हरिनारायण गौतम
अव विस्तारै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान कार्यान्वयनमा जादैछ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन समपन्न भएपछि संविधानसभाबाट बनेको नेपालको संविधानले राजनैतिक स्थायित्वसहित पहिलो खुड्किलो पार गर्ने अवस्थामा छ । यसअघि भएको स्थानीय सरकारको निर्वाचनले संविधान स्थायित्वका लागि आधार प्रदान गरेको थियो । मुलुक संविधान कार्यान्वयनको चरणमा प्रवेश भइरहदा यही संविधान अन्तरगत भएको निर्वाचन प्रक्रियाले भने केही प्रश्नहरु उठाएको छ । निर्वाचनका सन्दर्भमा देखिएको चरम विकृतिले यो संविधानको भविष्यमाथि नै प्रश्न खडा गर्नुपर्ने अवस्था पनि सिर्जना भएको छ ।
यतिवेला निर्वाचनको माहोल छ तर कुनै पनि मतदाता सही कुरा गर्दैनन् । त्यसमा पनि समाजका अनेक क्षेत्रका चलाखहरू त प्रत्येक उम्मेदवारको नाडी छाम्न ब्यस्त देखिन्छन् । उम्मेदवारको क्षमता, चरित्र र पृष्ठभूमि, राजनीतिक दलको इतिहास, उसले गरेको योगदान, परिवर्तनका समयमा उसको भूमिका, दलले लिएको आदर्श, सिद्धान्त, रणनीति र कार्यक्रम अनि प्रस्तावित कार्ययोजना हेर्ने फुर्सद कसैलाई पनि छैन । क्षणिक स्वार्थका लागि आममतदाता कुदिरहेका देखिन्छन । राजनैतिक कामको समिक्षा कतैबाट पनि भएको देखिदैन । संलग्नता र सम्पर्कले मात्रै सवै कुराको छिनोफानो हुने अवस्था सिर्जना हुदैछ । जिल्ला तहमा भएको निर्वाचनको आजसम्मको सरसर्ती समिक्षा गर्ने हो भने राजनैनिक दलका उम्मेदारहरु सवैभन्दा पहिला आफ्नै दलका नेता, कार्यकर्ता र सदस्यहरूलाई फकाउनमा बढी समय विताइरहेका छन । सार्वजनिक सभाहरूमा मानिस जम्मा भए पनि ती सर्वसाधारणलाई पछाडिबाट नियन्त्रण गर्ने सम्बन्धित दलका नेता, कार्यकर्ता र समाजका टाठाबाठाहरूको अपेक्षा र भूमिका फरक फरक छ । तर यो कुरा कुनै पनि दृश्यमा आउने देखिदैन । आफ्नो पार्टीका नेतालाई थर्काउने, उम्मेदारसंग बार्गेनिङ गर्ने, भने अनुसार भएन भने म पनि देखाइदिन्छु भन्दै घुर्कि लगाउने औसतमा विगतमा भन्दा बढि भइरहेको देखिन्छ । यसले गर्दा निर्वाचन आयोगले तोकेको सीमाभन्दा अत्याधिक अझ भनौ १२–१५ गुणा बढी नै निर्वाचन खर्चको सम्भावना देखिन्छ ।
राजनैतिक दलका उम्मेदवार र निर्वाचन परिचालन गर्ने नेताहरुलाई नजिकबाट निहाल्ने हो भने निर्वाचनमा अभियान सञ्चालन गर्न आउने खर्च, विभिन्न सहरमा बसेका मतदाता संकलन गरी मतदान क्षेत्रसम्म पु¥याउने खर्च, प्रत्येक मदतान केन्द्रका लागि छुट्टाउने बुथ खर्च, कार्यकर्ता चलाउन नेतालाई दिईने ठूलै खर्च, युवा परिचालनका नाउमा प्रत्येक गाउमा पुग्ने खर्च र असन्तुष्टलाई शान्त पार्नेसमेतको हिसाव कितावको दृश्य आम नागरिकको कल्पना वाहिरको कुरा हो, जुन