संविधानमा असहमति जनाउँदा-जनाउँदै पनि प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा हामीले क्रान्तिकारी उपयोगको नीतिअन्तर्गत सहभागिता जनाएका छौं । कांग्रेस, एमाले, माओवादी केन्द्रलगायतका पार्टीले भाग लिएको जस्तो हाम्रो निर्वाचन उपयोगको नीति फरक छ । हामीले यसलाई क्रान्तिकारी उपयोग मात्र गरेका हौं ।
हाम्रो बुझाइमा अहिलेको राज्यव्यवस्था प्रतिक्रियावादी छ । संविधान पश्चगामी छ, तर यसलाई भण्डाफोर र खारेज गर्ने नीतिअन्तर्गत हामी चुनावमा सहभागी भएका छौं । यो क्रान्तिकारी माओवादी, यसको मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चाको कार्यनीतिक प्रश्न हो । हामीले रणनीतिक रूपमा होइन, कार्यनीतिक रूपमा चुनावमा भाग लिएका हौं । यसलाई हामीले क्रान्तिको तयारीको अर्थमा उपयोग गर्न खोजेका छौं ।
आन्दोलन अहिले उभारको अवस्थामा छैन, उतारको अवस्थामा छ । जनतामा क्रान्तिकारी उत्साह छैन, निराशा छ । उनीहरू किंकतव्र्यविमूढ अवस्थामा छन् । क्रान्ति पराजित भएको छ, प्रतिक्रान्ति हावी भएको छ । अहिल्यै क्रान्ति गर्ने, आफ्नो अधिकारका निम्ति आन्दोलनमा होमिने जनतामा कुनै उत्साह नै छैन । यस्तो परिदृश्यमा हामीले सीधै प्रतिक्रियावादीसँग मुठभेडको कार्यनीति अपनाएर सफल हुँदैन । जनताको मनोविज्ञान, पार्टीको संगठनात्मक धरातल हेरेर मात्रै हामीले हाम्रो योजना बनाउन सक्नुपर्छ ।
प्रतिक्रियावादीहरूसमेतको भूमिकामा हाम्रो पार्टीलाई पटकपटक विभाजनमा पुर्यामएर कमजोर बनाइएको छ । संगठन कमजोर छ । त्यसकारण तल्लो तहमा पार्टी संगठन कसरी विस्तार गर्ने, प्रतिक्रियावादीहरूको भण्डाफोर गर्ने भन्ने अहिलेका हाम्रा मुख्य कार्यभार हुन् । त्यही कार्यभार पूरा गर्न हामीले अहिलेको निर्वाचनलाई क्रान्तिकारी उपयोग गरेका हौं ।
निर्वाचन प्रक्रिया फेरि अहिले उल्टो गतिमा गराउन खोजिएको छ । मुलुक संघीयतामा गइसकेको सन्दर्भमा स्थानीय तहको निर्वाचन प्रदेशसभाले गराउनुपर्नेमा उल्टो गतिमा निर्वाचन गराइएको छ । संविधान कार्यान्वयन गराउने सर्तमा चुनावको उल्टो प्रक्रिया सुरु गरिएको छ । अर्कोतर्फ निर्वाचन अहिले असाध्यै महँगो पनि भएको छ । पैसावालाहरू मात्रै हावी हुने निर्वाचन प्रणाली अहिले अवलम्बन भएको छ । थोरै पैसाले चुनाव जितिँदैन । भोजभतेर, नगद नै वितरण गरेर मान्छेलाई पैसामा किन्ने प्रचलन बढेको छ । यस हिसाबले हेर्दा अहिलेको निर्वाचनको औचित्यता नै सकिएको छ।
ठूला पार्टीका नेताहरू नै भन्न थालेका छन्- अब चुनाव लडन सकिँदैन । जो सँग पैसा छ, जसले भष्टाचार गरेर, तस्करी गरेर अकूत पैसा जम्मा गर्न सकेका छन्, उनीहरू नै चुनावमा उम्मेदवार बनेर आउन थालेका छन् । राजनीतिक पार्टीका आवरणमा त्यस्ता व्यक्तिहरू निर्वाचनमा हावी हुन थालेपछि चुनावको औचित्य देखिँदैन । यद्यपि, जनता अहिले चुनावतिरको मनस्थिति बनाएर बसेका छन् ।
