बागलुङ, १ मंसिर –आसन्न निर्वाचनलाई लक्षित गरेर बाम गठबन्धनले बागलुङको गलकोटमा चुनावी सभा सम्पन्न गरेको छ । सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी गलकोट पुगेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाल अब समृद्ध बन्ने युगमा प्रवेश गरेको भन्दै बाम गठबन्धनको बहुमतमार्फत बन्ने सरकारले देशको मुहार फेर्ने दावी गरे । दिगो विकास, सुशासन, कृषिको आधुनिकीकरण जस्ता बिषयको प्रत्याभूति दिने बताए । साथै ओलीले सामाजिक सुरक्षा भत्ता बढाएर ५ हजार पु¥याउने समेत बताए ।
राष्ट्रिय स्वाधिनताको पक्षमा लाग्नेलाई हेरेर मतदान गर्न उनले आग्रह गरे । देशमा कम्युनिष्टहरुको सरकार आएमा अधिनायकबाद नभई आर्थिक समृद्धि आउने ओलीले दावी गरे । ‘चुनाव जित्न नसक्ने भएपछि कांग्रेसले अधिनायकबाद आउँछ भन्दै आरोप लगाईरहेको छ’ ओलीले भने, ‘बाम गठबन्धनको सरकारले संयुक्त राष्ट्रसंघका मूल्य मान्यता सहितको उत्कृष्ट लोकतन्त्र प्रस्तुत गर्नेछ ।’ उनले दुवै क्षेत्रका उमेदवार बिजय भएको घोषणा भैसकेको दाबी गरेका थिए । सशष्त्र द्वन्द्वका समयमा भएका घटना बिर्सेर अगाडि बढ्न भन्दै ओलीले घाईतेको निशुल्क उपचार गर्ने बताए । घाईतेको शरिरका गोली सरकारले निकाल्छ अब हिजो के भएको थियो भनेर रिसराग लिने बेला होइन भन्दै पिडितलाई उपचारमा सहयोग गर्ने दावी गरेका छन् ।
ओलीले राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पनि चुनाव पछि आफ्नो नीति फेरेर संघियता पक्षधरको पार्टीमा आउने दावी गरे । ‘चुनावपछि रातो कार्पेट बिच्छ्याउँछौं, आउनुहोस संगै काम गरौं ।’ सरकारमा नजाने नीति फेरेर आफु प्रधानमन्त्री भएको समयमा केसीले साथ दिएको भन्दै उनले प्रसंसा गरे । बागलुङमा एमाले र माओवादीले राजमोसंग पनि चुनावी तालमेल गरेको छ । कार्यक्रममा आएका माओवादी अध्यक्ष पुष्पकमल दाहालले स्थायी सरकारको पक्षमा आफू रहेको बताए । उनले स्थायी सरकारकै अभावमा देशले विकासको बाटो लिन नसकेको भन्दै ७० बर्षको अस्थिर सरकारको भूमरीबाट उम्कनका लागि बाम गठबन्धन गरेको दाबी गरेका छन् । उनले चुनौतीका बीच संविधान बनाएर देशलाई समृद्धिको दिशामा लैजान खोज्दा पनि शक्ति केन्द्रहरुले अवरोध गर्न खोजेपछि बाम गठबन्धनहुँदै संयुक्त कम्युनिष्ट केन्द्रको निर्माणमा लागेको बताए ।
शान्ति सम्झौताको हस्ताक्षरकर्ता भएकोले मलाई यो देशको समृद्धिका लागि जिम्मेवारी भएको पनि दाबी गरे । दाहालले कांग्रेसका नेताहरु साझी राखेर गिरीजाप्रसाद कोइरालाले दिएको अभिभारा पुरा गर्ने अभियानमा हिँडेको पनि उनको दाबी छ । उनले कांग्रेसको भविष्य सकिएको भन्दै आलोचना पनि गरे । बहुमतको बामपन्थी सरकारले देशलाई समृद्धिमा लैजान थाल्यो भने ५० बर्षसम्म कांग्रेस माथि उठ्न नसक्ने पनि उनले बताए । एमालेका तत्कालिन महासचिव मदन भण्डारीसंग भएको कुराकानीले मुर्तरुप नलिदैं इतिहास पछि परेको भन्दै अब भने पार्टी एकता गरेर छाड्ने बताए । राजमो अध्यक्ष चित्रबहादुर केसीले भ्रष्टाचार अन्त्य र राज्यको सेवा सुविधा सहज रुपमा पाउने व्यवस्थाका लागि बाम गठबन्धन गरेको बताए । बाढी पिडितलाई अहिलेसम्म राहत नदिएको भन्दै केसीले कांग्रेसी सरकारले केही गर्न नसकेको आरोप लगाए ।
‘अब सधै कांग्रेसको रजाई चल्दैन’ केसीले भने, ‘राज्यले शिक्षा, स्वास्थ्य र आधारभूत आवस्यकता पुरा गर्ने जिम्मा लिने व्यवस्थाका अबको आवस्यकता हो ।’ राज्यका उद्योगधन्दा नीजिकरण, नीजि बोर्डिङ खोल्न दिने लगायतका नीतिले देश धरासायी भएको दाबी गरे । ‘अहिले पनि प्रधानमन्त्री संविधान शंसोधन गर्ने भन्दै हिडेका छन्’ केसीले भने, ‘अब जनताले सचेत मत प्रयोग गरेनन् भने देश सुम्पने निर्णय आउन सक्छ ।’ केसीले संघियता बिरोधी आफ्नो धारणा भने यथाबत रहेको बताएका थिए । कार्यक्रममा बागलुङ क्षेत्र नं १ का प्रतिनिधी सभा सदस्य उम्मेदवार डा. सुर्य पाठक, बागलुङ क्षेत्र नं २ का प्रतिनिधी सभा सदस्य उम्मेदवार देबेन्द्र पौडेल , प्रदेश सभा सदस्यका उम्मेदवार ईन्द्रलाल सापकोटा, चन्द्रबहादुर बुढा सागर लगायतले मन्तब्य राखेका थिए । कार्यक्रममा जनबादि कलाकार जिवन शर्मा र लोक गायक बिष्णु खत्रीले साँगितिक प्रस्तुति प्रस्तुत गरेका थिए ।
कार्यक्रममा गलकोट क्षेत्रका मागहरु समेटिएको ज्ञापन पत्र नेकपा माओबादी केन्द्रका तिलक उप्रेति, नेकपा एमालेका बलबहादुर केसी र राष्ट्रिय जनमोर्चा टंक बहादुर केसीले शिर्ष नेताहरु समक्ष प्रस्तुत गरेका थिए । कार्यक्रम नेकपा एमाले केन्द्रिय सदस्य मन कुमारी केसीको अध्यक्षता, राष्ट्रि—य जनमोर्चाका जिल्ला उपाध्यक्ष बेदिलाल सापकोटाको स्वागत मन्तब्य र नेकपा माओबादी केन्द्रका संयोजक ज्ञामनाथ गैरेको सञ्चालनमा सम्पन्न भएको थियो । शिर्ष नेता आउने कार्यक्रम स्थल नजिकै ठूलो आवाजसहित बम बिष्फोट भएको थियो । प्रहरीले उक्त घटनामा सामान्य प्रकारको बम प्रयोग भएको बताएको छ ।
घटनापछि प्रहरीले सुरक्षा व्यवस्था कडा पार्नुको साथै अनुसन्धान भैरहेको प्रहरी प्रउ चन्द्रकुवेर खापुङले बताए ।