प्रत्येक उम्मेदारले निजीरूपमा खर्च गर्नै पर्ने देखिन्छ । जिल्ला जिल्ला र निर्वाचन क्षेत्रमा देखिने यी दृष्यहरु वास्तवमा आम नागरिकका सपनाका वाधक हुन । यसो हुनुका धेरै कारण हुन सक्छन तर राजनैतिक दलले खर्च गर्ने नाममा तोकिएका उम्मेदार नै प्रमुख कारकका रुपमा देखिन्छ । धनवाद र डनवादका नाममा ख्याति कमाएकाहरुलाई राजनैतिक दलले टिकट दिएपछिका खर्च हेर्ने अवस्थामा निर्वाचन आयोग पनि देखिदैन । दलका नेताहरु नै असल र योग्यभित्र नगई निजी स्वार्थमा टिकट दिन लालयित भएपछि त्याग, साधना, निष्ठा, निरन्तरता केही पनि चाहिँदो रहेनछ भन्ने आम रुपमा देखिएको छ । राजनीतिक दलले उम्मेदवारी चयन गर्न तयार पारेको मापदण्डले समेत व्यक्तिको बेइमानी र विद्रोहलाई प्रोत्साहित गरिरहेको देखिन्छ । धेरै स्थानमा उम्मेदवारहरूको व्यवहारले समेत असन्तुष्टि बढाएको हुनाले विद्रोही मतदाताहरू बढाएको छ । कार्यशैलीका कारण नै व्यक्तिलाई अविश्वसनीय र अपारदर्शी बनाउन पुगेको देखिन्छ । राजनैतिक दलका समानुपातिकतिर हेर्ने हो भने सकेसम्म परिवारका सदस्य, नालनाताका आफन्त, कामदार जस्तो भएर सेवा गर्नेहरू, फरियावाद, गुटलाई मलजद गर्ने उद्धत, दलाली गर्न माहिर ब्यक्तिहरु नै पहिलो लिष्टमा परेका छन ।
एउटामात्र होइन, ठूला पार्टीमा रहेका प्रभावशाली नेताहरूका परिवारले प्राप्त गरेका उम्मेदवारीले यसको पुष्टि हुन्छ । यसले गर्दा बहुदल भनेको केही नेताका केही परिवारका सदस्यको विर्ता जस्तो हुन पुगेको छ । दल र नेताहरुको यस्ता कार्यबाट राजनीतिक अपसंस्कृति मौलाउने निश्चितप्राय छ । ब्यवस्थालाई असल बनाउन, राजनीतिलाई स्वच्छ र संस्कारयुक्त बनाउन राजनैतिक दल र यसका नेताहरुले नै प्रयास गर्नुपर्ने हुन्छ । लोकतान्त्रिक गणतन्त्रको पहिलो अभ्यासको समयदेखि नै राजनीतिक संस्कारलाई दलहरुरूले आफ्नो दैनिकीमा राख्नुपर्ने थियो । तर यसतर्फ कसैको पनि ध्यान पुगेको देखिदैन । लोकतन्त्रको मूल्य र मान्यतालाई जीवन्त राख्न निर्वाचनको भूमिका महत्वपूर्ण हुन्छ । निश्पक्ष निर्वाचनमा नै लोकतन्त्रको सौन्दर्यता लुकेको हुन्छ । वास्तवमा निर्वाचनमा दिने उम्मेदवारी, उम्मेदवारको चरित्र, लोकतन्त्र वा पार्टीका सिद्धान्तप्रतिको निष्ठा, उसले वरण गरेको सामाजिक चरित्र, आर्जित आर्थिक हैसियतको आधार, राजनीतिक पृष्ठभूमि वा राष्ट्रिय योगदान आदिलाई मूल्यांकन गरी पारदर्शी बनाइनुपर्ने थियो । तर यो निर्वाचनमा कानुनले अपराधी ठहराएका, अवाञ्छित कर्म गरी सामाजिक छवि गुमाएका सामु लामो राजनीतिक जीवन बिताएका, संघर्ष र आन्दोलनमा आफ्नो सर्वस्व स्वाहा पारेका, जेलनेल यातना सहेकाहरू निरीह जस्ता हुन पुगेका छन् । ठूला राजनीतिक दलका अनेक उम्मेदवारहरू