बिनोद बिबश
विभिन्न आरोह–अवरोह तथा सर्वाेच्च अदालतको फैसला पार गरेर आइसकेपछि अब देशमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुने निश्चित भयो । पहिले कायम रहेका निर्वाचन क्षेत्र गाँभिएपछि र शीर्ष नेताहरु दुई वटा ठाउँहरुबाट चुनाव लड्न नपाउने भएपछि सबै जिल्लाहरुमा नेताहरुबीच हेभीवेट प्रतिस्पर्धा हुँदैछ । चुनावको मुखमा मात्रै गाउँमा फर्किने भएपनि यसपालिको निर्वाचनमा शीर्ष नेताहरुबीच नै कडा प्रतिस्पर्धा हुने भएकाले निर्वाचन रोचक हुने देखिन्छ । अझ यसैमाथि पनि एक दुई दिन अगाडिसम्म ‘जानी–दुश्मन’ रहेका वाम दलहरु मिलेर चुनावी गठबन्धन गरेर सँगै चुनाव लड्नुले प्रजातान्त्रिक शक्तिहरुलाई मात्र झक्झकाएन, आम नेपाली जनताहरुलाई समेत चकित पारिदियो । आउँदै गरेको निर्वाचन सबै दलहरुका लागि आफ्नो अस्तित्वको लागि संघर्ष हो । राष्ट्रिय प्रजातन्त्र पार्टी, मधेसवादी दलहरु, नयाँ शक्ति पार्टी र साझा विवेकशील पार्टीहरु आफ्नो दमदार प्रस्तुती देखाउन चाहन्छन् भने नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र आफ्ना पुराना मतदाताहरुलाई रिझाएर नेपाली राजनीतिमा आफ्नो दबदबा कायम राख्न खोजिरहेका कारणले पनि आसन्न निर्वाचन कुनै चलचित्र भन्दा कम हुनेछैन । आगामी मङ्सिर १० गते ३२ जिल्लाहरुमा प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन हुँदैछ भने बाँकी जिल्लाहरुमा मङ्सिर २१ गते निर्वाचन सम्पन्न हुनेछ । प्रतिनिधि सभा निर्वाचनमा शीर्ष नेताहरुबीच टक्कर हुने कुरा त स्वभाविक नै थियो तर धेरैजसो शीर्ष नेताहरु प्रतिनिधि सभा छोडेर प्रदेश सभामा उठ्न खोजेपछि प्रदेशमा पनि दह्रो टक्कर हुने र मुख्यमन्त्रीको लागि त अझै चुनौतीपूर्ण प्रतिस्पर्धा हुने कुरा सजिलै आँकलन गर्न सकिन्छ । कुनैपनि नेतालाई अहिले चुनाव जित्न त्यति सजिलो छैन, निकै मेहनत र परिश्रम गर्नुपर्ने देखिन्छ ।
प्रचण्ड भर्सेस पाण्डे
स्थानीय तहको निर्वाचनमा रेणु दाहालको अप्रत्यासित जितका कारण अत्तालिएका एमाले नेताहरु यतिबेला भने माओवादी अध्यक्ष प्रचण्डका लागि चितवन–३ मा भोट मागिरहेका छन् । अध्यक्ष प्रचण्डसँग राप्रपाका विक्रम पाण्डे प्रतिस्पर्धी बनेर उत्रिदैछन् । पाण्डे वहालवाला वन तथा भूसंरक्षण मन्त्री पनि हुन् । चितवनमा पाण्डेको राम्रो पकड भए पनि नेपाली काँग्रेसका मतदाताहरु धेरै नभएका कारण र एमालेले स्थानीय तहको निर्वाचनमा भएको तिक्तता मेटाएर प्रचण्डलाई समर्थन गर्ने भनिरहेका कारण उनको जित केही सहज छ तर जनयुद्धकालका घटनाहरुको कारणले भने मतमा केही कम हुन सक्ने देखिन्छ ।
ओली भर्सेस खगेन्द्र
झापा–५ मा वाम गठबन्धनको तर्फबाट उमेदवार बनेका नकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई यसपटक नेपाली कांग्रेसका डा. खगेन्द्र अधिकारीले टक्कर दिँदैछन् । विश्वप्रकाश शर्मालाई उठाउने भनिए तापनि उनी पछि हटेपछि १३ वर्ष काठमाडौँको त्रिचन्द्र क्याम्पसमा अध्यापन गरेका अधिकारीलाई उम्मेदवार बनाइएको हो । समुदायमाझ केही परिचित भएपनि त्यस्तो राजनीतिक छवि नभएको प्रतिस्पर्धी भएका कारणले के.पी. ओलीलाई पनि चुनाव जित्न सहज देखिन्छ ।
देउवा भर्सेस भट्ट
