बागलुङ, २६ कार्तिक– प्रतिनिधसभा तथा प्रदेशसभाको निर्वाचन आउन १५ दिन बाँकी रहेको बेला जिल्ला निर्वाचन कार्यालय बागलुङले शनिवारबाट मतदाता शिक्षा शुरु गरेको छ । प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा भोट हाल्न प्रेरित गर्न र भोट हाल्ने तरिका सिकाउन मतदाता शिक्षा कार्यक्रम शुरु गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मतदाता शिक्षाका लागि जिल्लामा १ सय ९९ कर्मचारी परिचालन गरिएको जिल्ला निर्वाचन अधिकारी बिकासराज शर्माले जानकारी दिए ।
उनीहरु जिल्ला सदरमुकामबाट गाउँगाउँमा परिचालित हुँदै भोट हाल्ने तरिका सिकाउन सक्रिय भएको उनले बताए । ‘जिल्लाका सुगम तथा दुर्गम सबै ठाउँहरुमा स्वयम सेवक परिचालन भएका छन्’ शर्माले भने ‘मतदातालाइ मताधिकार प्रयोग गर्ने तरीका राम्रोसँग सिकाउन निर्देशन दिएका छौं ।’ जिल्लामा स्वयम सेवकको छनौटको काम निकै अघि सकिएको भए पनि सर्वोच्च अदालतले प्रतिनिधि र प्रदेशसभाको प्रत्यक्ष तर्फको मतपत्र अलग अलग बनाउन निर्देशन दिएपछि मतदाता शिक्षा कार्यक्रम पनि ढिला शुरु भएको हो । मतपत्र जिल्ला जिल्लामा आउन ढिला भएको निर्वाचन अधिकारी शर्माले बताए ।
मतदाता शिक्षाका लागि खटिएका कर्मचारीहरुलाइ तालिम दिएर गाउँ गाउँमा पठाईएको छ । शनिवारदेखी सुरु भएको मतदाता शिक्षा अभियान आगामी मंसिर १० गते निर्वाचनको दिन सम्म चल्ने शर्माले बताए । निर्वाचन आयोगले मतदाता शिक्षाको लागि आवस्यक सबै सामाग्रि उपलव्ध गराईसकेकाले स्वयम सेवकहरुलाइ काममा कुनै पनि बाधा नहुने जिल्ला निर्वाचन अधिकारी शर्माको भनाई छ ।
Previous Article२०७४ कार्तिक २६ गते आईतबारको राशिफल
Next Article निर्वाचन लगत्तै पार्टी एकता हुन्छ – सभामुख घर्ति