समाजमा आतंक फैलाउने विषयमा नाम कमाएकाहरू छन् । डनका उपाधिले ख्याति कमाएकालाई राजनीतिक नेतृत्वको निजी स्वार्थमा उम्मेदवार बनाएपछि त्याग, साधना, निष्ठा, निरन्तरता केही पनि चाहिँदो रहेनछ भन्ने देखिएको छ । राजनीतिलाई फोहोरी खेल प्रमाणित गर्ने यस अभ्यासले भविष्यमा लोकतन्त्रलाई दुर्नाम गराउने प्रष्ट छ । आर्थिक क्रयविक्रयको खेल उम्मेदवारीको टिकट वितरणमा देखिनुलाई लोकतन्त्रमा सुखद मान्न सकिदैन । यसको अलवा कतिपया क्षेत्रमा दिइएका उम्मेदवारीमा अत्यन्त स्वच्छ र निष्कलंकहरूको संख्या पनि छ । समाजमा इमान्दार देखिएका स्वच्छ र निष्कलंकमध्ये कतिपयले राजनीतिक संस्कारलाई वरण गर्दै राजनीतिबाट नै बिदा लिएका छन् भने कतिपयले राजनीतिमा फरक रुपमा प्रस्तुत हुन थालेका पनि छन ।
यसपटकको निर्वाचनमा राजनीतिलाई संस्कारयुक्त बनाउने भन्दै जित निश्चितप्राय रहेका नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले उम्मेदवारी नदिएर संस्कार बनाउन खोजेका छन भने राजनीतिलाई लोकतान्त्रिक संस्कार र मानव अधिकारयुक्त बनाउनुपर्छ भन्ने मान्यता राख्ने दमन ढुंगानाले उम्मेदवारी भएका छन् । २०४८ सालमा सभामुख रहँदा ढुंगानाले लोकतन्त्रको अभ्यासमा संसद्को सन्दर्भ उठाउँदै सरकार सत्ता पक्षको र संसद् प्रतिपक्षको हो भन्ने मान्यता नै स्थापित गरेका थिए । निश्कलंक रविन्द्र अधिकारी, राजन भट्टाराई, राजेन्द्र राई, इन्द्रलाल सापकोटा, चन्द्रवहादुर वुढा जस्ता युवा नेताहरु पनि समाजका लागि उदाहरणीय हुन सक्छन् । उनीहरु ब्यक्ति स्वार्थमा कहिल्यै पनि लागेनन् । अव युवाहरुबाट धेरैले विश्वास गरेका छन र लोकतन्त्रलाई संस्कारयुक्त बनाउन लाग्नेछन भन्ने आशा पनि राखेका छन । तर लोकतन्त्रमा विरुप वन्दै गएको निर्वाचन पद्धतिबाट उनीहरु जस्ताको सघर्षले सार्थकता पाउन सक्छ या सक्दैन गम्भिर प्रश्न भने कायम नै छ । अव दलहरुको सख्या घट्ने अवस्था निश्चित जस्तै छ भने राजनैतिक दृष्टिकोण वदलिन्छ कि वदलिदैन भन्ने कुरा राजनैतिक वृतमा महत्वपूर्ण चासोको विषय बनेको छ ।
निर्वाचनका वेला गरिने भाषणमा मात्रै विश्वास गर्ने हो भने लोकतन्त्रलाई सुदृढ बनाउन दलहरु प्रतिवद्ध देखिन्छन । तर उनीहरुको ब्यवहार त्यो दिशामा अगाडि वढ्नेमा पक्का छ भन्ने कुरामा विगतका गतिविधिले गर्दा विश्वास गरिहाल्ने अवस्था भने छैन् । यसर्थ पनि निश्कलंक र स्वच्छ छवी भएका युवाहरुप्रति अरु वढि नै विश्वास देखिन्छ आमनागरिकको । यसलाई बचाई राख्नुपर्ने वर्तमानमा परिणाममुखी ब्यवहार अहिलेको अनिवार्य आवश्यकता हो । यसतर्फ नै सवै सचेत पक्ष लाग्नु पर्दछ ।
Previous Articleचुनावि सभा प्रशिक्षण र घरदैलो गर्दै कांग्रेस
Next Article नियमविपरित काम नगरौं