एउटा मात्रै निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा प्रतिनिधिसभाको लागि नेपाली काँग्रेसका तर्फबाट वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा र वाम गठबन्धनका तर्फबाट खगराज भट्ट प्रतिस्पर्धा गर्दैछन् । दुईपटक देउवासँग पराजित हुँदापनि पुनः निर्वाचन क्षेत्र डडेल्धुरा रोजेका भट्ट पनि माओवादी केन्द्रका भद्र नेताका रुपमा परिचित छन् । स्थानीय निर्वाचनको मतलाई आधार मान्ने होभने वाम गठबन्धनको भोट नेपाली काँग्रेसको भन्दा आठ हजारले बढी छ । स्थानीय तहको निर्वाचन र प्रतिनिधिसभाको निर्वाचन फरक भएकोले नतिजा यताउता पर्ने हुन्छ । प्रधानमन्त्री देउवा विजयी हुनको लागि जुनसुकै तरिका अपनाउन पछि पर्दैनन् तर पनि यो चुनाव जित्नको लागि उनलाई धेरै नै परिश्रम गर्नुपर्ने देखिन्छ ।
बाबुराम भर्सेस नारायणकाजी
अहिले त्यस्तो कुनैपनि ठाउँ छैन, जहाँ चुनावको कुरा भइरहेको नहोस् । अझै त्यसैमाथि पनि रोचक प्रतिस्पर्धा गोरखा क्षेत्र नं २ मा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठको चुनावी प्रतिस्पर्धाले त देशको माहोल नै तताइरहेको छ । केही समय अगाडिसम्म एउटै पार्टीमा समान अहोदामा रहेर संघर्ष गरिरहेका दुवै जना हेभीवेट नेता एकै ठाउँबाट चुनाव लड्ने अड्डी कसेपछि बाबुरामलाई वाम गठबन्धनबाट बाहिरिन बाध्य बनायो । गोरखाको विकासका लागि आफू नै चाहिने दाबी गरिरहेका दुवै नेताहरुमध्ये भट्टराईलाई नेपाली काँग्रेसको समर्थन छभने नारायणकाजीलाई एमालेको समर्थन छ । पछिल्लो समयमा नयाँ शक्तिका धेरै जनताहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेपनि सर्वसाधारणहरुले गोरखाको विकासका लागि आफूलाई चुन्नेमा बाबुराम विश्वस्त छन् । गोरखाको विकास बाबुरामले नभई माओवादीले गरेको टिप्पणी गरिरहेका नारायणकाजी श्रेष्ठ र भट्टराईबीच कडा प्रतिस्पर्धा हुने त छँदैछ, यसले नतिजा पनि रोचक दिनेछ र मतअन्तरमा धेरैको फरक नपर्ने अनुमान छ ।
वामदेव भर्सेस सञ्जय
बर्दिया १ मा आसन्न प्रतिनिधिसभाको लागि वाम गठबन्धनका तर्फबाट वामदेव गौतम र नेपाली काँग्रेसका सञ्जय गौतमबीच प्रतिस्पर्धा हुँदैछ । २०६४ सालको संविधानसभा निर्वाचनमा माओवादीका उमेदवारबाट पराजित भएका वामदेव गौतमले २०७० सालको निर्वाचनमा माओवादी उमेदवारलाई नै पराजित गरेका थिए । कम्युनिष्टहरुको वर्चस्व भएको वर्दियामा यो पटकको निर्वाचनमा पनि वामदेवको जित सजिलै हुने अनुमान धेरैको छ ।
रामचन्द्र भर्सेस किसान
तनहुँ १ मा प्रतिनिधि सभाको लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेका कृष्णकुमार श्रेष्ठ ‘किसान’ प्रतिस्पर्धा गदैछन् । नेपाली काँग्रेसकै गोविन्दराज जोशीले उमेदवारी दिएपनि निर्वाचन आयोगले जोशीको उमेदवारी खारेज गरिदिएपछि तनावमुक्त बनेका पौडेललाई चुनाव जित्न त्यति सहज भने हुने छैन । वाम दलहरु बीचको गठबन्धन र आफ्नै पार्टीका नेता तथा कार्यकर्ताहरुबाट पनि अन्र्तघात हुने ठूलो सम्भावना छ । पार्टीका कार्यकर्ताहरु र मतदातालाई रिझाउन सके पौडेलले सहज जित निकाल्ने सम्भावना त छ तर उनीविरुद्ध गोविन्दराज जोशीको समूह लागिपरेको हुनाले जित्ने सम्भावना कम छ ।
प्रकाशमान भर्सेस रविन्द्र
