बागलुङ ८ मंसिर – आगामी प्रदेशसभा र प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली सेनाले ६४ हजार भन्दा बढि सैनिकलाई खटाउने भएको छ। निर्वाचन प्रयोजनका लागि कूल ६४ हजार २० जना सैनिक खटिनेछन्। यति ठूलो संख्यामा खटिने फौज मतपत्र छपाई सुरक्षा, निर्वाचन सामाग्री ढुवानी, कारागार तथा विमानस्थल सुरक्षा लगायत निर्वाचन सुरक्षाको लागि तेस्रो घेरामा रहि आवश्यक अन्य सुरक्षा प्रदान गर्नेछ। निर्वाचन सम्बन्धी कतिपय काममा फौज खटिइसकेको पनि छ।
सैनिक जंगी अड्डाका अनुसार निर्वाचनमा खटिने फौजले पहिलो तथा दोस्रो चरणको निर्वाचनको लागि आवश्यक मतपत्र छपाईमा सुरक्षा प्रदान गर्नुको साथै पहिलो चरणको निर्वाचनको लागि नेपाली सेनालाई तोकिएका स्थानहरुमा मतपत्र ढुवानी कार्य सम्पन्न गरिसकेको छ।यसैगरी दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामध्ये अधिकांश जिल्लामा मतपत्र ढुवानी कार्य सम्पन्न गर्नुको साथै बाँकी रहेका केही जिल्लाहरुमा मतपत्र ढुवानी कार्य पनि गरिरहेको छ ।
सरकारले नेपाली सेनालाई कारागार तथा विमानस्थलको सुरक्षाको जिम्मेवारी पनि दिएको छ। त्यसअनुसार सेनाले ५३ वटा कारागारहरु र २३ वटा विमानस्थलहरुको सुरक्षार्थ फौज तैनाथ भईसकेको जंगी जनाएको छ। उसले भनेको छ, ‘निर्वाचनलाई शान्तिपूर्ण तथा भयरहित वातावरणमा सम्पन्न गराउन निर्वाचनमा सुरक्षाको तेस्रो घेराको जिम्मेवारी नेपाली सेनालाई प्राप्त भएकाले संवेदनशीलतालाई दृष्टिगत गरी गुल्म तथा प्लाटुनस्तरको बेश स्थापना गरी सुरक्षा प्रदान गर्ने कार्यमा नेपाली सेना परिचालित भइसकेको छ।’