बागलुङ, २८ कार्तिक– संघियता विरोधी राष्ट्रिय जनमोर्चाको जिल्ला भएर होला, देशभरबाट बागलुङलाई संघियता बिरोधी जिल्लाको रुपमा हेरिन्छ । संघियता बिरोधी मत धेरै भएका जिल्लामा गनिएपनि यो पटकको निर्वाचनमा भने त्यस्तो नारा कतै लागेको देखिएको छैन । दोश्रो संविधानसभाको निर्वाचनमा ताका निकै चर्चामा रहेको संघियता बिरोधी शक्ति र संघियता पक्षधरको टक्कर भन्ने भनाई अहिले पुरै हराएको छ । अहिले चार बर्षपछि राजमो बाम गठबन्धनमा मिलेर चुनावमा गएको छ । जातीय संघियताको एजेण्डा छाडेर माओवादी अहिलेको ७ प्रदेश बनाउनेमा आइपुगेको हो । एमालेले भौगोलिक क्षेत्र समावेश भएको संघियता सहितको यो संविधानलाई तत्काल संशोधन समेत गर्न नहुने तर्क राखिरहेको छ । संघियता खारेज गर्नुपर्ने राजमो उनीहरुसंगै निर्वाचनमा भोट मागिरहेको छ । संविधान कार्यान्वयनको लागि हुन लागेको निर्वाचनमा फरक–फरक बिचार राख्नेहरु एउटै मोर्चामा लागेका हुन् ।
संघियता देशले धान्नै सक्दैन भन्ने शक्ति र संघियता सहितको उत्कृष्ठ संविधान बनेको दावी गर्ने एमाले एउटै मंचमा भोट मागिरहेका छन् । राजमोका नेताहरु बागलुङ क्षेत्र नं. १ र १ क मा सूर्य चिन्हमा भोट माग्दैछन् । क्षेत्र नं. २ र २ क मा गोलकार भित्रको हसिया हथौडामा भोट मागेका छन् । माओवादी र एमाले कार्यकर्ताले बागलुङ क्षेत्र नं. १ ख र २ ख मा संघियता विरोधी राजमोको गिलास चिन्हमा भोट मागिरहेका छन् । ‘कम्युनिष्ट पार्टीहरुको कार्यगत एकता भएकाले मिलेर भोट माग्दै हिडेका छौं’ राजमो अध्यक्ष अमर थापाले भने, ‘हाम्रा राष्ट्रिय एजेण्डा फेरेर अन्य दलको पछि लागेका भने होइनौं ।’ स्थायी सरकार बनाउने गरी बामको बहुमत ल्याउने अभियानमा सहभाग भएको उनले दाबी गरे । ‘बाम गठबन्धनले आफ्ना साझा बुझाईलाई मात्र चुनावमा लगेको छ, संघियता बिरोधी मत र माओवादीको जातीय संघियता लगायतका बिषय रोकेका छौं’ थापाले भने, ‘चुनावको तात्कालिक बिषयमा एकता भएपनि राजमोले बोकेको संघियता बिरोधी मुद्दा जिवितै छ ।’ मंसिर १० पछि समेत राजमोले यो अभियान लिएर जनताको घरदैलो फेरी जाने उनले बताए ।
प्रचार–प्रसार अवधिमा कुनैपनि दलले आफ्ना एकल एजेण्डा नबोल्ने सहमति भएको उनले खुलाए । मोर्चा अध्यक्ष चित्रबहादुर केसी उपप्रधानमन्त्री हुँदा पनि मन्त्री परिषद र संसदमा संघियता बिरोधी मुद्दाले स्थान पाएको उनले स्मरण गरे । बामपन्थी होइनौं भनेर दुइ बर्षसम्म छुट्टै अभियान चलाएका देवेन्द्र पौडेल नयाूशक्ति छाडेर माओवादीमा प्रवेश गरेर बागलुङ २ को उमेदवार बनेका छन् । उनी पुन संघियता सहितको गणतन्त्र कार्यान्वयनकालागि बाम गठबन्धन भन्ने नारा बोकेर चुनावमा होमिएका हुन् । संघियता बिरोधी शक्तिको मत पाएर जित्ने उनले दावी गरे । उता कांग्रेसले भने चुनाव जित्नका लागि बिचारको तिलान्जली भएको आरोप लगाएको छ । ‘जित्न पाईन्छ भनेर जातीय संघ चाहनेपनि संघियता बिरोधीको साथ खोज्दैछन्’ थापाले भने, ‘हामी निरन्तर बहुदलभित्र बहुलबाद समेतको रक्षा गर्न लडेका छौं ।’ पटक पटक बोली फेर्ने र निरन्तर प्रजातन्त्रका लागि लड्नेलाई जनताले चिनेर भोट दिने उनले टिप्पणी गरे । राणा, राजा र फेरी अधिनायकवाद बिरुद्ध निरन्तर लड्ने कांग्रेसमात्र भएको थापाको दावी छ । कांग्रेसको अभियानलाई समर्थन गर्दै राप्रपाले भने सघाएको छ । जिल्ला अध्यक्ष सुरेन्द्र खड्काले रुख चिन्हमा भोट मागेका छन् । राप्रपाको सबै क्षेत्रमा निशर्त कांग्रेस जिताउ अभियान सफल पार्न प्रचार प्रसार समिति पनि गठन भएको छ । खड्काको अभियानले बाम गठबन्धनलाई कडा चुनौती समेत थपिएको छ ।
Previous Articleआदर्शले गर्यो राहात रकम प्रदान
Next Article साहाराको सकृयतामा सफा सेरा अभियान