गत शनिवार पर्वतको आर्थरमा भएको यात्रु बस दुर्घटनामा २ जनाले ज्यान गुमाए भने तीन दर्जनभन्दा बढि घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ८ जना गम्भीर घाईते छन् । उनीहरुको अवस्था चिन्ताजनक रहेको प्रहरी तथा घाईतेका आफन्तहरुले बताईरहेका छन् । पञ्चासे क्षेत्रमा ठुली एकादशीको दिन सद्बिज छर्न गएका भक्तालुहरुलाई बोकेको बस सडकबाट तल खस्यो र धनजनको क्षति भयो । बस के कति कारणबाट दुर्घटना भएको हो भन्ने बिषयमा प्रहरी वा सारोकारवाला निकायले अनुसन्धन गर्ला र निचोड निकाल्ला तर आमजनमानशले भने अत्याधिक यात्रुहरुका कारण बस दुर्घटनामा परेको आँकल गरिरहेका छन् । धौलागिरीका प्रायः कच्ची सडकहरुमा गुड्ने सवारी साधनमध्यको बस बढिमा ३०÷३५ जनासम्म यात्रु अट्ने खालका हुन्छन् । साना बस सिमित सिट तर यातायात व्यवसायीको मौकामा चौका हान्ने प्रबृत्तिका कारण बसमा सबारहरुको संख्या भने क्षमताले धान्नै नसक्ने गरी हुने गरेको छ । कच्ची सडकमा रहेको सिण्डीकेट प्रणाली र सहज रुपमा यात्रुहरुले यातायातका साधान प्रयोग गर्न नपाउँदाको कारण सिमित सवारीमा कोचाकोच गरेर यात्रुहरु यात्रा गर्ने गरेका छन् । सर्वसुलभ यातायातको अभाव र कुनै पर्व वा राष्ट्रिय उत्सवका पर्वहरुमा यातायात ब्यबसायीले उठाउन खोज्ने फाईदाका कारण दुर्घटनाले ठाउँ पाई रहेका छन् ।
आफ्नो साधनको क्षमताको ख्यालै नगरी जथाभावी यात्रु राखेर हिड्ने अनि दुर्घटना भएपछि सडक, सवारी चालकलाइ दोष जति थोपरेर आफु उम्किने यातायात ब्यवसायका कारण पनि दुर्घटनाको जोखिम बढेको हो । अर्कोतर्फ जनधनको क्षति हुने गरेर भएका दुर्घटनाको पनि सामान्य केरकारबाहेक अनुसन्धान गरेर दोषीलाइ कार्वाही नगर्ने सरोकारवालाको लाचारीपनका कारण क्षमता भन्दा धरै यात्रु राखेर दुर्घटनाको संघारमा लैजानेले प्रश्रय पाईराखेको कुरा हाम्रो समु जगजायर छ । अकस्मात हुने दुर्घटनालाई कसैले पनि रोक्न सक्दैन । तर आवस्यकता र क्षमताभन्दा धेरै यात्रु राखेर हुने दुर्घटना, चालकले मदिरा सेवन गरेर हुने दुर्घटना र अनावस्यक प्रतिस्पर्धाका कारण हुने दुर्घटनालाई न्युनिकरण गर्न सकिन्छ । सरोकार राख्ने निकाय मुकदर्शक नबने हो र यातायात ब्यबसायमा लागेकाहरु यात्रुको जिउधनको सुरक्षाका लागी जिम्मेबार बन्ने होभने यस्ता खालका दुर्घटनामा कमी आउने कुरामा शंका छैन् ।
दुर्घटना भईसकेपछि त्यसको कमजोरी पक्षलाई खोजेर राज्यले कार्वाही गर्न सक्नुपर्दछ । त्यो मात्रै हैन दुर्घटनाका कारणको पहिचान गरी त्यस सम्बन्धी जनचेतनामुलक कार्यक्रम सञ्चालन समेत गर्न जरुरी छ । एक त कच्ची सडक खाल्डा–खुल्डीको समस्या अर्को तर्फ हेलचक्राई र जर्बजस्तीका कारण कच्ची सडकमा धरै हुने गरेका दुर्घटनाको कमी गर्दै सर्वसाधारणको जिउधनको रक्षा गर्न उपभोक्ता आफै पनि सचेत र चनाखो बन्न जरुरी छ । हतारमा यात्रा र जर्बजस्ती सवारीको प्रयोगका कारण भएका दुर्घटनाको स्थलगत अवलोकन तथा अनुसन्धान गरी त्यसबाट आएको नतिजा सर्वसाधारण सामु प्रस्तुत गर्न सके त्यसले सर्वसाधरणमा चेतनाको विकास गर्न सक्छ । सडक दुर्घटनाबाट बच्न नियम बिपरितका कार्य नगरौं र नगराऔं ।
Previous Articleलोकतन्त्र र पार्टीप्रतिको निष्ठा
Next Article २०७४ मंसिर ३ गते आईतबारको राशिफल