जनता चुनावतिर र हामी क्रान्तिकारी माओवादी अर्कोतिर हुन सक्ने अवस्था रहँदैन ।माओले परिभाषित गरेजस्तै जनतासँगको सम्बन्ध क्रान्तिकारीको नङ र मासुकै जस्तो हुनुपर्छ । पानीबाट छुटिएर माछा लामो समय टिक्न सक्दैन । त्यही बुझाइका साथ जनताका बीचमा गएर जनताकै बीचमा भन्डाफोर गरेर जाने विधिका रूपमा अहिले हामीले चुनावलाई क्रान्तिकारी उपयोगको नीति बनाएका हौं ।
चुनावी प्रयोग र एजेन्डा
चुनाव उपयोगको नीति नै बनाएपछि प्रतिनिधिसभा तथा प्रदेशसभाका प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फ हामीले आफ्नो तर्फबाट उम्मेदवारी दिएका छौं । आफ्ना उम्मेदवार निर्वाचन क्षेत्रमा परिचालन गरेर मुख्यतः प्रचारात्मक आन्दोलन हामीले अगाडि बढाएका छौं । हामीले सबैतिर उम्मेदवारी दिनुभित्रको अन्तर्य पनि त्यही हो । निर्वाचन बहिष्कार गरेका भए हामीले आफ्ना एजेन्डा जनताका बीचमा लैजान पाउँदैनथ्यौं, तर निर्वाचन उपयोग गरिसकेपछि हामीले आफ्ना उम्मेदवारमार्फत कुरा राख्न पाएका छौं।
यो संविधान पश्चगामी छ । यो व्यवस्था बेठीक छ । प्रतिक्रान्ति कसरी भयो, अब क्रान्ति सम्भव छ कि छैन ? जस्ता विषयलाई हामीले निर्वाचनको प्रचारका क्रममा जनताका बीचमा राख्न पाउँछौं । त्यही भएर हामी सबै क्षेत्रमा उम्मेदवारी दिएर चुनावमा गएका छौं । त्यसो हो भने के निर्वाचन देजमो (देशभक्त जनगणतान्त्रिक मोर्चा) ले जित्नका लागि नभई भण्डाफोर प्रचारका लागि मात्रै हो त ? प्रश्न उठेका छन् । तर विषय त्यस्तो होइन । हामी सकेसम्म निर्वाचन जित्ने नीतिअनुरूप नै निर्वाचन उपयोगमा गएका छौं । निर्वाचन जित्दा संसद् र सडक दुवैमा क्रान्तिकारी हस्तक्षेप हुनेछ । आन्दोलन प्रभावकारी हुनेछ ।
गठबन्धनवालाहरू, धनवालाहरू निर्वाचनमा हाबी भइरहेका बेला हामी एक्लैलाई निर्वाचन जित्न कठिन होला । निर्वाचन जित्नका लागि हामीलाई फलामको चिउरा चपाउनुसरह नै छ । हाम्रा प्रतिनिधिले जित्न नसक्नुको एउटै कारण हामीसँग पैसा छैन । पैसाले मान्छेलाई किन्ने, उम्मेदवार कमजोर छ भने उसैलाई किनेर उम्मेदवारलाई नै आफ्नो उम्मेदवारी फिर्ता लिइदिन लगाउनेहरूको बोलाबोल भएका बेला हामीले धेरै अपेक्षा गरेका छैनौं, तर केहीमा भने हामी चुनाव जित्नेछौं ।
हामीले चुनावी घोषणापत्र तयार पारेका छौं । घोषणापत्रमा हामीले जनताप्रति धोका भयो, विश्वासघात भयो । संविधानले अहिलेसम्मका क्रान्ति÷बलिदानलाई धोका भएको छ । हामीले माग गरेका थियौं, जनगणतन्त्रको, तर दिइयो, लोकतान्त्रिक गणतन्त्र । हामीले संसदीय व्यवस्थाविरुद्ध हतियार उठाएका थियौं, तर फेरि संसदीय व्यवस्था नै आयो । त्यसकारण प्रतिक्रान्तिको दस्ताबेजका रूपमा संविधान आयो, तर हामीले क्रान्तिको दस्ताबेजको संविधान खोजेका थियौं ।
