बागलुङ, ८ मंसिर-मुख्य निर्वाचन अधिकृत प्रकाश प्रसाद पंडितले निर्वाचनलाई स्वच्छ र धादलीरहित बनाउने अभियानमा पर्यवेक्षकको भूमिका महत्वपूर्ण हुने बताएका छन् । आइतवार हुने निर्वाचनको पर्यवेक्षणका लागि आम निर्वाचन पर्यवेक्षण समिति जियोक नेपालले खटाउन लागेको टोलीलाई निर्देशन दिंदै पंडितले स्वतन्त्र आ“खाको अभावमा निर्वाचन परिणमको बैधानिकता समेत असंभव हुने भन्दै आग्रह र पूर्वाग्रहमा नलागी पर्यवेक्षण गरिदिन पनि आग्रह गरे । जियोकले जिल्लामा १६ जना पर्यवेक्षक खटाउने भएको जिल्ला संयोजक राम शर्माले बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बिष्णुबहादुर थापाले सुरक्षा प्रवन्ध चुस्त बनाइएकोले सबै मतदाता ढुक्क भएर मतदान गर्न जान सक्ने बताए । उनले आफ्नो अमूल्य मत सबैले दिन पाउने व्यवथापन भएको र आवस्यक पर्दा उमेदवारदेखि मतदाता समेतलाई सुरक्षाकर्मी उपलब्ध गराउने व्यवथा पनि भएको उनले बताए । सुरक्षा दृष्टीले केही संवेदनशिल मानिएका स्थानमा पनि पर्याप्त व्यवस्था भएको थापाको दावी छ ।
उक्त अवसरमा जियोकका राष्ट्रिय सदस्य चिरन्जिवि खनालले पर्यवेक्षकले हेर्ने सकारात्मक आखानै निर्वाचनको स्वच्छताको आधार भएको बताए । उनले दल बिशेषको आग्रहमा काम गर्न खोज्ने भएमा पर्यवेक्षणमा बस्न नमिल्ने स्पष्ट पारेका थिए । आचारसंहितालाई सबैले पालना गरेको खण्डमा स्वतन्त्र, स्वच्छ, विश्वसनिय निर्वाचन सम्पन्न हुने, मुठभेडहरु नियन्त्रण हुने, खर्चको नियन्त्रण भएर उमेदवारलाई समेत सहज हुने, सरकारी श्रोत साधनको दुरुपयोग रोक्न सकिने, अवाञ्छित प्रभाव नियन्त्रण गर्न समेत यो संहिताले सहज हुने बताइएको थियो । बरिष्ठ अधिवक्ता सरिता दाहालले पनि पर्यवेक्षकहरुका लागि प्रशिक्षण दिएकी थिइन् ।
पर्यवेक्षणमा लाग्नेहरु समेत आफ्नो मतदान केन्द्रमा मत दिनेहरु भएकोले आग्रहमा जान सक्ने भएकोले स्वतन्त्र भएर काम गर्न लगाइने शर्माले बताए । मतदानको थालनी, मतदानको अवधिभर भएका क्रियाकलाप र मतदानपछिको अवस्था समेत पर्यवेक्षकले अनुगमन गर्न पाउने व्यवस्था छ ।
सुरक्षा टोलीको भ्रमण
आइतवार हुने निर्वाचनको अन्तिम तयारीको क्रममा प्रधानसेनापति राजेन्द्र क्षेत्रीले शुक्रवार बागलुङका केही मतदान केन्द्रको अनुगमन गरेका छन् । क्षेत्रीले पश्चिमी क्षेत्रका बोहोरागाउ लगायतको स्थानमा निरिक्षण गरेका हुन् । अनुगमन तथा निरिक्षणको क्रममा महालेखा नियन्त्रण कार्यालयका सचिव सिताराम गौतम सहितको टोली पनि जिल्ला र अञ्चलको अनुगमनमा खटिएको छ ।
नेपाल प्रहरी र सशष्त्र प्रहरीका नायव महानिरिक्षकले पनि बागलुङको अनुगमन गरेका छन् । आसन्न निर्वाचनमा सुरक्षा थ्रेटको रुपमा केही स्थानमा बिष्फोट भएपछि सुरक्षा सर्तकता बढेको हो । शुक्रवार सबै मतदान केन्द्रमा सर्वदलीय बैठक बसेर सहज निर्वाचन सम्पन्न गर्ने निर्णय समेत भएकोले ढुक्क भएर मतदान गर्न जान आग्रह गरिएको प्रजिअ बिष्णुबहादुर थापाले बताए ।