बागलुङ ३० कार्तिक–विद्यालयका लागि भएको सबै जग्गा दान गरेका दानबीरलाई जिल्लाका अभिभावकले लगातार ४३ बर्षदेखि विद्यालयको अध्यक्ष बनाएका छन् । निसीखोला गाउँपालिका–२ का ६५ बर्षिय भविन्द्र कुँवर यहाँकै रत्नराज्य माविमा २०३१ सालदेखि अहिलेसम्म निरन्तर अध्यक्ष भएका हुन् । कुँवरले आफ्नो नाउँको २ रोपनी ८ आनाको २० मुरी धान आउने जमिन विद्यालयलाई दान गरेका थिए । त्यसपछि अभिभावकले उनलाईनै अध्यक्ष स्विकारिरहेका छन् ।
म्याद सकिएपछिको भेलाले उनलाई नै सर्वसम्मत रुपमा अध्यक्ष चुनिरहेपछि काम नगरी सुखै नपाएको कुँवरले बताए । २०२० सालमा स्थापना भएको विद्यालय निर्माणका लागि कुँवरका बाबुले पनि जग्गा दान गरेका थिए । ‘मेरा छोराछोरी पढुन्जेल त अभिभावक थिएँ, अध्यक्ष बनेपनि सुहायो’ कुँवरले भने, ‘अहिले कोही छैनन् र पनि छोड्न पाएको छैन ।’ २०४९ सालमा गाविस उपाध्यक्ष हुँदा पनि उनी विद्यालयको अध्यक्ष थिए । उनकै पहलमा विद्यालय स्थापनादेखि मावि तहसम्म पढाई हुन थालेको हो । अहिले उनकै पहलमा विभिन्न दाता खोजेर झण्डै एक करोडको लागतमा १० कोठे पक्की भवन पनि बनेको छ ।
कुँवरले मृतक आमा कृष्णकुमारी, बाबु खलबहादुर, छोरा यामबहादुर र श्रीमती रुद्रमायाको नाममा जग्गा दान पछि एक लाख ११ हजारका दरले दुइ वटा अक्षयकोष पनि खोलिदिएका छन् । ‘जग्गा पनि सहयोग गर्ने, भवन बनाउने रकम पनि खोज्ने र निरन्तर विद्यालयको सुधारमा खट्ने भएपछि हामीलाई सजिलो भएको छ’ प्रअ भक्त केसीले भने, ‘अरुले दावी पनि गरेका छैनन्, उहाँले सहयोग पनि निरन्तर गरिरहनु भएको छ ।’ कुँवर परिवारबाटै अहिलेसम्म विद्यालयमा अनुमानित पाँच रोपनी जग्गा सहयोग भएको उनले बताए । एसएलसी उत्तिर्ण भएपछि राजनीतिमा लागेकोले कुँवरलाई सधै पंचायतले पक्रन खोज्दा उच्च शिक्षा पढ्न नसकी गाउँमै लुकेर बसेका थिए । गाउँमा बसेकोले सबैले विद्यालय संचालनमा आग्रह गरेपछि निरन्तर लागेका हुन् । स्थापना कालमा विद्यालयको अध्यक्ष उनकै बाबु थिए । सर्वसम्मत रुपमा उनी नजिकैको शिवशक्ति प्रावि र शिवशक्ति बालविकासको पनि अध्यक्ष छन् । निसीखोला गाउँकार्यपालिकाको सदस्य समेत रहेका उनकै अगुवाईमा मध्यपहाडी लोकमार्गको १५ किमी लिंक रोड निर्माण अभियानमा पनि उनी सक्रिय छन् । विद्यालयलाई चाहिएको थप तीन रोपनी जमिन किन्दा पनि उनले सहयोग गरेको अभिभावक खिमबहादुर कुँवरले बताए । उनै गाविस उपाध्यक्ष भएकै समयदेखि संकलित रकमले विद्यालयमा ६० लाखको अक्षय कोष पनि जम्मा भएको छ । यो कोषबाट विद्यालयले मावि र निमावि तहका ७ जना नीजि श्रोतका शिक्षकको तलब खुवाउँछन् ।
गाउँका मुद्दा मिलाएर आएको जरिवाना रकम विद्यालयको खातामा जम्मा गर्ने चलन उनले बसालेका थिए । सशष्त्र द्वन्द्वमा उनको चल सम्पत्ति भने सबै लुटिएको थियो । विद्यालयमा अहिले कम्प्युटर शिक्षा, अंग्रेजी माध्यमको पढाई लगायतको काम थालिएको उनले बताए । ६ सय विद्यार्थी अध्ययनरत यो विद्यालयमा अािर्थक विपन्न र दलित परिवारका बालबालिका पढ्छन् ।