जनयुद्धका क्रममा उठाएका माग सम्बोधन हुन सकेन । त्यसकारण अहिलेको संविधान खारेज गरेर नेपालमा जनगणतन्त्र चाहिन्छ भनेर हामीले चुनावमा एजेन्डा बनाएका छौं । राजनीतिक समस्या हल भयो, अब आर्थिक समृद्धिमा जानुपर्छ भन्ने कुरा अन्य दलहरूले गरिरहेका छन्, तर अहिले पनि राजनीतिक क्रान्तिले पूर्णता पाएको छैन भन्ने मत हामीले राखेका छौं । राजनीतिक समस्या समाधान नभई आर्थिक विकास सम्भव छैन । आर्थिक विकास गर्नकै लागि राजनीतिक समस्याको समाधान खोजिएको हो ।
यहाँका प्राकृतिक स्रोत-साधान नियन्त्रित छन् । अरूले कब्जामा राखिरहेका छन् । हामीले विकास गर्नुपर्ने क्षेत्रमा अरूले नियन्त्रण गरेर कब्जामा राखेको छ भने विकास हुन सक्दैन । पहिलो प्राकृतिक स्रोतसाधनलाई बाह्य हस्तक्षेपबाट मुक्त गराउनुपर्छ ।
अर्कोतर्फ नेपालको राष्ट्रियता अहिले संकटमा छ । राष्ट्रिय स्वाधीनता नै खतरामा परेको बेला विकासको नारा दिएर राष्ट्रियता जोगिँदैन । राष्ट्रिय स्वाधीनताको बिक्री गरेर आउने विकास, विकास होइन । त्यसलाई हामी विकास मान्दैनौं । यसर्थमा तमाम प्रकारका असमान सन्धिसम्झौता खारेजीको माग हामीले चुनावी अभियानका क्रममा अगाडि सारेका छौं।
अर्काे पक्ष पनि छ- हाम्रो चुनावी घोषणाको । त्यो भनेको, अन्य राजनीतिक दल रेमिट्यान्सले देशलाई सम्पन्न बनाउने तर्क गर्छन् । तर हामी रेमट्यान्सबाट विकास भित्र्याउने पक्षमा छैनौं । रेमिट्यान्स भित्र्याउने नाममा हाम्रा देशका युवाको ज्यान विदेशी भूमिमा जोखिममा पारेर राजनीति गर्ने पक्षमा हामी छैनौं । देश विकास गर्न श्रमशक्ति चाहिन्छ । जनशक्ति नभई देशको विकास हुँदैन । जनशक्ति विदेशमा लगेर बेचिदिने, धेरै रेमिट्यान्स भित्र्याउने होडमा लाग्दा कसरी देश विकास हुन्छ ।
रेमिट्यान्स भित्र्याएर कुनै पनि देश सम्पन्न बन्दैन । देशभित्रको युवा जनशक्तिलाई देशभित्रै परिचालन गर्नुपर्ने हुन्छ । युवालाई स्वदेशमै रोजगार सिर्जना गरेर श्रममा लगाउनुपर्छ भन्ने हाम्रो धारणा यो छ । त्यसकारण हाम्रा अन्तर छन् । आधारभूतरूपमा पनि अहिलेको संविधानसँग हाम्रा कुरा मिल्दैनन् । त्यसैले अहिलेका पार्टीसँग, गठबन्धनहरूसँग हाम्रा कुरा मिल्दैनन्, हामी तेस्रो शक्ति निर्माणको पक्षमा छौं ।
विगतको बहिस्कार र अहिलेको उपयोग
२०७० को दोस्रो संविधानसभा हामीले बहिस्कार गर्यौं् । तर स्थानीय तह चुनाव र अहिलेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हामीले उपयोगको नीति बनाएका छौं । त्यसबेला बहिष्कार किन अहिले उपयोग किन ? प्रश्न स्वाभाविक रूपमा जनताका बीचमा छन् । ०७० को संविधानसभा बहिष्कारले हामीले हाम्रो राजनीतिक धार जनताका बीचमा प्रस्ट्याउन सफल भएका छौं । अन्य राजनीतिक दलभन्दा क्रान्तिकारी माओवादी यसकारण फरक छन् भन्ने जनतालाई बुझाउन सफल भएका छौं ।
क्रान्तिका लागि क्रान्तिकारी शक्तिहरूको अवस्था, आन्दोलनको उभार, जनताको मनस्थिति÷मानेविज्ञान सबैमा निर्भर हुन्छ । हाम्रो पार्टी र पार्टीका नेताहरूलाई लगिदियो भनेर मात्र क्रान्ति हँदैन । हामीलाई क्रान्ति चाहियो भनेर जनताले क्रान्ति गरिदिने होइन, त्यसका निम्ति जनता तयार हुनुपर्छ ।
