केही समय अगाडि नेपाली लोकगीत संगीतको बजारमा निकै चर्चा कमाएको गिती एल्बम ‘त्यसै होइननी’को म्युजिक भिडियो बजारमा आउन लागेको छ । लामो समयको प्रतिक्षापछि उक्त लोकगीतको म्युजिक भिडियो बजारमा ल्याउन लागिएको गीतका निर्माता सुरेश परियारले जानकारी दिए । एफ. एम. रेडियोमा काम गर्दै गर्दा पर्वते सर्जक परियारले तयार गरेको लोकगीतको अडियो भने यस अगाडि नै बजारमा आएको थियो । समसामयिक प्रेम कथामा आधारित शब्दहरु समाबेश गरिएको गीतले नेपालको अडियोे बजारमा निकै चर्चा कमाएको थियो । उपमा डिजिटल प्रा.लि.ले बजारमा ल्याउन लागेको गीतको म्युजिक भिडीयो नेपालका बिभिन्न स्थानहरुमा छायाँकन गरिएको निर्माता परियारले बताए । गीतमा मोडल विकासराज र कल्पना पुनको अभिनय रहेको निर्माण टिमले जानकारी गराएको छ । यसै साता बजारमा आउन लागेको म्युजिक भिडियोमा गीतका शब्दलाई जस्ताको त्यस्तै अभिनय मार्फत प्रस्तुत गर्न लागिएको निर्माण टिमले बताएको छ । रोजगारीको शिलशिलामा दुबै शहरमा रहेका गीतका निर्माता सुरेश नेपालमा रहँदा सञ्चार क्षेत्रमा काम गर्दै आएका व्यक्ति हुन् । उनले सञ्चारमाध्याममा काम गर्दा गर्दै समाजमा युवा–युवतीहरुको नियतिको विषयलाई अध्ययन गरेर गीत तयार पारेको उनले बताए ।
खबर पाउँदा ज्यान काम्यो थरथरी
तिम्लाई सम्झे आँसु झन् बर्बरी
त्यसै होइननी तिम्रो बिहे भो भन्दा त एति रोइननी
लामो समय प्रेम सम्वन्धमा रहेर सामाजिक बिध्नबाधाका कारण छुटिनु परेका प्रेम जोडीको कथालाई आधार बनाएर गीत तयार पारेको उनको भनाई छ । ‘मैले समसामयिक बिषयलाई समातेर शव्दहरु रचना गरेको छु’ परियारले भने ‘युवा पुस्ताको प्रतिनिधित्व गर्ने शव्दहरुको चयनले गीतले अडियो बजारमा सफलता पायो ।’ परियारले पछिल्लो समय रोइला भाका समेत बजारमा ल्याएका छन् । उनले रोईला भाकामा बनाएको गीत समेत माया पिरतीमा आधारित गीत हो ।
नेपाली लोकगीतको क्षेत्रमा रुची भएपनि यस क्षेत्रमा प्रवेश गर्न निकै गाह्रो भएको उनको बुझाई छ । सकसले बजारमा ल्याएको एल्बम ‘त्यसै होइननी’ ले सोचेभन्दा राम्रो सफता पाएको भएपनि संगीत क्षेत्रको बिकृतीका कारण अन्य गीत बजारमा ल्याउन कठिन भएको परियारले बताए । ‘हामी जस्ता सिर्जना गर्ने तर लगानी गर्न नसक्नेहरुको लागि संगीतको बजारमा भिज्न गाह्रो छ’ परियारले भने– ‘अवसरवादी र पैसाको लागि मात्रै मरिमेट्नेहरुले नयाँ प्रतिभालाई अगाडि आउन दिँदैनन् ।’ परियारले सानो प्रयासमा बजारमा ल्याएको अडियोलाई जस्तै म्युजिक भिडियोलाई पनि माया गरिदिन दर्शकहरुलाई आग्रह गरे । हाल विदेशमा बसेर पनि नेपाली समाजको समसामयिक विषय बस्तुहरु समाबेश गरेर गीतहरु सिर्जना गरिरहेको उनले बताए । ‘मैले धेरै गीतहरु लेखेको छु’ उनले भने ‘स्रोता दर्शकले माया गरिदिनु भयो र पैसाको जोहो गर्न सके बिस्तारै बजारमा लैजाने जमर्को गर्ने छु ।’ –तारानाथ आचार्य÷बागलुङ