म्याग्दी, ३ असोज/चारैतिर पहिरोले घेरिएको म्याग्दीको बेग गाविस–१ बाँसबोट र २ लिस्ने गाउँका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । पहिरोको उच्च जोखिममा रहेका ३० घरपरिवारलाई बेगस्थित आफन्तको घर, सामुदायिक भवन र महादेव माविमा सारिएको हो । करिब १५ दिनदेखिको निरन्तरको पहिरोका कारण जोखिममा परेको दुईवटा बस्तीका बासिन्दालाई शनिबार सुरक्षित स्थानमा सारिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सभापति लेखबहादुर हमालले जानकारी दिए । रेडक्रसकर्मी, युवा विद्यार्थीको स्वयम्सेवकसँगै प्रहरी टोलीले जोखिममा रहेका घरका सामान निकालेर सुरक्षित ठाउँमा ओसार्न सहयोग गरेका थिए । पहिरोले स्थानीय ३७ घरधुरी जोखिममा रहेका छन् । प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले बेगखोलाको ठाडोखोलामा बाढी आउनुका साथै बास्बोट र लिस्ने जोड्ने लिस्नेखोला झोलुङ्गे पुल अत्यन्त जीर्ण बनेकाले आवतजावतमा पनि समस्या भएको बताए । पुलबाट आवतजावत गर्न समस्या भएपछि काठ राखेर अस्थायी रुपमा वारपार गरिएको छ ।
Previous Articleनेपालको पानी जनताको लगानी
Next Article महिला संघको केसमा आचार्य र काउचा विजयी