहन सकेन ।
निर्वाचन आचारसंहिताले ज्याकेट, टिसर्ट, गम्छा वा अन्य कुनै किसिमको पहिरन वा स्टिकर, लोगो, भएका झोला प्रयोग, बिक्री र प्रदर्शन गर्न रोक लगाएको छ । तर चुनाव चिन्हवाला टिसर्ट लगाएका पार्टीका कार्यकर्ता मतदातालाई प्रभावित पार्ने गरी पर्याप्त संख्यामा देखिए । एउटा दलले त चुनाव चिन्हवाला चकलेटसमेत बाँडेको भेटियो । मौन अवधिमा नै बागलुङको गल्कोट नगरपालिका हटियास्थित नुवाकोट केन्द्र वरीपरी नै माइकिङसहित प्रचार भएको खवरले त निर्वाचन अधिकृत नै चकित भएको खवर सार्वजानिक भयो । आचारसंहिता उल्लंघन हुने गरी मतदान केन्द्र वरपर नै तोरणसमेत झुन्डइएका भेटिए । निर्वाचन आयोगले आचारसंहिता जारी गर्ने तर त्यसलाई कार्यान्वयन गराउन समबन्धित जिल्लाका निर्वाचन र मतदान अधिकृतहरुले तदारुकता नदेखाउने या त्यसप्रति लाचार बन्ने गरेकाले यस्तो अवस्था आएको हो । आचारसंहिता उल्लंघन गरे कैद, जरिबाना र उम्मेदवारी रद्दसम्मका प्रावधान भएपनि आयोगले अहिलेसम्म त्यस्तो कदम चालेको देखिएन । जसले गर्दा यो निर्वाचनको मौन अवधिमा आचरणहीनता वढि नै मौलाएको देखियो ।
वास्तवमा मौन अवधि मतदातालाई आफ्नै विवेकमा भर पर्न दिन छुट्ट्याइएको शान्त समय हो । कुनै गम्भीर निर्णय गर्नुपूर्वको संवेदनशील अवस्था हो । प्रचार अवधिमा आमजनताले अनेक खालका प्रचार, तडकभडक र आश्वासन भोगेका हुन्छन् । यस्तो अवधिमा मतदातामाथि एक खालको दबाब पनि हुन्छ । दर्जनौं उम्मेदवार र प्रचारकको नमस्कार, चिल्ला कुरा र वाचाले मतदाता अलमलमा रहन्छन् । तर मतदानपूर्वको ४८ घन्टामा मतदातामाछथि त्यो दबाब पर्नु हुन्न । कुन उम्मेदवार र दल आफ्नो र राष्ट्रको हित गर्ने हो, कसका मुद्दा उचित छन् भनेर मतदाताले गम्भीर रुपमा सोचेर उचित निर्णयमा पुग्न नै मौन अवधिको परिकल्पना गरिएको हो । पढेका र सुनेका विचार, धारणा तथा प्राप्त पर्चा र चर्चाका आधारमा कसलाई आफ्नो सेवक चुन्ने भनेर सोच्ने समय यही हो । यसर्थ मौन अवधिलाई मयार्दित बनाउन, सबै दल, उम्मेदवार, कार्यकर्ता, मिडिया र आम जनता लाग्नुपर्नेमा त्यसो भएको पाईएन । आगामी दिनमा यसतर्फ समबन्धित सवैपक्ष सचेतापूर्वक लाग्नुपर्ने पाठ अहिलेको मौन अवधिबाट सिक्नु पर्दछ ।
Previous Articleमतदान गर्नु अघि सोचौं
Next Article बनाइयो अपाङ्गमैत्री दुई मतदान केन्द्र