बागलुङ, ३० कार्तिक – चिल्ड्रेन लाईफ फुटबल कप–२०७४ को उपाधि आयोजकले जितेको छ । चिल्ड्रेन लाईफ इङ्गलिस बोर्डिङ स्कुल बागलुङको आयोजनामा संचालित अन्तर स्कुल स्तरिय फुटबल प्रतियोगिताको फाइनल खेलमा सिदार्थ शिक्षा सदनलाई ०–२ गोल अन्तरले पराजित गर्दै आयोजकले उपाधि जितेको हो । खेल अवधिभर सिदार्थ विरुद्ध हाबी भएको चिल्ड्रेन लाईफले पहिलो गोल फ्रि–किकमार्फत गरेको थियो । खेलको १५ मिनेटमा पाएको फ्रि–किक प्रहारलाई रोक्न खोज्दा सिदार्थका खेलाडीले फल गरेपछि पुनः पाएको फ्रि–किक बलमा मनोज थापाले १६ मिनेटमा गोल गरेका थिए ।
चिल्ड्रेनको जितको लागि खेलको ४३ मिनेटमा नारायण कुँवरले उत्कृष्ट गोल गर्दै टिमलाई जितउन्मुख गराएका थिए । खेल अवधिभर दुवै टिममा गोलको लागि धेरै प्रहार भएपनि गोल नभएपछि उपाधि आयोजकले चुमेको हो । विजेता चिल्ड्रेनले नगद २५ हजार, ट्रफ्रि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छभने उपविजेतामा चित्त बुझाएको सिदार्थले नगद १५ हजारसहित ट्रफ्रि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै सेमिफाइनलसम्म पुगेका अमर आदर्श आवासिय मावि र युनिभर्सल सवलायम एकेडेमिले नगद ५–५ हजार प्राप्त गरेका छन् । प्रतियोगितामा १६ टिमले सहभागिता जनाएका थिए ।