नेपाली काँग्रेसको गढ मानिदै आएको काठमाडौँ क्षेत्र नं १ बाट प्रतिनिधिसभाको लागि नेपाली काँग्रेसका तर्फबाट प्रकाशमान सिंह र वाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका युवा नेता अनिल शर्मा प्रतिस्पर्धामा छन् । यतिबेला भने पत्रकारबाट नेताको दौरानमा रहेका रविन्द्र मिश्रको नाम काठमाडौँमा चर्चित र लोकप्रिय बनेको छ । भर्खरै स्थापना भएको साझा पार्टी र विवेकशील पार्टीको एकतापछि बनेको साझा विवेकशील पार्टीबाट उम्मेदवार बनेका रविन्द्र मिश्र आफ्नो ग्यान्ड इन्ट्री चाहन्छन्, जसले गर्दा प्रकाशमानको भोट कम हुने आँकलन सजिलै गर्न सकिन्छ । बाबु गणेशमान सिंहको राम्रो पकड मानिएपनि यो क्षेत्रमा प्रकाशमानको जित सुनिश्चित जस्तै छ तर रविन्द्र मिश्रको कारणले मत भने घट्नेछ ।
सिटौला भर्सेस लिङ्देन
नेपाली काँग्रेसले राजेन्द्र लिङ्देनलाई समर्थन गर्दै समानुपातिकमा कृष्णप्रसाद सिटौलाको नाम राखेपनि प्रत्यक्ष निर्वाचन लड्ने चाहना राखेर सिटौलाले उम्मेदवारी दर्ता गराए । वाम गठबन्धन समेतको समर्थन लिएका राप्रपाका लिङ्देन र एक्लै चुनावमा होमिएका काँग्रेसका सिटौला झापा क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा प्रतिस्पर्धा गर्दैछन् । बाम गठबन्धन र राप्रपाको सहयोगमा लिङ्देनले सजिलै जित्ने हुनाले चुनावलगत्तै सिटौलाको राजनीतिक करिअर समाप्त हुने धेरैको विश्लेषण छ । तर समानुपातिकमा आफ्नो सिट सुरक्षित हुँदाहुँदै पनि प्रत्यक्ष चुनाव लड्न सिटौलाले देखाएको तत्परता र परिश्रमले उनलाई कहाँसम्म पु¥याउने हो, त्यो चाहिँ हेर्न बाँकी नै छ ।
महत भर्सेस तामाङ
आगामी मङ्सिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नुवाकोट १ मा प्रतिनिधिसभाको लागि पुरानै अनुहारहरुबीच रोचक प्रतिस्पर्धा हुँदैछ । नेपाली काँग्रेसको तर्फबाट पूर्वअर्थमन्त्री रामशरण महत र वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य हितबहादुर तामाङ प्रतिस्पर्धामा छन् । दुवैजना हेभीवेट नेता भएकोले चुनावी लडाइँ बलियो हुनेछ । पटक–पटक नुवाकोटबाटै जितेपनि रामशरण महतलाई यो चुनाव जित्न सजिलो छैन । पछिल्लो समयमा नुवाकोटको विकासमा चासो नदेखाएको र विभिन्न प्रकरणमा मुछिएकोले महतलाई पराजित गर्नेमा तामाङ ढुक्क छन् । २०६४ सालपछि निरन्तर नुवाकोटको लागि लडिरहेका हितबहादुर तामाङले कडा परिश्रम गरे नुवाकोट अहिले वाम गठबन्धनको कब्जामा हुने निश्चित छ ।
अन्त्यमा, निर्वाचन पहिलो चरणमा होस् वा दोस्रो चरणमा । दुवै चरणमा हेभीवेट नेताहरुबीच टक्कर हुने भएकोले प्रतिस्पर्धा रोचक हुन्छ । अझै त्यसमाथि पनि चुनावको मुखमै आएर बनिरहेका गठबन्धनहरु र एकअर्काको समर्थनका कारण पनि निर्वाचन विशेष बन्ने कुरा सजिलै अनुमान गर्न सकिन्छ । प्रतिनिधि सभातर्फ मात्रै नभएर प्रदेशसभा निर्वाचन र मुख्यमन्त्रीको चयन त झनै रोचक हुनेछ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वमन्त्रीहरु गगन थापा, जनार्दन शर्मा, वर्षमान पुन, कृष्णबहादुर महरा लगायत धेरैजसो शीर्ष नेताहरुले चुनावमा विजय हासिल गर्नको लागि पनि निकै प्रतिस्पर्धा हुने देखिन्छ । पार्टीका सबै शीर्ष नेताहरु लगायत पूर्वमन्त्रीहरु पनि प्रत्यक्ष निर्वाचनमा अग्रसर देखिएकोले प्रतिस्पर्धा ‘हेभीवेट’ बन्नेमा दुइमत नै छैन ।
Previous Articleकाठेखोलामा चुनावी अभियान
Next Article तिन पार्टीका अध्यक्षको समृद्व नेपाल बनाउने उद्घोष