बागलुङ,२८ कार्तिक– धौलागिरिको पहिलो बिद्युतीय संचार माध्यम धौलागिरि एफएम सोमबारदेखि १३ बर्ष पुरा गरी १४ औं बर्षमा प्रवेश गरेको छ । २०६१ साल कार्तिक २७ गतदेखि आफ्नो प्रशारण शुरु गरेको धौलागिरी एफएम बिभिन्न आरोह अवरोह पार गर्दै १४ औं बर्षमा प्रवेश गरेको हो । चौधौ बर्ष प्रवेशको अवसरमा धौलागिरि एफएमले सम्पूर्ण स्रोता, बिज्ञापनदाता, संचालक सदस्य, शेयर सदस्य, कर्मचारी लगाएत शुभेच्छुक शुभचिन्तक सबैमा शुभकामना सहित आभार व्यक्त गरेको छ । धौलागिरि एफएमका अध्यक्ष दुर्गादत्त आचार्य र सचिव रामकृष्ण शर्माले एक बिज्ञप्ती प्रकाशित गरि एफएमलाई यहाँ सम्म ल्याइपु¥याउन सहयोग गर्ने सवैमा धन्यवाद ज्ञापन सहित शुभकामना व्यक्त गरेका छन् । बिज्ञप्तीमा सवैको साथ र सहयोगमा एफएम समय सापेक्ष रुपमा परिस्कृत हुदै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ । रेडियोको बार्षिकोत्सवका अवसरमा आज विहान बाङ्गेचौर खेल मैदानमा मैत्रिपूर्ण फूटबल खेल सम्पन्न भएको छ ।
धौलागिरी एफएम र नेपाल पत्रकार महासंघ बागलुङ बीच भएको खेलमा महासंघ २–१ गोल अन्तरले बिजयी भएको छ । महासंघका तर्फबाट सज्जनकुमार सिहं र नन्दु बिष्टले एक–एक गोलको योगदान गरेका थिएभने एफएमका तर्फबाट खेलको अन्तिम मिनेटमा नवीन शिशिर हेडमार्फत एक गोल फर्काएका थिए । हरेक बार्षिकोत्सवमा नियमित रुपमा आयोजना गरिदै आएको मैत्रीपूर्ण फुटबललाई पत्रकारहरुका बिचमा थप सद्भाव र भातृत्वको विकासका लागि यस बर्ष पनि निरन्तरता दिइएको धौलागिरी एफएमका सचिव रामकृष्ण शर्माले बताए ।
यसैगरी, वार्षिकोत्सवको अवसरमा आयोजित ‘सम्वृद्धिका लागि संचार माध्यमको भूमिका’ विषयक बिद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगितामा फ्युचर ब्राईटर बोर्डिङ्ग स्कुलका महिला केसी प्रथम, रुद्रेपिपल माविका छात्रा भावना पौडेल द्धितीय र गरिमा आवासीय माविका छात्र रोहित आचार्य तृतीय भएको धौलागिरी एफएमका सम्पादक दिल शिरीषले जानकारी दिए । २०६१ कात्तिक २७ गतेदेखि प्रशारण शुरु भएको धवलागिरी एफएमले २०६१ पुस १ गतेदेखि समाचार प्रशारण शुरु गरेको थियो ।
शुरुमा बिहान, दिउँसो र सांझ मात्र समाचार प्रशारण शुरु गरेको एफएमले ०६१ माघ १९ गतेको कदमपछि ०६२ भदौ १५ गतेसम्म समाचार बन्द गर्नुपरेको थियो । ०६३ माघ १ गतेदेखि प्रत्येक घण्टा समाचार प्रशारण शुरु भएको र हालसम्म पनि निरन्तर प्रशारण हुदै आएको धौलागिरी एफएमका समाचार सम्पादक शिरीषले बताए । बिहान ५ बजेदेखि राती ११ बजेसम्म १८ घण्टा प्रशारण हुने एफएमले मुख्य हालचाल, धौलागिरी सेरोफेरो, धौलागिरी गतिविधि, बुलेटिन, समयचक्र लगायत १३ वटा समाचार एफएमको समचारकक्षबाटै र बिबिसी लगायत ७ वटा राष्ट्रिय समाचार गरी २० वटा समाचारमुलक कार्यक्रम प्रशारण भइरहेको छ । एफएमबाट मनोरञ्जनात्मक, शिक्षामूलक र समसामयिक विषयमा विभिन्न कार्यक्रम पनि प्रसारण हुदै आइरहेका छन् । सत्य तथ्य र सन्तुलित समाचार प्रशारणको नारा सहित एफएम प्रालिले ग्रामिण तहमा सञ्चारको विकास गर्नका लागि धौलागिरिमा पहिलो पटक एक गाविस एक पत्रकार भन्ने नाराका साथ विभिन्न गाविसमा प्रतिनिधि राखेर समाचार संकलन र प्रशारण गरेको थियो भने अब नयाँ संघिय अभ्यासका क्रममा पनि रेडियोको प्रसारण पहुँच भएका सबै स्थानीय तहमा पत्रकार सँग सहज पहुँचमा समाचार सम्प्रेषण गर्ने गरि योजना बनाउन लागिएको एफएमले जनाएको छ ।
धौलागिरी एफएमको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
Previous Articleभवन बनाउन सहयोग संकलन
Next Article ‘त्यसै होइननी’को भिडियो बजारमा आउँदै