बागलुङ जिल्लाको पैञ्युपाटामा जन्मिएर लामो समयदेखी राजनीति भित्र पनि साँस्कृतिक आन्दोलनलाई प्राथमिकता दिंदै परिवर्तनका खातिर आफ्नो यौवन खर्च गरेका संघीय समाजबादी फोरम नेपालका केन्द्रिय सदस्य तथा बागलुङ क्षेत्र नं १ का प्रत्यक्षतर्फका उम्मेदवार महेन्द्र जिसीसँग जनमञ्ज सह– सम्पादक तारानाथ आचार्यले गरेको छोटो कुराकानी ।
तपाईको उम्मेदवारी के–का लागि ?
–खासमा देशमा भ्रष्टचारले जरो गाँडेको छ । युवाहरुको बैदेशिक रोजगारमा जाने क्रम रोकिएको छैन् । भ्रष्टचारको नियन्त्रण र बैदेशिक रोजगारीमा जाने युवाहरुलाई बिदेश पलायन हुनबाट रोक्दै स्वदेशमा नै रोजगारीको सिर्जना गर्न राज्यको उपल्लो तहमा व्यवस्था मिलाउन म चुनावको मैदानमा छु । युवाहरुलाई देश विकासमा लगाउनको लागि विकास सेना गठन गरेर बिदेश पलायनबाट बचाउनु मेरो मुख्य भुमिका रहने छ । जब युवाहरुलाई विकास सेनामा समाबेश गरेर विकासको काममा लगाइन्छ तब राष्ट्रले विकासको गति लिन्छ युवाले रोजगारी पाउँछन् ।
तपाईलाई जनताले भोट दिने आधारहरु के छन् ?
–म २०५४ सालदेखि आन्दोलनमा छु । राजनीति भित्र साँस्कृतिक आन्दोलनलाई अगाडि बढाउनको लागि मैले ठुलो भुमिका खेलेको छु । देशमा भएका परिवर्तन हरुमा यो वा त्यो ढंगबाट मेरो सहभागिता छ । पहिले नेकपा माओवादीमा छँदा मैले धेरै कामहरु गरेको छु । युवा भएको र स्पष्ट धारणा लिएर जनताको माझमा आएकाले मतदाताहरुले मलाई यहि आधारमा भोट दिन सक्छन । उहाँहरुको भोटको कदर गर्ने योग्य उम्मेदवार हुँ म ।
तपाईले देखेका बागलुङका समस्या के हुन सक्छन् ? कसरी समाधानको बाटो खोज्नु हुन्छ ।
–मुख्यतया राजनीति ठेकेदारीमा चलेको छ । राजनीती भित्र टेण्डर प्रबृत्ति हाबी छ । यसका कारण बागलुङको विकासमा बाधा उत्पन्न भएको देख्न सकिन्छ । मुख्य कुरा राजनीतिक संस्कार नसुध्रिएसम्म सबै क्षेत्रमा समस्या रहन्छन् । राजनीतिक संस्कारलाई सुधारेर ठेकेदारी र टेन्डर प्रबृत्तिलाई हटाउने मेरो मुख्य योजना हो यसले धेरै कुरमा सुधार ल्याउँछ ।
संघिय सभामा जिते तपाईले के गर्नु हुन्छ ?
–संघिय सभामा हाम्रो भुमिका भनेको राष्ट्रिय योजनामा हो । राष्ट्रले योजना निर्माण गर्दा जनपक्षिय योजनाको निर्माण गर्नमा मेरो बिशेष ध्यान रहने छ । राष्ट्रिय योजनाहरुको निर्माणसँगै मातहतका प्रदेशहरुलाई सन्तुलनमा राखेर स्थानिय तहको विकासका लागि नितीगत व्यवस्था गर्नमा मेरो ध्यान रहने छ । राष्ट्रलाई अन्तरघुलन गराउन आवस्यक काम संघमा रहेर हामीले गर्ने छौं ।
तपाईलाई पार्टिले कस्तो सहयोग गरेको छ ?
–मेरो उम्मेदवारी व्यक्तिगत भन्दा पनि पार्टिगत हो भनेर बुझ्नुहोस् । पार्टिले मलाई पुर्ण रुपमा सहयोग गरेको छ । मेरो सफलता भन्नु नै पार्टिको सफलता हो । चुनावको प्रचार–प्रसारदेखी चुनावी रणनीति निर्माण गर्ने सम्मको काममा मलाई पार्टिले सहयोग गरेको छ । म आँफै पनि पार्टिको केन्द्रिय कमिटिमा रहेकाले अन्य उम्मेदवारको तुलनामा मलाई सहयोग अलि बढि नै छ भनेर बुझ्नुस् । मैले बहुजाती बहुभाषीको पार्टी बनाउन ठुलो भुमिका खेलेको छु । यसकारण मलाई पार्टिले पुर्ण सहयोग गरेको महसुस गरेको छु ।
बागलुङ विकासको लागि केहि योजना बनाउनु भएको छ ?
–शिक्षामा सुधार गर्ने मेरो पहिलो योजना छ । शैक्षिक संस्थाहरुलाई सबल बनाउँदै व्यवहारीक शिक्षा प्रदान गर्नमा नीतिगत ब्यबस्था गर्ने र कार्यान्वयनमा लैजाने योजना छ । अर्कोतर्फ युवाहरुलाई व्यवस्थापन गरेर बिदेश पलायन रोक्ने कामलाई पनि प्राथमिकतामा राखेको छु । त्यो बाहेक कृषि, पर्यटन, संस्कृति लगायत समग्र जिल्लाको विकासको लागि योजना बनाएर अगाडि बढेको छु । सबै कुरा भन्न लामो होला तात्वीक कुरा यिनै हुन् ।
सम्झनलायक कुनै सामाजिक काम गर्नु भएको छ ?
–विशेष गरेर राजनीति भित्र पनि म सांस्कृतिक आन्दोलनमा बढि समय खर्च गरें । देशको संस्कृतिको संरक्षणका लागि लामो समय मैले खर्च गरेको समय नै सम्झनलायक कामका लागि काफि छ जस्तो लाग्छ । सांस्कृतिक आन्दोलनमार्फत समाजमा मैले फैलाएको चेतना उदाहरणको रुपमा प्रस्तुत गर्न सकिन्छ ।
अन्तमा, बागलुङबासीको लागि केही सन्देश छ की ?
–विशेष गरेर समाज परिवर्तनको लागि युवा नेतृत्व आवस्यक छ । यसका लागि सम्पुर्ण बागलुङबासीले मलाई सहयोग गर्नुहुन अनुरोध गर्दछु । पुरानो पुस्तालाई सम्मान गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्ने प्रबृत्ति राजनीतिमा बसाल्न जरुरी छ । यसका लागि लागिपरेका छौं । समाजको दिगो विकास र नयाँ पुस्ताको सक्रियताको लागि यो चुनावमा मलाई सहयोग गर्न युवा साथीहरुलाई आग्रह गर्दछु ।