गुल्मी, ६ मंसिर– केन्द्रीय राजनीतिक वृत्तमा वैचारिक नेताको छवी बनाएका एमाले सचिव प्रदीप ज्ञवाली आफ्नो निर्वाचन क्षेत्र गुल्मी १ का मतदताको घरदैलोमा चुनावी अभियान चलाइरहेका छन् । मृदुभाषी यी नेता मतदाताबीच उति हल्का आश्वासन बाँड्ने नेतामा पर्दैनन् । राजनीतिलाई फेदबाटै सङल्याएपछि विकृति स्वतः कम हुँदै जाने र विकासलाई सस्तो प्रचारबाजीको विषयबाट जनताले अनुभुती गर्ने विकास आउने विश्वास गर्दारहेछन् उनी । अरु भन्दा भिन्न उनको चुनावी अभियानमा त्यसैले माला र खादाको भरमार प्रयोग देखिंदैन । मतदाताको घरघरै जान्छन्, हालखवर सोध्छन् र आशिर्वाद लिएर हिंड्छन् । गुल्मीलाई समृद्ध बनाउन भने उनले आफ्नै योजना बनाएका छन्, जुन उनले आफ्ना समर्थकहरुको भेलामा सुनाउने गरेका छन् । गुल्मी सदरमुकाम तम्घस र रेसुङ्गा नगरपालिकामा आयोजित कार्यकर्ता भेलामा उनले संविधान कार्यान्वयनको चरण पार गरेपछि मुलुकले समृद्धिको दिशा लिने वताए ।
जिल्लामा उनले अगाडि सारेका स्थानीय योजनामा भौतिक पूर्वाधारको विकास, कालीगण्डकी करिडोर, रेसुङ्गा बिमानस्थल, रिडी–तम्घास सडक लगायत छन् । रेसुङ्गा विमानस्थल ज्ञवाली पर्यटन मन्त्री भएकै बेला सुरु भएको परियोजना हो, जुन अन्तिम चरणमा पुगेको छ । यसका अलावा सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, स्वरोजगार, युवा उद्यमशीलता, पर्यटन र कृषिको क्षेत्रको विकास गर्ने उनका योजना छन्, जुन वाम गठबन्धनको घोषणापत्रले प्राथमिकतासाथ अवधिक योजनाकै रुपमा उठाएको छ ।
‘कालीगण्डकी करिडोर निर्माण गरेर हामी यहाँका उत्पादनलाई वजारिकरण गर्ने प्रयासमा छौं, ज्ञवालीले मतदाताबीच भन्ने गरेका छन्, ‘रिड़ी–रुद्राबेनी– वामी सडक पिच गरेपछि त्यसले यहाँको जीवनस्तरमा नयाँ परिवर्तन ल्याउँछ । रेसुङ्गा एयरपोर्ट संचालन, सालझण्डी–तमघास सड़क सम्पन्न, धार्मिक पर्यटन सर्किट, रेसङ्गामा केबुलकार निर्माणजस्ता कार्यक्रम हामीसँग छन् । यसले जीवनस्तरमा सहजता ल्याउँछ ।’ यस्तै ज्ञवालीले धार्मिक तथा ऐतिहासिक स्थल रुरुधामदेखि पूर्तिघाट सम्मको करिडोर सडकलाई जति सक्दो छिटो कलोपत्रे गर्न मुख्य प्रथामिकता राखिने वताएका छन् । उनले अब पहिलो चरणमा २० हजार जनतालाई प्रत्यक्ष लाभ लिनेगरी शेयरधनी बनाई लाभन्वित हुने खालको योजनामा लगानी गरिने पनि बताए । जिल्लामै स्वरोजगारीको अवसर बृद्धि गर्न यस्तो गर्न लागिएको उनको भनाई छ । गौतम वुद्धको जन्मस्थल लुम्बिनीमा आउने पर्यटकलाई रुरु र रेसुङ्गासम्म तान्नेगरी पर्यटन क्षेत्रको विकासमा जोड दिने उनको योजना छ । ठूला आयोजनाहरु जसले जिल्लामा दीर्धकालीन प्रभाव पार्न सक्छन् तिनलाई जिल्लामा भित्र्याउने उनका चुनावी एजेण्डा छन् ।
उनले भने ‘बुटवल पाल्पा तम्घासको सडकमा हरेक वर्ष दर्जनौं पटक सडक अवरुद्ध र दुर्घटना हुने भएकोले बैकल्पिक मार्गका लागि छलफल गरिरहेका छौं ।’ उनले सिमीचौर विमानस्थल अवको एकवर्ष भित्र पूर्ण हुनेगरी काम अगाडि बढेको र बुटवल तम्घास सडको लागि सुरुङमार्ग लगायतको भरपर्दो विकल्प दिने प्रतिवद्धता जनाएका छन् ।