बागलुङ, २६ कार्तिक– धन्वन्तरी स्वास्थ्य सहकारी संस्था लिमिटेड बागलुङको दोस्रो वार्षिक साधारणसभा शनिवार बागलुङ बजारमा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक रामबहादुर जिसीले कच्चा पदार्थ र कच्चा श्रम निर्यात गर्ने देश कहिल्यै समृद्ध बन्न नसक्ने दावी गरे । देशमा उत्पादन भएका स्रोतहरु सस्तोमा विक्री गर्ने र विदेशबाट महंगोमा प्रशोधित सामान खरिद गर्ने तथा युवा जनशक्तिलाई विदेशमा श्रम गर्न पठाएर स्वदेशको विकास संभव नभएको उनको भनाई थियो । कार्यक्रममा स्वास्थ्य सहकारी संघ बागलुङका अध्यक्ष सीता शर्मा, संस्थाका सल्लाहकार कर्णबहादुर हमाल, कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष चुडामणी आचार्य, सामुहिक वचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष वृहस्पती कंडेल, संस्थाका शेयर सदस्य नरेन्द्र बुढाथोकी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम संंस्थाका अध्यक्ष रमाकान्त शर्माको अध्यक्षता, उपाध्यक्ष चेतराम चर्माकारको स्वागत र सचिव सुदर्शन कंडेलको सञ्चालनमा सम्पन्न भएको थियो । साधारणसभामा संस्थाका सचिव कंडेलले प्रगति प्रतिवेदन, कोषाध्यक्षका तर्फबाट लेखा सदस्य शिवकुमार श्रेष्ठले आर्थिक प्रतिवेदन र लेखा समितिका संयोजक यामबहादुर पोखरेलले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । आयुर्वेद उपचारका माध्यमबाट जनताको स्वास्थ्य सेवामा योगदान गर्ने उदेश्यका साथ स्थापित यस सहकारी संस्थाले स्थानीय स्तरमा खेर गइरहेका जडिबुटीको संरक्षण संकलन केन्द्र राखेर विक्री वितरण गर्ने योजना पारित गरेको छ ।
Previous Articleनिर्वाचन लगत्तै पार्टी एकता हुन्छ – सभामुख घर्ति
Next Article जन गणतान्त्रिक मोर्चाको विभिन्न ठाउँमा चुनावीप्रचार