दोस्रो संविधानसभा बहिष्कार गरिरहँदा प्रतिक्रान्तिले पूर्णता पाइसकेको थिएन । अझै संक्रमणकालकै अवस्था थियो । क्रान्तिले जित्ने वा प्रतिक्रान्तिले जित्ने भन्ने तय भइसकेको थिएन । हाम्रो आफ्नै पार्टी पनि धेरै बलियो थियो । विप्लव, बादलहरू हामी सबै एकै ठाउँमा थियौं । त्यो बेलामा प्रचण्डले नेतृत्व गरेको पार्टी ठूलो कि हाम्रो पार्टी ठूलो भन्ने बहस चलिरहेको थियो । हाम्रो आत्मगत शक्ति पनि बलियो थियो । जनताका बीचमा क्रान्तिको ताप र राप सेलाइसकेको थिएन । यी सबै कुराको मूल्यांकन गरेर हामीले त्यसबेला निर्वाचन बहिष्कारको नीति अवलम्बन गरेका थियौं ।
अर्काेतिर, सर्वाेच्च अदालतको बहालवाला प्रधानन्यायाशीशलाई नेतृत्वमा ल्याएर चुनाव गराइएको थियो । त्यसको पक्ष÷विपक्षमा जनमत विभाजित अवस्था थियो । त्यसबेला हामीले बहिष्कारको नीति अवलम्बन गरेका थियौं, तर अहिलेको परिस्थिति फरक छ । अहिले प्रतिक्रान्तिले एक प्रकारले पूर्णता पाएको छ । क्रान्तिका उपलब्धि उल्टाइएको छ । हाम्रै पार्टीलाई पनि पटक-पटक विभाजित गराएर कमजोर बनाइएको छ ।
क्रान्तिकारी शक्तिको आत्मगत अवस्था कमजोर छ । जनतामा पहिलेको जस्तो क्रान्तिकारी आशावादिता अहिले छैन, एकदमै निराशाको अवस्था छ । यस्तो बेलामा निर्वाचन उपयोगको नीति लिएर संगठन बनाउने, जनताका बीचमा आफ्ना कुरा लैजानुपर्ने ठानेर हामीले निर्वाचन उपयोगको नीति बनायौं । अहिलेको सन्र्दभमा यो नीति सही र वस्तुवादी छ भन्ने हाम्रो बुझाइ छ ।
यसबीचमा जनताले परिवर्तनका लागि धेरै बलिदान र त्याग गरेका छन् । तर बलिदानको अर्थ पूरा हुन सकेको छैन । हामीले बाँडेका सपना पूरा हुन सकेन । पूरा गर्ने दिशातिर हामी अगाडि बढ्यौं, केही सफलता पनि नपाएका होइनौं, तर जसले क्रान्तिको नेतृत्व गरेको थियो, उसैले पछि प्रतिक्रान्ति गर्न आइपुगेपछि बलिदानको सपना पूरा हुन सकेन । जो नायक थियो, ऊ नै खलनायक बन्न आइपुगेपछि क्रान्तिका उपलब्धि जोगाउन सकेनौं । प्रतिक्रियावादीसँग मात्र लड्न जति सजिलो थियो, आफूभित्र पैदा भएको नवप्रतिक्रियावादी जम्मेपछि पूरा गर्न गाह्रो हुँदो रहेछ । अहिले हामीलाई त्यही भइरहेको छ ।
जसका कारण क्रान्तिले सफलता हासिल गर्न सकेन, प्रतिक्रान्ति भयो । प्रतिक्रान्ति भएपछि फेरि जनता, राष्ट्रका अगाडि त्यही समस्या दोहोरिएर आएका छन् । त्यसबाट मुक्तिका लागि फेरि पनि संघर्ष गर्नुको विकल्प छैन । संघर्ष हाम्रो चाहना थिएन, तर प्रतिक्रान्तिकारीहरूका फेरि संघर्षमा जानुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ । फेरि पनि अर्को आन्दोलनको तयारी गरेर क्रान्तिको तयारी गर्ने र पूर्णतातिर लैजान संगठित भएर जानुपर्ने अवस्था आएको छ ।