बागलुङ,२६ कार्तिक–सभामुख ओनसरी घर्तिले बामपन्थी गठबन्धन निर्वाचनको लागि मात्रै नभएर पार्टी एकताको लागी भएको बताएकी छन् । शनिवार बागलुङका बामपन्थी नेताहरु सँगको भेटमा बोल्दै घर्तिले चुनाव लगतै नेकपा एमाले र माओवादी केन्द्रविच पार्टी एकताले पूर्णता पाउने बताईन । ‘तपाईहरु ढुक्क हुनुहोस चुनाव लगतै पार्टी एकता हुन्छ’ घर्तिले भनिन ‘एउटै कम्युनिष्ट पार्टी बन्ने भएकाले यो कम्युनिष्ट पार्टी र त्यो कम्युनिष्ट पार्टी भन्ने सबै हटेर एउटै कम्युनिष्ट केन्द्र हुनेछ ।‘ उनले बाम गठबन्धनका नेताहरुलाई केन्द्रीत गरी भएका आक्रमणहरु अराजनैतिक र गठबन्धनबाट अत्तालिएका शक्तिहरुको पराजित मानसिकताको उपज भएको बताईन । ताराखोला गाउँपालिकाको अर्गलमा सञ्चालन हुने ऐतिहासिक भुस पोल्ने मेलाको उदघाटन गर्न बागलुङ आएकी घर्तिलाई बाम गठबन्धनले शनिवार सांझ बागलुङ बजारमा स्वागत कार्यक्रममा आयोजना गरेको थियो ।
बामपन्थी गठबन्धनले धक्का दिएका शक्तिहरु यतिबेला यो गठबन्धन तोड्ने तथा नेताहरुलाई त्रसित पार्ने अभियानमा लागेको भन्दै उनले उनीहरुका क्रियाकलापबाट हतोत्साही नहुन आमनेता कार्यकर्तालाई आग्रह गरिन । देश बामपन्थीमय भइसक्यो, निर्वाचनपछि बामपन्थीले सरकारको नेतृत्व गर्छन र देशमा स्थिरता कायम गरी देशलाई समृद्ध बनाउछन् भन्ने चिन्ता गर्नेहरु विभिन्न षडयन्त्रमा लागेको भन्दै उनले यस्ता षडयन्त्रले गठबन्धन झन बलियो हुने धारणा राखिन । समाजवादका लागि अझै एउटा पुस्ताले लड्न पर्ने हो कि भन्ने चिन्ता थियो, तर हाम्रा नेताहरुको आँट र साहसले हाम्रै पालामा समाजमा ल्याउने खाका अगाडि बढाएको भन्दै घर्तिले नेकपा एमाले र नेकपा माओवादीका सबै नेता कार्यकर्ताहरुलाई उत्साहका साथ समाजवाद निर्माणको अभियानमा जुट्न आव्हान गरिन ।
आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन पछि यो देशमा समाजवाद निर्माणको अभियान शुरुवात हुने भन्दै उनले त्यसका लागि यो निर्वाचनलाई अर्जुनदृष्टि बनाएर बाम गठबन्धनका उमेदवारलाई विजयी बनाउनु पर्नेमा जोड दिइन । अब देशमा एउटै कम्युनिष्ट पार्टी बन्नेछ, त्यसका लागि आम जनताको तर्फबाट सहयोग, समन्वय र दवाव आवश्यक रहेको भन्दै उनले बामपन्थीहरुले देशको आर्थिक विकास र सामाजिक रुपान्तरणको नेतृत्व गर्ने बताइन । कार्यक्रम नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य मनकुमारी जिसी केसीको अध्यक्षता, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सदस्य कृष्णबहादुर केसीको सञ्चालन र एमाले केन्द्रिय निर्वाचन विभागका सदस्य ममतादेवी शर्माको स्वागतमा सम्पन्न भएको थियो ।