बागलुङ ८ मंसिर – निर्वाचनको मुखैमा सरुवा भएर आएका जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक हिमालय कुमार श्रेष्ठले व्यक्तिको परिवर्तनले सुरक्षामा असर नपर्ने बताएका छन् । उनले प्रहरी सहित सुरक्षा निकायको तोकिएको कार्यदिशामा काम गर्ने भएकाले निर्वाचन लक्षित सुरक्षालाई अझै मजबुत बनाइने बताए । पत्रकारहरुसँग शुक्रबारको भेटघाटमा श्रेष्ठले यस्तो बताएका हुन् ।
निर्वाचनको मुखमा सुरक्षा प्रमुखको सरुवाको बिषयमा उठेका प्रस्नहरुको जवाफ दिंदै श्रेष्ठले ब्यक्तिको परिवर्तनले प्रहरीको पद्धतिमा चल्ने काममा कुनै पनि असर नगर्ने स्पष्ट पारेका हुन् । प्रहरी सेवा निजामति सेवा जस्तो नभएको भन्दै उनले चेन अफ कमाण्डमा चल्ने प्रहरीले प्रद्धतिको आधारमा काम गर्ने बताए । ‘सिस्टम बनेको छ हामी चेन अफ कमाण्डमा चल्छौं’ श्रेष्ठले भने ‘कुनै एक ब्यक्तिको नयाँ वा पुरानो हुँदैमा सुरक्षामा कमि आउँदैन् ।’ उनले जिल्लाबासीलाइ ढुक्क भएर मतदान गर्न आग्रह गरेका छन् । जिल्लाको सुरक्षा ब्यवस्थामा कुनैपनि कमि हुन नदिने भन्दै आसन्न निर्वाचन सफल बनाउन सुरक्षा निकाय सचेत रहेको बताए ।
जिल्लामा भैरहेका सुरक्षा चुनौतीहरुलाइ कम गर्न प्रहरीको सकृयता बढाउन निर्देशन दिएको उनको भनाई थियो । उनले बिहिवार गलकोट क्षेत्रको भ्रमण गरिसकेका छन् भने शुक्रवार पनि निर्वाचनको अन्तिम तयारी र सबै मतदान केन्द्रको सुरक्षा बारे जानकारी राखेको बताए । ‘हाम्रो सहयोगको लागी सेना र ससस्त्र प्रहरी पछाडी छ’ श्रेष्ठले भने जिल्लाका सबै ठाउँमा सुरक्षाको अनुभुती हुने गरी सुरक्षा योजना बनाएका छौं ।’ उनले जिल्ला सुरक्षा समितीले बनाएको योजना अनुसारनै काम अघि बढ्ने पनि प्रष्ट पारे । यस अघि जिल्ला प्रहरी प्रमुख रहेका प्रहरी उपरिक्षकको सरुवापछि श्रेष्ठ बागलुङ आएका हुन् ।
निर्वाचन सुरक्षाका लागि सबै नगरपालिकामा प्रहरी नायव उपरिक्षकको नेतृत्व, गाउँपालिकामा प्रहरी निरिक्षकको नेतृत्वमा सुरक्षा व्यवस्था मिलाइएको उनले बताए । त्यस्तै राजनीतिक दल, नागरिक अगुवा र संचारकर्मीको बुझाइमा एकरुपता ल्याउन सकेमा सुरक्षामा सफलता पाउन सकिने पनि बताए ।
हरेक चुनौती सबै मिलेर सामना गर्न तयार भएमा निर्वाचन सामान्य रुपमा सम्पन्न हुने पनि उनले बताए । उनले नैतिक बल, अनुशासन, प्रहरी आचरण, निश्पक्षता र आर्थिक पारदर्शीतामा आँफु दृढ भएको पनि दावी गरेका छन् । बहुचर्चित रुपा गौतम हत्या काण्डको दोषी पत्ता लगाउने बिषयमा निर्वाचन पछि मात्र लाग्ने बताएका छन् । हरेक प्रहरी प्रमुख आउँदा हत्या काण्डको प्रश्न उठ्ने भएकोले ध्यान दिने उनको भनाई छ ।
व्यक्ति परिवर्तनले सुरक्षा योजना फेरिंदैन-प्रहरी उपरिक्षक श्रेष्ठ
Previous Articleपर्यवेक्षकको भूमिकाले निर्वाचनको बैधता-पण्डित
Next Article निर्वाचनमा खट्दैछन ६४ हजार नेपाली सेना