बागलुङ, २७ कार्तिक– गलकोटको अर्गल गाविसमा बसोबास गर्ने मगर समुदायले अर्गलको ऐतिहासिक शंखुबारीमा विधिवत भुस पोलेका छन् । पाल्पाको अर्गलीबाट अर्गलमा बसाई सरी आएका आफ्ना पुर्खाले खोरिया फाँडेको सम्झनामा ऐतिहासिक कालदेखि नै यो पर्व मनाउन थालिएको हो । मेलाको मुख्य समारोह आईतवार निर्वतमान सभामुख ओनसरि घर्तिले उद्घाटन गरेकी छन् । मेलाको उद्घाटन गर्दै घर्तिले संकृतिलाइ सम्पत्तिको रुपमा बिकास गर्नुपर्नेमा जोड दिईन् । कला र संकृतिले समुदायको पहिचाहन बोकेको भन्दै यसको संरक्षणमा जुट्न उनले मगर समुदायलाइ आग्रह गरीन् । अर्गली मगर समुदायले शंखुबारीमा घामको झुल्कोसंगै बिहान ९ बजे विधिवत पुजाआजा गरी भुस पोलेका थिए । कहिलेदेखि भुस पोल्न थालिएको हो भन्ने बारेमा एकिन जानकारी नभएपनि पुर्खाको प्रचलन अनुसार आफुहरुले पनि निरन्तरता दिएको शिक्षक सुर्य घर्तिले जानकारी दिए । यसैगरी वर्षभरि दिंबगत भएका अर्गली मगरको घरबाट होलादास चलाउने प्रचलन रहेको स्थानियले जानकारी दिएका छन् । मृतकको मावल र माईती अथवा ससुरालीमा होलादास पु¥याउने प्रचलन रहेको छ । होलादासमा चामल, मासु जस्ता खाद्य परिकार समावेश गरिन्छ । उक्त होलादास बेलुका यतिकै राख्ने र भोलिपल्ट सबै दाजुभाई जम्मा भएर बाँडेर खाने चलन रहेको शिक्षक घर्तिले बताए । २५ गते अर्गली मगर समुदायमा मृत्यु भयकाहरुको बर्खि फाल्ने र पृति कार्य गर्ने उनको भनाई छ । त्यो दिन मृतकको घरमा रातभर जाग्राम बस्ने गरिन्छ । २६ गते पुर्खाहरुले खेती गरेको सम्झनामा शंखुबारीमा छापे खन्ने र पुजाआजा गरी हिउँदे अन्नबालीको खेती सुरु गरिन्छ । भुस पोल्ने पर्वको अबसरमा अर्गल खेलकुद विकास मञ्चले बिविध खेलकुद तथा साँस्कृतिक कार्यक्रम समेत आयोजना गर्दै आएको छ ।